रित्तिए गोठ, बढ्यो परनिर्भरता

जाजरकोट ः १० वर्षअघि कुशे गाउँपालिका–८, जिन्तालाका ग्वामु सिंहको गोठमा १२ भैंसी र करिब डेढ सय भेडाबाख्रा थिए । उनका छिमेकी प्रेमबहादुर शाहीसँग पनि १० वटा भैंसी थिए । अहिले दुवैका गोठ रित्ता छन् ।
विगतमा भैंसीपालनबाट मनग्गे आम्दानी गरेका उनीहरू अहिले छिमेकीको घरबाट दूध र दुग्धजन्य सामग्री खरिद गर्छन्। युवापुस्ता विदेश पलायन हुँदा ज्येष्ठ नागरिकलाई पशुचौपायाको स्याहार गर्न समस्या हुनु, वनक्षेत्र मासिनु, चरन क्षेत्र घट्नुलगायत कारण पशुपालन गर्ने किसानको संख्या घटेको हो । ‘पहिले जीवन धान्न पशुचौपाया नपाली सुखै थिएन, अहिले अरू व्यवसाय पनि अँगाल्न सकिने अवस्था आयो,’ सिंहले भने, ‘दुस्ख धेरै भए पनि बजारको समस्या हुँदा पशु नपाल्ने निर्णय गरेको हुँ ।’ चरन क्षेत्र मासिएकै कारण जिल्लाभर पशुपालन व्यवसाय संकटमा परेको उनले बताए ।
किसानले पशुपालन गर्न छाडेपछि दुग्धजन्य पदार्थ र मासुको मूल्य पनि अकासिएको छ । शाही कुनै समय महिनामा १५ धार्नीसम्म घ्यु उत्पादन गर्थे । अहिले उल्टै किनेर खानुपर्ने बाध्यता रहेको उनले सुनाए । उनका अनुसार अहिले गाउँमा घ्यु प्रतिधार्नी २ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । खलंगा बजारमा दूध प्रतिलिटर ६० रुपैयाँमा बिक्री हुन्छ । पशुपालन घटे पनि स्थानीय बजारमा दुग्धजन्य पदार्थको माग बढ्दै गएको पशु प्राविधिकको भनाइ छ । सदरमुकाम खलंगामा मात्र दैनिक करिब २ हजार लिटर दूध र १ हजार लिटर दही खपत हुने गरेको भेरी नगरपालिकाको पशुपन्छी शाखाका प्राविधिक तुलबहादुर ओलीले बताए । पशुपालन घटेपछि दूध, दही, घ्यु, मासु र गोठेमलको अभाव हुन थालेको उनको भनाइ छ । ‘गोठमा पर्याप्त प्रांगारिक मल हुने हुँदा अन्नको उत्पादन राम्रो थियो,’ उनले भने, ‘अहिले पशुपालन घट्दाको असर अन्न उत्पादनमा पनि परिरहेको छ ।’ अन्य व्यवसायभन्दा पशुपालनमा बढी मिहिनेत पर्ने भएकाले किसानको आकर्षण घटेको उनले बताए ।
अहिले भेरी नगरपालिका–२, ३ र ४ मा पशुपालन गर्ने किसानको संख्या निकै न्यून छ । दूध उपभोग गर्ने जनसंख्या बढ्दै गए पनि किसानले पशु पाल्न छोडेका अगुवा कृषक भवानीप्रसाद शर्माले बताए । ‘दूधको अभाव हुँदा सदरमुकामकै माग धान्न मुस्किल छ,’ उनले भने, ‘माग बढ्दै गएपछि दहीसमेत खोसाखोस हुने गरेको छ ।’ पशुपालन ढिलो आम्दानी दिने व्यवसाय भएकाले पनि किसानको आकर्षण घटेको हो । विगतमा दुई दर्जनसम्म भैंसी पालेका किसानका गोठ अहिले रित्तै रहेको बारेकोट गाउँपालिकाको पशुपन्छी शाखा प्रमुख गोविन्दबहादुर सिंहले बताए । उनका अनुसार भैंसी तस्करी बढेपछि गाउँमा पनि दुग्धजन्य पदार्थको अभाव चुलिएको छ । जाजरकोटबाट मासुका लागि भैंसी बाहिर निकासी हुन्छ । एउटा भैंसी २० देखि ३० हजार रुपैयाँमा खरिद गर्न व्यवसायी गोठमै पुग्छन् । मासुका लागि भैंसी बाहिर जाँदा पनि पशुपालन संकटमा परेको उनले बताए ।
स्थानीय तहले दुग्धजन्य बस्तुको मुख्य स्रोत भैंसी पालनलाई संरक्षण गर्नुको साटो निकासी सिफारिस गर्दा समस्या भएको शर्माले बताए । उनका अनुसार वर्षमा करिब एक हजार भैंसी मासुका लागि बाहिर जाने गरेका छन् । वन विनाश र अतिक्रमणले भेडाबाख्रा पालन पनि संकटमा परेको उनी बताउँछन् ।
‘भेडा चराउने ठाउँमा मानिसका बस्ती बस्न थाले, कतिले जंगल फडानी गरेर खेती गर्न थालेका छन्,’ उनले भने, ‘यस्तै अवस्था रहे एक दशकमै अधिकांश गाउँ पशुविहीन बन्ने जोखिम छ ।’ भेडा र बाख्रा पाल्नेको संख्या घटेपछि मासुमा परनिर्भरता बढेको छ । स्थानीय बजारमा खसीको मासु ८ देखि ९ सय रुपैयाँमा बिक्री हुन्छ । खलंगा बजारमा दैनिक करिब २ सय किलो मासु खपत हुने भेरी नगरपालिकाको तथ्यांक छ कान्तिपुरमा खवर छ ।










