किन लागे उकालो बाघ ?

काठमाडौँ ः पहाडी क्षेत्रका विभिन्न भेगमा चितुवा आतंक बढिरहेका बेला पाटे बाघ पनि उच्च भागतिर बसाइँ सर्न थालेका छन् । राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल कम भएकाले बाघ उँभो चढेका हुन् ।

भुटानमा ४२ सय र भारतको उत्तराखण्डस्थित धार्चुलामा २९ सय मिटर उचाइमा भेटिएका बाघ नेपालमा पनि ८ सय मिटर उचाइसम्म उक्लिसकेका छन्। चुरे र दुन क्षेत्रका बस्तीमा यिनीहरू देखिन थालिसकेका छन्।

जलवायु परिवर्तनका कारण आहारमा आएको फेरबदलले बाघका आहार मृग प्रजाति र बँदेल उच्च भागतिर सर्दै गएकाले बाघ पनि माथि माथि उक्लन थालेको हो। सर्वेक्षणअनुसार नेपाल र भारतमा धेरैजसो बाघ तल्लो तटीय क्षेत्रको एक सयदेखि दुई सय मिटर उचाइमा छन्। पछिल्लो अध्ययनले नेपालमा २ सय ३५ र भारतमा २ हजार ९ सय ६७ बाघ देखाएको छ। दुई वर्षअघिको सर्वेक्षणमा नेपालका १२ जिल्ला बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, दाङ, बाँके, सल्यान, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुरमा बाघ भेटिएका थिए।

डब्लूडब्लूएफ नेपालका बाघविज्ञ कञ्चन थापाका अनुसार राम्रो बासस्थान, आहार प्रजातिको उपलब्धता र कोलाहल नहुने हो भने नेपालमा पनि तल्लो क्षेत्रमा रहेका बाघ उच्च भागसम्मै जान सक्छन्। हालै भारतको तेलांगना राज्यको आदिलाबादमा रहेको टिपेश्वर वनको एउटा बाघ पोथी (प्रेमिका) को खोजीमा दुई हजार किलोमिटर यात्रा गरेर महाराष्ट्र राज्यको ज्ञानगंगा जंगलसम्म पुगेको तथ्य सार्वजनिक भएको छ। उक्त बाघ नहर, खेत, जंगल र सडक हुँदै त्यो दूरी पार गरेको स्याटेलाइट रेडियो कलरको संकेतबाट थाहा भएको छ। यसबाट बाघले धेरै यात्रा गर्न सक्ने पुष्टि भएको छ।

उच्च भूभागमा बाघको उपस्थितिले ‘मानव–बाघ द्वन्द्व बढ्ने संकेत देखिएको’ सुझाव विज्ञहरूले दिँदै आएका छन्। यसैलाई ध्यानमा राखेर सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा निकुञ्जको डडेलधुरासँग जोडिएको क्षेत्रमा द्वन्द्व न्यूनीकरण परियोजना सुरु गरिएको छ, जसको नाम हो– ‘जलवायु परिवर्तनले बाघको बासस्थानमा ल्याउने परिवर्तन र त्यसको पूर्व तयारी।’

बाघ संरक्षणमा सरकारलाई सहयोग गरिरहेका नेपालस्थित जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले शुक्लाफाँटा निकुञ्जसँग जोडिएको बेदकोट, सुनदेवी र त्रिशक्ति क्षेत्रमा नमुना परियोजना थालेका हुन्। दुई वर्षअघिको गणनाअनुसार शुक्लाफाँटामा १६ वटा वयस्क बाघ छन्। परियोजना सञ्चालनका लागि जेडएसएल नेपालका राष्ट्रिय प्रतिनिधि हेमसागर बराल र एनटीएनसीका सदस्यसचिव यज्ञनाथ दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। जेडएसएलले आर्थिक सहयोग गर्नेछ भने प्राविधिक जनशक्ति एनटीएनसीका हुनेछन्।

‘बाक्लो बस्ती भएका क्षेत्रमा बाघ उक्लिएपछि हुन सक्ने सम्भावित मानव–बाघ द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर काम गर्न खोजिएको हो,’ जेडएसएल नेपालका ‘तराई कार्यक्रम प्रबन्धक’ भगवानराज दाहालले भने।
जलवायु परिवर्तनका कारण मृग प्रजातिको आनीबानी र तिनको बासस्थान पनि बदलिएकाले नेपाल र भारतका बाघको बासस्थान पनि बदलिँदै गएको हो।

निकुञ्जभित्रका बाघ बस्ती बढी भएको क्षेत्रतिर स्थानान्तरण हुँदा मानवीय र पशुको क्षति बढ्न सक्ने भएकाले रोकथामका उपाय अवलम्बन गर्ने कार्यक्रमको उद्देश्य छ। ‘पशु क्षति न्यून गर्न फलामे खोर बनाइनेछ,’ दाहालले भने, ‘नागरिकमा जनचेतनाको स्तर बढाउने र आयआर्जन तथा प्रकृतिमा आधारित पर्यटन कार्यक्रम सञ्चालन गरिनेछ।’ एक वर्षमा उक्त क्षेत्रका ६ हजार ५ सय घरधुरीलाई लाभ पुग्ने लक्ष्य छ।

जंगलमा मात्र आश्रित समुदायलाई वैकल्पिक आयआर्जन हुने किसिमका कार्यक्रम दिइनेछ। बेदकोटका तीनवटा सामुदायिक वन उपभोक्ता समूहमा उक्त कार्यक्रम सञ्चालन गरिनेछ। बाघलगायत अन्य वन्यजन्तु बस्तीमा नछिरुन् भनेर विद्युतीय तारबार लगाइनेछ।

स्थानीय सरकारसँग मिलेर वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरणमा अन्य क्षेत्रका सफल अभ्यासलाई पनि कार्यान्वयनमा ल्याइनेछ। तराईका निकुञ्जका मध्यवर्ती क्षेत्रमा विद्युतीय तारबारले पनि द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुर्‍याएको छ। परियोजनाअन्तर्गत वन्यजन्तुले नरुचाउने तर आम्दानी बढी दिने खालका मेन्था र क्यामोमाइललायत सुगन्धित बालीमा किसानलाई आकर्षित गरिनेछ।

‘मानवीय र पशुधनको क्षति न्यूनीकरण हुने गरी कार्यक्रम अघि बढाइनेछ,’ दाहालले भने, ‘जलवायु परिवर्तनका कारण बाघका आहार उच्च भागतिर सर्दै गएर सबै बाघ माथिल्लो क्षेत्रमा सरे भने कसरी मानव र पशुलाई जोगाउन सकिने कुरामा सिकाइ होस् भन्ने कार्यक्रमको उद्देश्य हो।’




सम्बन्धित समाचार


error: Content is protected !!