कर्णालीले सवाल मात्र होइन जवाफ दिनुपर्ने बेला आएको छ ः मन्त्री बस्नेत

सुर्खेत ः रासस , वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सङ्घीय राज्य व्यवस्थामा कर्णालीले सवाल उठान मात्र नभई जवाफ पनि दिनुपर्ने बेला आएको बताउनुभएको छ ।
कर्णाली उत्सव मूल आयोजक समितिद्वारा आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव’ को उद्घाटन गर्दै वनमन्त्री बस्नेतले विगतमा सिंहदरबारलाई प्रश्न मात्र गर्ने कर्णाली अब आफँैले जवाफ दिनुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । “सुर्खेतबाट व्यवस्थापन हुनेगरी प्रदेश सरकार सञ्चालन भइरहेको छ, गाउँगाउँमा स्थानीय सरकार छन्, बजेट र अधिकारको ठूलो हिस्सा कर्णालीमै केन्द्रित छ”, उहाँले भन्नुभयो, “अब कर्णालीले सिंहदरबारलाई प्रश्न, गुनासो मात्र होइन, स्वयंले जनतालाई जवाफ दिनुपर्ने बेला पनि आएको छ ।”
उहाँले प्रदेश र स्थानीय सरकारले कर्णालीका सम्भावनालाई सदुपयोग गरेर विकास र समृद्धिको यात्रा थालनी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले सिंहदरबारलाई प्रश्नसँगै कर्णालीले यहाँका कतिपय सवालको जवाफ दिने हैसियत कायम राखेको बताउनुभयो ।


“नेपाल एकीकरणपछि न कर्णाली एकीकृत राज्य व्यवस्थामा जान सक्यो नत कर्णाली सबल प्रतिपक्षी”, उहाँले थप्नुभयो, “इतिहासमा कर्णाली सधैँ कुण्ठित रहेपनि वर्तमान नेपालमा भने राज्यको संस्थापन पक्षमा कर्णालीको पहुँच बढ्दै गएको छ । कर्णालीले सिंहदरबारमा ‘स्थान’ पाउन थालेको छ, परिवर्तनमा कर्णालीवासीको त्याग, समर्पणकै कारण केन्द्रीय राजनीतिमा आफ्नो पहुँच विस्तार गर्दै लगेको छ ।”परिस्थितिमा बदलाब आएको बताउनुभएका वनमन्त्री बस्नेतले कर्णालीले विकास र समृद्धिको आकार लिन थालेको भन्दै कतिपय ठूला विकास आयोजना सञ्चालन भएको र केही सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो ।उहाँका अनुसार कर्णाली, भेरी मध्य र राप्ती करिडरका रुपमा कर्णालीलाई उत्तर दक्षिण जोड्ने काम पनि अघि बढी व्यापारिक मार्ग पनि विकसित हुँदै गएका छन् भने जनतालाई पर्यटन व्यवसायका साथै आयआर्जनसँग जोड्न कर्णाली जडिबुटी विकास कार्यक्रम शुरु गरिएको छ ।
‘कुडा कर्णाली’ मुख्य नारासहित सञ्चालित बहस कार्यक्रमको शुभारम्भमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘कर्णाली चिनौँ’ शीर्षकमा विद्धत प्रवचन दिनुभएको थियो । उहाँले रोग, भोक र अभावको पर्यायका रुपमा चित्रित कर्णाली तर प्रचुर सम्भावनायुक्त प्रदेश भएको दाबी गर्नुभयो ।
“यहाँका जङ्गलमा हरियो डलर कुहिरहेको छ, कर्णाली, भेरी, राप्ती र तिला जस्ता नदीमा डलर बगिरहेको छ”, उहाँले भन्नुभयो, “रारा र फोक्सुण्डो जस्ता प्रकृतिका अमूल्य उपहारको पिँधमा डलर थेग्रिएको छ, यसमा राज्यले ध्यान दिन सकेको छैन ।”
कर्णालीको गर्भमा रहेका असीमित सम्भावनालाई पूर्ण उपयोग गर्ने हो भने कर्णाली नेपालको स्वीट्जरल्याण्डमा अनुवाद हुने निश्चित भएको मन्त्री भण्डारीको भनाइ थियो । उहाँले अगाडि भन्नुभयो, “विकासका प्रतिफलहरुको न्यायोचित वितरण हुने समाजवादी विकास मोडल चाहिएको छ, हरेक प्रतिभालाई विकासको समान अवसर दिने राज्य व्यवस्था हाम्रो आवश्यकता हो ।”
त्यस्तै, गरिब प्रदेशको नाम बदलेर समृद्धिको कथा लेख्ने प्रदेशका रुपमा अगाडि बढाउन सरकार निर्वाध लागेको भन्दै मन्त्री भण्डारीले चिनिएको भन्दा फरक ढङ्गले कर्णालीलाई चिनाउन जरुरी रहेको बताउनुभयो । त्यसैगरी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले घुमौँ कर्णाली निम्तोबाट मुलुकवासीलाई कर्णाली, यहाँको पूर्ण वस्तुस्थिति, प्राकृतिक, सांस्कृतिक, सामाजिक, धार्मिक, पुरातात्विक, भाषिक र ऐतिहासिक सम्पन्नतालाई नियालेर जान आह्वान गर्नुभयो ।
सरकारका तीन तह, बगाउन्या कर्णालीका बह
ऋति फाउन्डेशनले संयोजन गरेको उक्त उत्सवमा पहिलो सत्र ‘सरकारका तीन तह बगाउन्या, कर्णालीका बह’ शीर्षकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्धबारे बहस भएको थियो । लेखक÷पत्रकार सरोजराज अधिकारीले सञ्चालन गर्नुभएको बहसमा सङ्घीय सरकारका तर्फबाट वन तथा वातावरणमन्त्री बस्नेत, प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र स्थानीय सरकारका तर्फबाट चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवाल सहभागी हुनुहुन्थ्यो ।
बहसमा मन्त्री बस्नेतले नेपालको सङ्घीयताले स्वायत्तता, समन्वय र सहकार्यलाई जोड दिएको बताउनुभयो । सङ्घीयता नेपालको सन्दर्भमा नौलो अभ्यास भएकाले सिक्दै जाने क्रममा केही त्रुटी, अलमल भए सच्चिने धारणा राख्नुभयो । प्रदेश सरकारका योजनामन्त्री ज्वालाले सङ्घीयताको मर्मअनुसार सङ्घ सरकार नचलेको आरोप लगाउनुभयो । चन्दननाथका नगरप्रमुख सेजुुवालले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्न नसकेको बताउनुभयो ।
‘खसका खासखुस’ शीर्षकमा कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य, डा बद्री चापागाईं र डा रमेश ढुङ्गेलसँगको बहस लेखक माधव चौलागाईंले सहजीकरण गर्नुभएको थियो । बहसमा संस्कृतिसम्बन्धी जानकार आचार्यले कर्णालीको भाषा, साहित्य, कला र संस्कृतिको इतिहास तथा त्यसको वर्तमान प्रभावका बारेमा जानकारी गराउनुभयो ।
त्यस्तै डा ढुङ्गेलले कर्णालीको सिञ्जा राज्य, दुल्लु दरबार, अशोक चल्ल, क्राचल्ल राजाहरुको शासन व्यवस्थासहित कर्णाली खस साम्राज्यको फैलावटका बारेमा जानकारी दिनुभयो । डा बद्री चापागाईंले भने कर्णालीको मुगु, जुम्ला, कालीकोटका अस्पतालमा सेवा गर्दाका समयमा स्थानीयस्तरमा हुने जडिबुटीको औषधि, उपचार विधि र त्यसले पारेको प्रभावका बारेमा आफ्ना धारणा राख्नुभएको थियो ।
‘कर्णालीको बेला’ शीर्षक दिएको उत्सवको पहिलो दिनमा मुलुककै लोक, साहित्य, कला, भाषा र संस्कृतिको संरक्षक मानिने महिला पुरुषसहितको देउडा गीत प्रस्तुत गरिएको थियो । तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सव विशेषगरी कर्णालीसहित समग्र मुलुकको भाषा, संस्कृति, सभ्यता, कला, साहित्यसहित विकास, राजनीति, समाजका बारेमा विज्ञता राख्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिचय बनाएका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको कर्णाली उत्सव मूल आयोजक समितिका सदस्य रेशम विष्टले जानकारी दिनुभयो ।










