स्याउ सपार्न जुटे किसान

एलपी देवकोटा
जुम्ला ः यस वर्ष पटकपटक भारी हिमपात भएपछि जिल्लाका किसान स्याउ बगैंचा स्याहार्न व्यस्त छन् । अधिकांश किसान स्याउका बिरुवा काँटछाँट गर्ने, झारपात उखेल्ने, ‘बोडोपेस्ट’ लगाउने, ‘बोडो’ मिश्रण छर्ने, मलखादको व्यवस्थापन काम गरिरहेका छन् ।
यो वर्ष जुम्लामा पाँचपटक भारी हिमपात भएको थियो । बगैंचा गोडमेल गर्दा स्याउको गुणस्तर वृद्धि हुने किसानको अपेक्षा छ । माघ पहिलो सातादेखि किसानले स्याउको बिरुवा काँटछाँट सुरु गरेको गुठीचौर गाउँपालिकाका किसान पूर्ण धितालले बताए । उनी एक महिनादेखि स्याउका हाँगाबिँगा व्यवस्थापनको काममा व्यस्त छन् । ‘स्याउको बोट आसपासका क्षेत्रका झारपात हटाउने कामलाई तीव्रता दिएका छौं,’ उनले भने, ‘हिउँका डल्ला जम्मा गरी स्याउका बोट आसपासका क्षेत्रमा राखिरहेका छौं, जसले लामो समयसम्म चिस्यान कायम गर्न सहयोग पुग्छ ।’ उनले गाउँका सबै किसान बिहान सबेरैदेखि राति अबेरसम्म बारीमै व्यस्त भएको सुनाए ।
स्थानीय किसान पूर्ण धितालले लामा हाँगा हटाउन एक सातादेखि बारीमै व्यस्त बनेको जानकारी दिए । उनका अनुसार हिउँ धेरै परेकाले यस वर्ष स्याउको उत्पादन राम्रो हुने अपेक्षा छ । उनले बगैंचामा घेरबार लगाउने कामलाई पनि तीव्रता दिइएको जनाए । ‘जुम्ली स्याउको माग देशभरि बढेपछि उत्पादनमा जोड दिएका छौं,’ उनले भने, ‘गाउँ–गाउँमा सडक पुगेपछि न बजारको चिन्ता छ, न भाउको ।’
कर्णाली राजमार्ग खुलेसँगै स्याउ खरिद गर्न व्यापारी बगैचामै पुग्ने गरेका छन् । राजमार्ग सञ्चालनमा हुनुअघि प्रतिकेजी ५ रुपैयाँमा बिक्री हुन मुस्किल पर्ने स्याउ सिजनको समयमा ६० रुपैयाँमा बिक्री भइरहेको उनले सुनाए । स्याउका बिरुवा काँटछाँट गर्दा नयाँ पालुवा राम्ररी पलाउने धितालले बताए । किसान बारीमै व्यस्त बन्न थालेपछि कृषि विकास कार्यालयले कृषि प्रसार कार्यक्रम र स्याउ आत्मभिर्नर कार्यक्रममार्फत स्थानीय तहसँगको सहकार्यमा स्याउ काँटछाँटलाई तीव्रता दिइएको छ । कृषि प्राविधिकले बगैंचामा पुगेर किसानलाई बिरुवा काँटछाँटका उपायबारे सिकाउने गरेका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार स्याउ बगैंचा व्यवस्थापनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ‘स्याउ सुपरजोन’ कार्यक्रमले पनि सहयोग गरिरहेको छ । ‘किसानलाई विभिन्न चरणमा स्याउ खेतीबारे तालिम दिइरहेका छौं,’ उनले भने, ‘कृषकलाई सहयोग गर्न गाउँ गाउँमा प्राविधिक खटाइएको छ ।’
गाउँका किसानलाई एउटा बगैंचामा भेला गराएर नमुना स्याउ काँटछाँट विधिबारे सिकाइने गरिएको कार्यालयले जनाएको छ । स्याउका बिरुवा काँटछाँट गर्दा गुणस्तरीय फल उत्पादन हुने र रोग–किरा नियन्त्रण हुने उनले जानकारी दिए । जुम्लामा ‘एक घर, एक बगैंचा’ कार्यक्रम लागू भएपछि स्याउखेती गर्ने किसानको संख्या ह्वात्तै बढेको छ ।










