उपल्लो डोल्पाका विद्यालय छ महिनाका लागि बन्द

डोल्पा : उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिना पछि खुल्ने गरी बन्द भएकाछन्। कात्तिक महिनामै हुने हिमपात र दिनप्रतिदिन बढदै गएको अत्याधिक चिसोको कारण पठन-पाठन क्रियाकलाप सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीयका सम्पूर्ण विद्यालय बन्द भएका हुन्। आगामी बैशाख पहिलो हप्ताभित्र पुनःखुल्ने गरी सबै विद्यालय बन्द भएपछि सम्पूर्ण शिक्षक विद्यार्थी घरतिर फर्किसकेका छन्।

उपल्लो डोल्पामा पर्ने शे-फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका २३ वटा विद्यालय छ महिनाका लागि बन्द भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिंहराज डाँगीले जानकारी दिए। चिसो बढेर बस्न नसकिने भएपछि छ महिनाका लागि विद्यालय बन्द भएको बताउँदै करिब तीन हजार विद्यार्थी घरमै रहेको समन्वय इकाईले जनाएको छ। शे-फोक्सुण्डो गाउँपलिकाकामा कात्तिक १५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द भएका हुन्।

गाउँ शिक्षा समितिको औपचारिक निर्णय गराएर छ महिना पछि खुल्ने गरी विद्यालय बन्द गरिएको वडा नं १ का सदस्य पेमा छिरिङ गुरुङले बताए। त्यसैगरी छार्का ताङ्सोङ गाउँपालिकामा चैत्र पहिला साताभित्र खुल्ने गरी विद्यालय बन्द भएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए। डोल्पोबुद्ध गाउँपलिकाका पनि सम्पूर्ण विद्यालय बन्द भइसकेको अध्यक्ष तेम्बा गुरुङले बताए।

गाउँका विद्यालय बन्द भएपछि आर्थिक स्थिति राम्रो भएका विद्यार्थी काठमाडौं पुगेर अतिरिक्त कक्षा लिने गर्छन् भने आर्थिक स्थिति कमजोर भएका विद्यार्थी बुवाआमासँगै जाडो छल्न तल्लो ठाउँका विभिन्न स्थानमा झर्ने गर्छन्। जाडो सकिएर गर्मी महिना सुरु भएपछि बैशाख महिना मात्रै विद्यालयमा शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ।

यार्सागुम्बा टिप्ने बिदा र चिसोका कारण उपल्लो डोल्पामा एक शैक्षिक सत्रमा छ महिना मात्रै राम्रोसँग पढाइ हुने गर्दछ। दिनप्रतिदिन बढदै गरेको चिसोले बस्न नसकिने भएपछि उपल्लो डोल्पाका अधिकांश स्थानीय घरमा ताल्चा मारेर पशु चौपायसहित बेसी झर्न थालेका छन्।





error: Content is protected !!