शैक्षिक सिकाइ सुधार गर्न सातबुँदे घोषणा

मुगु : जिल्लाभर रहेका आधारभूत बालविकास केन्द्रको शैक्षिक सिकाई सुधार गर्ने गरी मंगलबार सातबुँदे घोषणा पत्रमा हस्ताक्षर गरिएको छ।
नगरपालिका भित्रका नमुना बालविकास केन्द्रको अवलोकन भ्रमण गरी समीक्षा कार्यक्रममा विभिन्न सातबुँदे घोषणा पत्र कार्यान्वयन गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेको छायानाथ रारा नगरपालिकाले जनाएको छ।
सोमबार छायानाथ रारा नगरपालिकाको आयोजनामा सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका जन प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत कार्यालयका प्रमुखलगायत सरोकारवाला निकायका प्रतिनिधिसहितको टोलीले अवलोकन भ्रमण गरेका थिए। युनिसेफको आर्थिक सहयोगमा सेतो गुराँस बालविकास सेवाको सहजीकरणमा जिल्लाभर रहेका १ सय २२ वटा बाल विकासमध्ये ८३ वटा बाल विकास केन्द्रमा २०७४ सालदेखि बालविकास केन्द्रको शैक्षणिक सिकाईसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको सेतो गुराँस बाल विकास सेवाले जनाएको छ।
कार्यक्रम लागू भएका बालबिकास केन्द्रमध्ये राम्रो अभ्यास गरिरहेका नगरपालिका तीनवटा बालबिकास केन्द्र र बालमैत्री वातावरण तथा स्तनपान कक्ष भएका नगरपालिका भित्रैका गम स्थास्थ्य चौकी र वडा नं ४ को कार्यालयमा स्थापाना गरिएका बालबिकास केन्द्रको अवलोकन गरिएको हो।
प्रतिबद्धतासहित हस्ताक्षर गरिएको घोषणापत्रमा सबै स्थानीय तहमा रहेका आधारभूत बालविकास केन्द्रको शैक्षिक सुधारका लागि स्थानीय तहले कार्य योजना निर्माण गरि कार्यान्वयन गर्ने, सबै बालविकास केन्द्र बालमैत्री बनाउने, शैक्षिक सिकाई सामग्रीसहित बालविकास केन्द्रलाई नमुना बनाउने, केन्द्रमा कार्यरत सहजकर्ताको योग्यता १२ कक्षा उत्तीर्ण हुनुपर्ने, हरेक स्थानीय तहमा एउटा बालविकास केन्द्र सिकाई अनुसन्धान स्रोत केन्द्रको स्थापना गर्ने र आधारभूत बाल विकास केन्द्र व्यवस्थापन तथा सञ्चालन निर्देशिका बनाई कार्यान्वयन गर्ने लगायतका बुँदा समावेश गरिएको छ।
छायानाथ रारा नगरपालिकामा ३९ बाल विकास केन्द्र, खत्याड गाउँपालिकामा २० बालविकास केन्द्र, सोरु गाउँपालिकामा २० र मुगुम कार्मारोङ्ग गाउँपालिकाका ४ वटा वाल विकास केन्द्र छनोठ गरी कार्यक्रम सञ्चालन गरेको सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका अधिकृत शशी विसीले जानकारी दिइन्। उनका अनुसार शैक्षिक वर्ष २०७६ मा सबै स्थानीय तहमा छनोट गरी कार्यक्रम सञ्चालन भइरहेका ८३ बालविकास केन्द्रबाट १ हजार ३ सय ४० जना बालबालिका कक्षा १ मा भर्ना भएका छन्।
कार्यक्रम सञ्चालन भइरहेका बालविकास केन्द्रमध्ये छायानाथ रारा नगरपालिका वडा नम्बर १, २ र ४ का बाल विकास केन्द्रमा स्थानीय सामग्रीबाट शैक्षिक सिकाई सामग्री राखिएको, बालबालिकामैत्री खानेपानी धारा, चर्पी, विश्राम स्थान, मनोरञ्जनका साधन र स्थान बनाइएको आफूले अवलोकनमा पाउँदा उत्साह जागेको अन्य गाउँपालिका जनप्रनिधिले बताए। अवलोकनमा देखेका र सिकेका कुरा आफ्नो स्थानीय तहमा पनि लागू गर्ने चारै स्थानीय तहका जनप्रनिधिले बताए।









