निकुञ्जले उठायो ५ करोड ७१ लाख राजस्व

डोल्पा ः शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज डोल्पाले आर्थिक वर्ष ०७५।०७६ मा ५ करोड ७१ लाख ९१ हजार रुपैया राजस्व उठाएको छ। यार्सागुम्बा र सेतो चिनीलगायतका बहुमुल्य जडिबुटी, पर्यटक शुल्क वनपैदावर र चरिचरन अन्तरगत उक्त राजस्व उठाएको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ।

बहुमुल्य जडिबुटी यार्सागुम्बाको प्रवेश शुल्क वापत २ करोड ९२ लाख ७५ हजार ५०० र संकलन अनुमति पत्र वापत १ करोड ८३ लाख ५ हजार गरेर ३ करोड ११ लाख १० हजार ५०० उठाएको हो।

यसै गरि सेतोचिनीको छोडपुर्जि वापत २ करोड १४ लाख ८० हजार उठाएको छ। फोक्सुण्डो ताल हेर्न जाने पर्यटकहरुबाट प्रवेश शुल्क वापत १८ लाख ७९ हजार उठाएको शे फोक्सुण्डो निकुन्ज कार्यालय सुलिगाडका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी गोपाल खनालले बताए।

सुचना अधिकारी खनालका अनुसार पर्यटक भरिया शुल्क, चरिचरन शुल्क, माछा शुल्क, जडिबुटी छोडपुर्जि, क्यापिङ्ग र गाइड शुल्क र गतवर्षको बेरुजु दाखिलासमेत गरेर २१ लाख २८ हजारसमेत गरेर ५ करोड ७१ लाख ९१ हजार ८ सय ४० रुपैयाँ राजस्व उठाएको छ।

यसै गरि डिभिजन वन कार्यालय दुनैले आर्थिक वर्ष ०७५।०७६ मा यार्सागुम्बाबाट ६२ लाख ४० हजार मात्र राजस्व उठाएको छ।

गत वर्ष यार्सागुम्बाबाट मात्र वनले १ करोड ५० लाख राजस्व उठाएको थियो। डिभिजन वन कार्यालय दुनैका प्रमुख नरबहादुर क्षेत्रीका अनुसार आर्थिक वर्ष ०७४।०७५मा ३५० केजी यार्सागुम्बाको राजस्व उठाएकोमा आर्थिक वर्ष ०७५।०७६ मा भने २०८ केजी यर्सागुम्बाको मात्र राजस्व उठाएको हो।

प्रति केजी ३० हजारका दरले यार्सागुम्बाको राजस्व उठाउने गरिन्छ। विगतका वर्षहरुमा पञ्चवर्षिय योजना बनाएर यार्सागुम्बाको राजस्व उठाउने गरिन्थ्यो। तर गएको आर्थिक वर्षमा कुनै पनि योजना नबनाइएको र सेतो चिनीको मुद्दा परेकाले पनि समस्या आएकोले राजस्वमा गिरावट आएको वन अधिकृत क्षेत्रीले बताए।

हिमाली जिल्ला डोल्पामा १० क्वीन्टल भन्दा बढी यार्सागुम्बा पाइने तथ्याङ्क छ । तर वर्षेनी पाटनहरुमा बढ्दो मानवीय चाप पशु वस्तुको पहुँच यार्सा पाटनमै बढ्नु र पर्यावरणीय वातावरणमा प्रतिकुल असर पर्दै जानुलगायत बढि हिमपातले गर्दा पनि विगतको तुलनामा यार्सागुम्बाको उत्पादनमा ह्रास आएको पनि वन अधिकृत नरबहादुर क्षेत्रीले बताए।

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज

शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगु जिल्लामा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ ।

यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बाको यही छ ।

गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको चाहना अनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू संचालन गर्न सकिएको छैन ।




सम्बन्धित समाचार


error: Content is protected !!