कसरी गर्ने रासायनिक विषादी न्यूनीकरण ?

नेपालमा विगत केही समयदेखि तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीबारे चर्चा हुन थालेको छ। सामाजिक सञ्जालमा पनि यसबारे प्रश्न उठ्न थालेका छन्। स्थानीय तहदेखि केन्द्र तहसम्म यसबारे बहस सुरु भएको छ र राजनीतिक स्तरबाट यो मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त भइराखेका छन्।
आर्थिक वर्ष ०७४र७५ को तथ्यांकअनुसार नेपालमा ६ सय मेट्रिकटन ९खास विष० विषादी आयात भएको छ, जुन करिब ७५ करोड रुपैयाँ बराबरको हो ९स्रोत स् प्लान्ट क्वारेनटिन र विषादी व्यवस्थापन केन्द्र, हरिहर भवन, ललितपुर०। नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेको पाइन्छ ।
विषादीका मूलतः दुई वटा विषेशता हुन्छन्। पहिलो, केही खतरनाक विषादी हाम्रो शरीरमा प्रवेश गरेपछि अन्य तरल पदार्थजस्तो नाश भएर जाँदैन। दोस्रो, विषादीको अवशेष जम्मा भएर मानिस र प्रकृतिका ठूलाठूला जीव र पशुपक्षीलाई झन् धेरै असर गर्छ। यसै कारणले गर्दा लामो समयसम्म विषादीको संसर्गमा आएपछि प्रजनन् क्षमतामा ह्रास आउने, विभिन्न किसिमका क्यान्सर ९रक्तक्यान्सर, मस्तिष्क, मिर्गौला, पित्तथैली, फोक्सो र छाला सम्बन्धी क्यान्सर० हुने सम्भावना बढ्ने अध्ययनहरुले देखाएका छन्।
तत्काल स्वास्थ्य समस्याका रुपमा भने छालामा एलर्जी हुने, आँखा पोल्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, शरीर कमजोरी हुनेगर्छ। विषादीले आमाको गर्भ र स्तनपानबाट पनि बच्चाको शारीरिक र मानसिक विकासलाई असर गर्छ। चीनमा बर्सेनी ५ लाख व्यक्ति विषादीको संसर्गमा आएर बिरामी पर्ने गरेका छन्, जसमध्ये ५ सय जनाले प्रत्येक वर्ष ज्यान गुमाउँछन्।
नेपालमा विषादीको प्रयोगबाट हुने आत्महत्या र विषादीबाट हुने आकस्मिक दुर्घटनाका प्रहरी तथा अस्पतालका तथ्यांकबाहेक समुदायमा विषादीको प्रयोगबाट देखिएका स्वास्थ्य समस्याबारे कुनै लेखाजोखा हुने गरेको छैन। हेल्थ म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम ९एचएमआइएस० मा पनि यस विषय रेकर्ड गर्नका लागि कुनै स्थान राखिएको छैन। यस विषयमा स्वास्थ्यकर्मीहरुका लागि पर्याप्त अभिमुखीकरण पनि छैन। विषादीको संसर्गमा आएर उक्त स्वास्थ्य समस्या देखिएको हो कि भनेर सोध्ने प्रचलन र यस विषयसँग दिनुपर्ने परामर्श सेवा न्यून रहेको छ।
विषादी प्रयोगलाई व्यवस्थापन गर्न संघीय ऐन पनि निर्माण प्रक्रियामा छ भने प्रदेश र केही स्थानीय तहका सरकारहरु पनि आवश्यक नीति, निर्देशिका एवं योजना तर्जुमा अभ्यासमा जुटिरहेका छन्। यो अत्यन्तै सकारात्मक पक्ष हो। रासायनिक विषादी न्यूनीकरणका अनेकौं चुनौती छन्, यद्यपि यी चुनौतीको सही पहिचान गरी एकीकृत ढंगले अगाडि बढ्न सके विषादी न्यूनीकरण केही वर्षमै सम्भव छ। यसै प्रसंगमा आयातित कृषि उत्पादनहरुको गुणस्तर सुनिश्चित गर्ने नीतिगत एवं प्राविधिक प्रावधानहरु आवश्यक छन् नै, तर देशभित्र कृषिमा विषादी प्रयोग न्यूनीकरणका लागि केही सम्भावित उपायबारे विवेचना र विश्लेषण गरिनुपर्छ।
रासायनिक विषादीका विकल्पको खोजी र पहुँचमा वृद्धि
प्रायः कृषकहरु रासायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने ठान्छन्। यो भ्रममात्रै हो, यसमा कुनै सत्यता छैन। पछिल्लो समयमा रासायनिक विषादीका धेरै विकल्पबारे अनुसन्धान भएका छन्। यी विधि एवं प्रविधिहरु उत्पादनको दृष्टिकोणले उत्तिकै प्रभावकारी सावित भएका छन् र रासायनिक विषादीको तुलनामा महँगो पनि छैनन्। विभिन्न प्रकारका मोहिनी पासो, बत्तीको पासो, पहेँलो पासो जस्ता शाकाणुजन्य विषादी वा न्युक्लियर पोलिहेड्रोसिस भाइरस जस्ता विषाणुजन्य विभिन्न वैकल्पिक प्रविधिहरु बालीनालीमा लाग्ने रोग–किराको व्यवस्थापनमा प्रभावकारी देखिएका छन्।
तर नेपालमा भने यी प्रविधिको धेरै उपयोग गर्न सकिएको छैन। बहुसंख्यक कृषकमा यस्ता वैकल्पिक प्रविधिबारे जानकारी नै छैन। यसबारे जानकार कृषकका लागि पनि यी प्रविधिहरु सहज रुपमा उपलब्ध छैनन्। त्यस्तै गाउँघरमै पाइने वनस्पती र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि उत्तिकै प्रभावकारी र सुरक्षित पाइएको छ तर यसको व्यावसायिक उत्पादनमा जोड दिइएको छैन। पाकेको गोबर मल, कम्पोस्ट मल, गड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धरै पोषण तत्वहरुको परिपूर्ति गर्छ र तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ। त्यसैले, विषादी प्रयोगको न्यूनीकरणलाई टेवा पु¥याउन यस्ता प्रांगारिक मलको उत्पादनलाई व्यवसायीकरण गर्नुपर्छ। यी वैकल्पिक प्रविधिहरु एवं समग्र आइपिएम र प्रांगारिक खेतीलाई राज्यकै तहबाट नीतिगत तथा व्यावहारिक रुपमा प्रबर्धन गरिनुपर्छ।
उपभोक्ता र कृषक सचेतना
उपभोक्ताको छनोट र मागअनुरुप उपभोग्य वस्तुको पूर्ति गर्नु बजार प्रणालीको सामान्य नियम नै हो। विषादी प्रयोग नगरिएका फलफूल, तरकारी किरा लागेको पनि हुनसक्छ, एकनासले नसप्रेका पनि हुन सक्छन्। यस्ता उपज सामान्यतयाः उपभोक्ताले रोज्दैनन्, न खरिद नै गर्छन्। यस कारण बजारले कुनै किसिमको जोखिम लिन चाहँदैन र यस्ता उत्पादनलाई प्राथमिकता दिँदैन। यसरी उपभोक्ताको रोजाइको मनोविज्ञानले विषादी प्रयोगलाई प्रोत्साहित गरिरहेको हुन्छ। विषादीको प्रयोग घटाउन र प्रांगारिक कृषिलाई प्रबर्धनका लागि अन्य प्रयाससँगै उपभोक्ताको रोजाइ र सोचाइलाई घच्घच्याउन आवश्यक छ। यस्तै कारणले गर्दा पनि कृषकमा तुरुन्तै असर गर्ने किसिमको विषादी रोज्ने प्रवृत्ति बढेको पाइन्छ।
रासायनिक विषादीले हानिकारक र फाइदाजनक दुवैथरी किरा, जीवलाई तत्काल असर गर्छ, मार्छ तर यसको विपरीत जैविक, वानस्पातिक वा घरेलु विधिहरुले हानिकारक किरालाई नमारी तिनको संख्या व्यवस्थापन गर्न सकिने तहमा राख्छ। यो अन्यन्त महत्वपूर्ण कुरा हो, किनभने संसारका ९० प्रतिशतभन्दा बढी किरा मांसाहारी एवं फाइदाजनक हुन्छन् ९मित्रजीव० र यी हानिकारक किरा ९सत्रुजीव० खाएर बाँच्छन्। तसर्थ मित्रजीवलाई संरक्षण गर्नुपर्छ। यसरी सत्रुजीवको व्यवस्थापन गरे मात्र प्रकृति सन्तुलित रहन्छ। प्रकृतिको यस्तो अलौकिक प्रक्रियाको महत्वबारे कृषकमा ज्ञान संप्रेषण गर्न र अत्यधिक र अव्यवस्थित विषादी प्रयोग गरेर तत्काल नाफा खोज्ने प्रवृत्ति घटाउन अपरिहार्य छ।
बजार व्यवस्थापन
नेपालमा विषादी प्रयोग गरिएको र प्रांगारिक कृषि उत्पादनको बिक्रीवितरणका लागि छुट्टछुट्टै बजार नभएको हुँदा सचेत उपभोक्ताले प्रांगारिक उत्पादन खरिद गर्न चाहे पनि यो अवसर सहजै उपलब्ध छैन। यसले गर्दा प्रांगारिक उत्पादन उपभोग गर्न चाहनेहरुका लागि पनि विषादी प्रयोग गरिएको कृषि उत्पादन नै खरिद गर्नुपर्ने बाध्यकारी अवस्था विद्यमान छ। यस्तो स्थिति रहुन्जेल आम नागरिकमा प्रांगारिक उत्पादनको उपभोग गर्ने संस्कारको विकास हुँदैन र प्रांगारिक कृषि प्रबर्धनमा धेरै अपेक्षा गर्न सकिँदैन। तसर्थ, रासायनिक विषादी प्रयोग भएको र नभएको उत्पादन बिक्रीका लागि बजारमा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिनुपर्छ।
साथै, उत्पादनमा विषादी प्रयोग भएरनभएको वा कति भएको छ, यकिन गर्न विषादी मापन केन्द्र स्थापना गरी अनिवार्य विषादी परीक्षणकोे व्यवस्था गरिनुपर्छ। नेपालमा भित्रिने र नेपाल भित्रका खाद्य उत्पादन, तरकारी, फलफूल, माछा, मासुमा विषादी परीक्षण अनिवार्य गरिनुपर्छ र दण्ड सजायको प्रावधान हुनुपर्छ। विषादी प्रयोग भएरनभएको वस्तुको मूल्य पनि केही मात्रामा फरकफरक तोकिनुपर्छ। यसले गर्दा रासायनिक विषादीका विकल्पहरु अबलम्वन गर्नेहरुका लागि तत्काल प्रोत्साहन मिल्नेछ र विषादी न्यूनीकरणका कार्यक्रमहरु पनि प्रभावकारी हुने छन्।
यस क्षेत्रमा गर्नुपर्ने क्रियाकलाप धेरै छन्, यद्यपि माथि उल्लेख गरिएका बुँदाहरुमा कृषि, स्वास्थ्य र बजार क्षेत्रले समन्वय गरी एकीकृत रुपमा नीतिगत र स्थानीय तहमा काम गर्न सकेमा पक्का पनि रासायनिक विषादीमुक्त उत्पादन र स्वस्थ जीवन टाढाको सपना हुने छैन।










