कारागारमा उद्यम

जाजरकोट , जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दलबहादुर लुहार विभिन्न डिजाइनका दराज र टेवुल बनाउँछन् । कारगारमै बन्दी जीवन बिताउँदै आएका डिल्ली राना मुढा र डाइनिङ टेबुल बनाउनमा दैनिकजसो व्यस्त हुन्छन् ।

त्यस्तै कारागारमै बन्दीको रूपमा बस्दै आएका दीर्घबहादुर नेपाली पटुका, पछ्यौरा, झोला, टोपी लगायत बुन्ने र सिलाउने काममा लागेका छन् ।

उनीहरू मात्र हैन, जाजरकोट कारगारमा बस्दै आएका दुई दर्जन कैदीबन्दीले विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्ने गरेका छन् । कारगारका कैदीबन्दीले मुढा, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, फेरे, मफलर, स्वीटर, झोला, लेस, डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् । उनीहरूले कारागारमा रहँदाको फुर्सदको समयलाई उद्यमको काममा लगाउन थालेका छन् । कैदीबन्दीले कारागारबाटै राम्रो कमाइ गर्न थालेपछि बेलाबेलामा घरखर्चसमेत पठाउन थालेका छन् ।

फुर्सदको समयलाई उपयोगमा ल्याएर रोजगारीमा बदल्न सफल भएको बन्दी पौरख मल्लले बताए । कारगारमा आएर उद्यम सिक्न मौका मिलेको उनले जनाए । ‘विगतमा कारगारमा अनावश्यक तनाव लिएर बस्ने कैदीबन्दीले अहिले विभिन्न सामग्री उत्पादन गरेर आर्थिक लाभ दिन थालेका छौं,’ उनले भने, ‘सीप सिक्दै विभिन्न सामग्री उत्पादन गर्न थालेपछि समय बिताउन समेत सजिलो भएको छ ।’ उनका अनुसार विभिन्न सामग्री उत्पादन गरेबापत कैदीबन्दीले जेलभित्रै मासिक रूपमा पाँचदेखि सातहजार रुपैयाँ कमाउँदै आइरहेका छन् ।

कारागारमा उत्पादन भएका सामग्रीले उचित मूल्य पाउन नसकेको कैदी कुशबहादुर महताराले बताए । आर्थिक लगानीको अभाव, कच्चा पदार्थको उपलब्धता नहुनु, तालिमको अभावलगायत कारण जेलभित्र उद्यमशीलता फस्टाउन नसकेको उनको भनाइ छ । ‘उचित मूल्य नपाउँदा उत्पादित प्रति सामग्रीबाट कैदीबन्दीलाई एकरडेढ सय मात्र मुनाफा हुने गरेको छ,’ उनले भने, ‘तालिम र प्रविधिको व्यवस्था भए जेलभित्रै विभिन्न उद्यमशीलताका काम गरेर राम्रो आम्दानी गर्न सकिन्थ्यो ।’

धागो, उन, बाँस, चोयो, काठ, प्लाइउड, प्लास्टिक डोरी, भेडाबाख्राको ऊनलगायत कच्चा पदार्थको प्रयोगबाट विभिन्न घरेलु सामग्री निर्माण हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारमा कैदीबन्दीले निर्माण गरेका सामग्रीमध्ये मुढा तीन सयदेखि एक हजार तीन सय, डाइनिङ टेबुल १५ हजार, टोपी पाँच सय, डाली पाँच सयदेखि ९ सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

त्यस्तै सल एक हजार देखि एक हजार पाँच सय, लिउ पाँच हजारदेखि १० हजार र झोला फाँच सयदेखि एक हजारसम्ममा बिक्री हुने गरेको जेलर तेजवित्रम शाहलेबताए । कारागारमा उत्पादन हुन थालेपछि खलंगा बजारका स्थानीयले नेपालगन्ज, सुर्खेतलगायत बजारबाट आपूर्ति हुने मुढा किन्न छाडेकोजेलर शाहको भनाइ छ । कारागारका अधिकांश कैदीबन्दीले घरेलु उत्पादनका लागि उद्यमशीलता विकास गर्नखोजे पनि वातावरण मिल्न नसकेको उनी बताउँछन् ।

‘स्रोत–साधनको अभावका कारण कैदीबन्दीले सोचेजस्तो सामग्री उत्पादन गर्न सकेका छैनन्, केही सामग्री बिक्रीमा बजारको समस्यासमेत देखियो,’ उनले भने, ‘कारागारमा बस्दा साथीभाइसँग सिकेको सीपलाई जेलबाहिर गएपछि पनि प्रयोग गरेर उद्यममा लाग्न कैदीबन्दीलाई प्रेरणा मिलेको छ ।’ जीर्ण तथा साँघुरो भवन र आँगन हुँदा कैदीबन्दीलाई सुत्ने र बस्ने ठाउँकै अभाव छ । २० जनाको क्षमता भएको कारागारमा अहिले ५७ कैदीबन्दी छन्  कान्तिपुरमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!