युवाले बनाए ४० उपकरण

रुकुम पश्चिम — मुसीकोट नगरपालिका–११, का २१ वर्षीय वसन्त ओली विद्युतीय उपकरण प्रयोगबाट नयाँ उपकरण बनाउन सफल भएका छन् ।
दाङको पद्मोदय पब्लिक नमुना माविमा डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले ४० वटा नयाँ उपकरण निर्माण गरेका हुन् । उनले ६ महिनाको अवधिमा विशेष गरी घरायसी प्रयोगमा आउने उपकरण निर्माण गरेका छन् ।
एसी पावरलाई डिसी र डिसी पावरलाई एसीमा परिवर्तण गर्ने उपकरण निर्माण गरेर सुरु भएको उनको यो यात्रा जिएसएम कन्ट्रोलरसम्म पुगेको छ । जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरेर उनले हालसम्म बनाएका उपकरणबारे जानकारी गराएका हुन् । आफूले अन्य उपकरण पनि बनाइरहेकाले हाल निर्माण भइसकेका उपकरणका बारेमा मात्रै जानकारी गराएका थिए ।
उनले निर्माण गरेका ४० विद्युतीय उपकरणमध्ये हालसम्म वाटर सेन्सर मात्रै बजारमा गएको छ । पहिलो चरणमा निर्माण गरेका एक सय वटा वाटर सेन्सर बिक्री गरेको उनले बताए । अब दस हजार वाटर सेन्सर बनाउने तयारीमा रहेको ओलीले जानकारी गराए । वाटर सेन्सरसँगै अब अन्य उपकरण पनि बजार पठाउने गरी काम भइरहेको उनले बताए । वाटर सेन्सरले ट्यांकीको पानी सकिएको खण्डमा स्वचालित रूपमा मोटर खोल्छ भने ट्यांकी भरिएपछि स्वचालित रूपमा नै पानी तान्ने मोटर बन्द गर्छ ।
यो उपकरण घरायसी काममा प्रयोग भइरहेको र धेरै माग आइरहेको पनि उनले बताए । यस्तै, उनले पछिल्लो पटक बनाएको विद्युतीय उपकरण जिएसएम कन्ट्रोलर हो । यसले फोन गरेकै भरमा राइसकुकरमा भात पकाउने, रेफ्रिजेरेटर खोल्ने तथा बन्द गर्ने तथा सबै विद्युतीय उपकरण खोल्ने तथा बन्द गर्ने गर्छ । नेपाल टेलिकमको एउटा जिएसएम सिम र आइसी जडान गरेर यो उपकरण बनाइएको छ । विद्युतीय उपकरणको काम नसकिँदै बत्ती गएको खण्डमा पनि यस उपकरणले सम्बन्धित व्यक्तिलाई फोन वा म्यासेज पठाएर खबर गर्ने दाबी उनको छ ।
उनले सेक्युरिटी सिस्टम पनि बनाएका छन् । घररपसल बन्द गरेर कतै हिंडेका बेला त्यस ठाउँमा कोही पसेमा वा चोरी गर्न थालेमा लगत्तै यो उपकरणले सम्बन्धितलाई फोन गरिदिने र चोरी हुनबाट बच्ने दाबी उनले गरे ।
यसैगरी उनले फेज भोल्टेज टेस्टर, रिमोटबाटै ढोका खुल्ने, बत्ती बाल्ने, पंखा घुमाउने उपकरण पनि बनाएका छन् । रात परेपछि आफैं बल्ने तथा उज्यालामा आफंै निभ्ने बत्ती, मान्छे पस्नेबित्तिकै कोठामा आफैं बत्ती बल्ने तथा मान्छे बाहिर निस्केपछि आफैं बत्ती निभ्ने मोसन लाइट नामक उपकरण पनि ओलीले बनाएका छन् । भोल्टेज कन्ट्रोलर, रोबेटिक गाडी, थपडी तथा चुड्कीले बल्ने बत्तीलगायत अन्य विद्युतीय उपकरण उनले बनाएका छन् ।
सानै उमेरदेखि विद्युतीय सामग्रीमा चासो भएकाले पछिल्लो समय विद्युतीय उपकरण बनाउन सफल हुँदै गएको उनले बताए । ‘म ७र८ कक्षा पढादेखि नै यस्तै काममा रुचि राख्थें,’ उनले भने, ‘उतिबेला पनि ससाना लाइटहरू त बनाएकै हुँ, अहिले आएर अलि सफल हुँदै गएजस्तो लागेको छ ।’
३ सय बढी उपकरण बनाउँदा ४० उपकरण सफल भएको उनले बताए । ओलीले विभिन्न उपकरण बनाउने क्रममा ७० हजार बढी रकम खर्च गरेका छन् । पढ्ने भनेर घरबाट पठाइएको खर्च कटाएर विद्युतीय उपकरण निर्माणका लागि आवश्यक सामग्री खरिद गर्ने गरेको जानकारी उनले दिए । काम गर्दै जाँदा सफल भइरहेकाले नयाँ उपकरण आविष्कार गर्ने योजनामा रहेको उनले पत्रकार सम्मेलनमा जानकारी गराए । ‘इच्छाशक्ति, चासो भएपछि धेरै गर्न सकिन्छ, म पनि त्यस्तै गरिरहेको छु, सफल पनि भइरहेको छु, अझै गर्न सकिन्छ भन्ने विश्वास पनि बढ्दै गइरहेको छ,’ उनले भने ।










