अभावै अभावको बारेकोट

जाजरकोट — उत्तरतर्फ जुम्ला र डोल्पाको सिमानासँग जोडिएको बारेकोट क्षेत्र देख्दा जति सुन्दर लाग्छ, त्योभन्दा धेरै समस्याले जेलिएको छ ।
राज्य पुन संरचनामा ४ वटा गाविस मिलाएर बारेकोट गाउपालिका बनेको हो । तर, सदरमुकाम खलंगादेखि ६० किमी टाढाको बस्ती धेरै विकट छ ।
प्राकृतिक र सांस्कृतिक सम्पदाका दृष्टिले धनी गाउँपालिका सडक सञ्जाल र अरू पूर्वाधारका दृष्टिले भने पछि परेको छ । बारेकोट स्रोत र साधनका हिसाबले निकै गरिब गाउँपालिका मानिन्छ । पश्चिममा हानीसल्ला लेक, उत्तरमा जन्ते, चाखुरे, दक्षिणमा फुलचाउली र पूर्वमा धुमातासी लेकबाट घेरामा परेको बारेकोटको उच्च पहाडको सुन्दर बस्तीमा २० हजार स्थानीय बासिन्दाको बसोबास छ । १ हजार ५ सयदेखि ५ हजार मिटरसम्म उचाइको बारेकोट चारैतिर लेक, डाँडा, चुचुरो हिमालले घेरिएको छ ।
बारेकोट गाउँपालिकामा पूर्वाधार विकास मात्र पछाडि छैन, खाद्य उत्पादन, जनचेतना, आर्थिक अवस्था, रोजगारी, स्रोतसाधनलगायतमा पछाडि नै छ । प्राय खाद्य अभाव हुने बारेकोटका बासिन्दालाई आफ्नै उत्पादनले वर्षमा ६ महिना पनि खाना पुग्दैन । बारेकोटमा धामीझाँक्री, छुवाछूत, जातीय भेदभाव, बालविवाहलगयत अन्धविश्वास त्यत्तिकै व्याप्त छन् । गरिबीका कारण रोजगारी तथा रोजीरोटीका लागि हजारौं युवा भारतीय श्रमबजार धाउन बाध्य छन् । भारतमा गरेको मजदुरीबाट आर्जेको कमाइबाटै अधिकांश बारेकोटवासीको गुजारा चल्ने गरेको छ । बारेकोट गाउँपालिकाका सबै वडामा खोला तर्न पुल, हिंड्ने बाटो, शुद्ध खानेपानी, सञ्चार, सिँचाइ, विद्यालय भवनलगायत आधारभूत पूर्वाधारको समेत निर्माण हुन सकेको छैन ।
बारेकोट गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न लागि ४० किमि ट्रयाक ओपन गर्न बाँकी छ । बारेकोट जोड्ने सडक निर्माणको सुरुवात भएको पनि दशक बितेको छ । बारेकोटको समृद्धि र विकाससँग जोडिएको जाजरकोट–जुम्ला सडक फुलचाउली लेकमै अड्किएको छ । खलंगा पाँचकाटिया, फुलचाउली हुँदै बारेकोट पुग्ने उक्त सडक विगत ६ वर्षदेखि निर्माण अलपत्र परेको छ । अलपत्र सडक निर्माणका लागि जननिर्वाचित प्रतिनिधिलगायत कसैको आँखा पुग्न सकेको छैन । सडक डिभिजन कार्यालय चौरजहारी र ठेकेदारको लापरबाहीले जाजरकोट–जुम्ला जोड्ने उक्त रणनैतिक मार्ग अलपत्र परेको हो । विगत ३ वर्षदेखि सडक निर्माणका लागि बजेट विनियोजनसमेत हुन छाडेको छ । बारेकोट हुँदै जुम्ला जोड्ने उक्त सडक निर्माण अघि बढाउनका लागि डिभिजन चौरजहारीलाई पटक–पटक आग्रह गरेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । ‘बारेकोटमा सडक छिटो पुर्याउने एक मात्र रेखांकन फुलचाउली लेकबाट हो । वन उपभोक्ता समिति, ठेकेदार, सडक डिभिजनको विवादले त्यही रेखांकन पनि अलपत्र परेको छ,’ अध्यक्ष शाहले भने । सडक नपुगेसम्म बारेकोटको विकासमा कल्पना गर्न नसकिने अध्यक्ष शाहले बताए ।
बारेकोट गाउँपालिका कृषि उत्पादनका लागि पनि कुनै पकेट क्षेत्रका रूपमा विकसित हुन सकेको छैन । बारेकोट क्षेत्रमा आलु, अलैंची, जडीबुटी, किबी, मकै, लसुन, सिमीलगायत कृषि उत्पादनको सम्भावना देखिन्छ । परम्परागत कृषि प्रणालीमा भर पर्दा धान, गहुँ, मकै, कोदोलगायत उत्पादन पनि घट्दै गएको छ । कृषि उत्पादन नहुँदा बारेकोटका बासिन्दा भोकमरीको चपेटामा पर्ने गरेको स्थानीय नरबहादुर गिरीले बताए । ‘सिँचाइ अभाव, प्रविधिको अज्ञानतालगयत कारण कृषि उत्पादन घट्दै गएको हो, अधिकांश जमिन पनि बाँझै छ,’ गिरीले भने । ‘बारेकोटवासी चामल पाउन खाद्य संस्थानको घाटस्थित डिपोको भर पर्छन् । तर डिपोमा नियमित चामल पाउने व्यवस्था छैन,’ उनले भने । खाद्यको घाट डिपोमा मुस्किलले वार्षिक १ हजार क्विन्टलका दरले वितरण हुने चामलले बारेकोटवासीलाई एक महिना पनि नपुग्ने गिरीले बताए । बारेकोटको खाद्य अभावलाई मध्यनजर गर्दै खाद्य संस्थाले चामलको कोटा थप गर्नुपर्ने उनले बताए । पौष्टिक तत्त्वयुक्त खाद्यवस्तुको अभावमा कुपोषण पनि व्याप्त भएको उनले बताए ।
सयौं बालबालिका कुपोषणको सिकार बन्न बाध्य भएको उनले बताए । भेडा, घोडा, बाख्रा, गाई, भैंसीलगायत पशुपालनको सम्भावना भए पनि यहाँका कृषक व्यावसायिक बन्न नसकेको गिरीले बताए । बारेकोट उच्च समस्थलीमा हजारौं भेडाबाख्रा पालन गर्न सकिने उनले बताए । सडक नपुग्दा प्रतिकिलोको ३० रुपैयाँका दरले घोडा, खच्चडद्वारा खाद्यलगयत दैनिक उपभोग्य वस्तु ढुवानी गरेर बारेकोटवासीको गुजारा चल्ने गरेको उनले बताए ।
बारेकोट भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पर्यटन विकास, जलविद्युत् उत्पादनलगायत विकासको पहुँच बाहिर रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । भौगोलिक विकटता, स्रोत साधनको अभाव, अविकास कारण बारेकोटका बासिन्दाको जीवनस्तर गुणस्तरीय बन्न नसकेको प्रजिअ शाहीले बताए ।










