‘हेभीवेट’ नेताहरुको यस्तो हुँदैछ रोचक भिडन्त

काठमाडौं- नयाँ संविधान जारी भएपछि यसअघि कायम रहेका निर्वाचन क्षेत्र गाभिएपछि अधिकांश हेभीवेट नेताहरु आपसी प्रतिस्पर्धामा देखिएका छन्। पूर्व प्रधानमन्त्रीदेखि पार्टीका अध्यक्ष र जिम्मेवार नेतृत्वमा रहेका नेताहरु एक-आपसमा टक्कर दिन मैदानमा उत्रिएका छन्। पहिले एकै पार्टीमा रहेर सहकार्य गरेका वरिष्ठ नेताहरु अहिले गठबन्धन बनेपछि आपसी भिडन्तमा समेत उत्रिने भएका छन्।

बाबुराम भट्टराई भर्सेस नारायणकाजी श्रेष्ठ

यसपटक पूर्व प्रधामन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठबीच यसपालि प्रतिनिधिसभा निर्वाचनमा रोचक भिडन्त हुने भएको छ। दुवै नेता गोरखा २ बाट चुनावमा होमिदैछन्। कुनै समय माओवादीका सहयात्री नेताहरु एकापसमा प्रतिस्पर्धी भएर उत्रन लागेका हुन्। पहिलो संविधानसभामा भट्टराई गोरखा २ बाट र दोस्रो संविधानसभामा गोरखा १ बाट विजयी भएका थिए भने श्रेष्ठ मकवानपुर २ बाट पराजित भएका थिए।

पशुपति शमशेर भर्सेस शेरबहादुर तामाङ

तीन दशकदेखि राजनीतिमा सक्रिय राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमशेर राणाको सम्भवत: अन्तिम चुनावी प्रतिस्पर्धा हो यो। पहिलो संविधानसभामा माओवादीका सांसद दावा तामाङ र दोस्रो संविधानसभामा एमालेका सांसद शेरबहादुर तामाङसँग राणा पराजित भएका नेता हुन्। अहिले उनी लोकतान्त्रिक गठबन्धनबाट सिन्धुपाल्चोक २ बाट चुनाव लड्दैछन्।

हाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले पनि यस पटक वाम गठबन्धनका हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ। अघिल्लो संविधानसभा निर्वाचनमा १ नम्बरबाट विजयी भई मन्त्री भएका बस्नेतले यस पटक पूर्वमन्त्री अग्नि सापकोटालाई प्रतिस्पर्धीको रुपमा पाएका छन्। तीन वटा निर्वाचन क्षेत्र हुँदा २ नम्बरबाट विजयी भएका सापकोटा यस पटक जिल्लाको निर्वाचन क्षेत्र मर्ज भएपछि बस्नेतसँग भिडन्त गर्न पुगको हुन्।

रामहरि खतिवडा भर्सेस यज्ञराज सुनुवार

अघिल्लो संविधानसभामा दुई निर्वाचन क्षेत्र रहेको ओखलढुंगाले यस पटक एक क्षेत्रमै प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएपछि दुवै गठबन्धनका चर्चित अनुहार नै प्रतिस्पर्धामा देखिएका छन्। लोकतान्त्रिक गठबन्धनवाट नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा प्रतिस्पर्धामा उत्रेका छन् भने उनलाई एमालेका युवा नेता यज्ञराज सुनुवारले टक्कर दिँदैछन्। जिल्लामा दुवै नेता लोकप्रिय छन्। दुवैबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

रामशरण महत भर्सेस हितबहादुर तामाङ

नुवाकोट १ मा पूर्व अर्थमन्त्री डा रामशरण महतलाई वाम गठबन्धनका नेता हितबहादुर तमाङले टक्कर दिँदैछन्। केही वर्षदेखि महत सोही क्षेत्रवाट निर्वाचित हुँदै आएका छन्। एमाले र माओवादी एक ठाउँमा उभिएकाले महतलाई तमाङले टक्कर दिने देखिन्छ। अघिल्लो संविधानसभा निर्वाचनका थोरै मतले विजयी भएका महतलाई यसपटक आफ्ने किल्ला जोगाउन धेरै मेहनत गर्नुपर्ने देखिन्छ।

अर्जुननरसिंह केसी भर्सेस नारायणप्रसाद खतिवडा

लामो समयदेखि नुवाकोटबाटै राजनीति गरेका अर्जुननरसिंह केसी पनि यसपटक २ नम्बर क्षेत्रवाट चुनावी मैदानमा उत्रेका छन्।केसीसँग वाम गठबन्धनका नारायणप्रसाद खतिवडा भिड्ने भएका छन्। उनी एमालेका जिल्ला अध्यक्ष हुन्।

चीनकाजी श्रेष्ठ भर्सेस हरि अधिकारी

अघिल्लो पटक समानुपातिक सूचीबाट सांसद हुँदै नेपाली कांग्रेसका प्रमुख सचेतक बनेका श्रेष्ठले यस पटक वाम गठबन्धनका हरि अधिकारी प्रतिस्पर्धी पाएका छन्। नयाँ शक्ति पार्टीसँग गठवन्धन भएकाले पनि माओवादीको आधार क्षेत्रको रुपमा रहेको गोरखामा श्रेष्ठलाई सहज छैन। पहिलो संविधानसभामा पराजित भएको क्षेत्र भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ।

जर्नादन शर्मा भर्सेस गाेपाल जि जङ्ग शाह

पूर्व गृहमन्त्री एवं माओवादीका प्रभावशाली नेता जर्नादन शर्माले यस पटक लोकतान्त्रिक गठबन्धनका गाेपाल जि जङ्ग शाहसँग प्रतिस्पर्धा गर्ने भएका छन्। माओवादीको आधार क्षेत्र रुकुम भए पनि र नेपाली कांग्रेस समेत प्रतिस्पर्धी दलको रुपमा रहेकाले दुई पक्षीय टक्कर हुने देखिन्छ।

माओवादीका अर्का प्रभावशाली नेता वर्षमान पुन यस पटक पनि रोल्पावाट निर्वाचनमा उत्रेका छन्। अघिल्लो संविधानसभा निर्वाचनमा पराजित भएका माओवादी नेता पुन यसपटक गठवन्धनलाई आधार बनाउन रोल्पाबट प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन्। यस पटक लोकतान्त्रिक गठबन्धनका तर्फबाट अमरसिंह पुनले उनलाई चुनौती दिँदैछन्।

शक्तिबहादुर बस्नेत भर्सेस राजीवविक्रम शाह

पूर्व गृहमन्त्री शक्ति बस्नेत यसपटक जाजरकोटबाट निर्वाचनमा भाग लिँदै छन्। उनलाई नेपाली कांग्रेसका पूर्व सांसद राजीवविक्रम शाहले टक्क दिने भएका छन्। अघिल्लो संविधानसभामा २ निर्वाचन क्षेत्र रहेको उक्त जिल्लामा अहिले एकमात्र क्षेत्र कायम भएको छ।

टेकबहादुर गुरुङ भर्सेस पाल्तेन छेवाङ गुरुङ

दीपक मनाङ्गे वाम गठबन्धनमा प्रवेश गरेसँगै मनाङ चर्चामा छ। यही मनाङमा एक पटक पूर्व श्रम मन्त्री बनिसकेका नेपाली कांग्रेसका युवा नेता टेकबहादुर गुरुङ र एमालेका जिल्ला अध्यक्ष पाल्तेन छेवाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। कम जनसंख्या रहेको उक्त जिल्लामा दुवै प्रतिस्पर्धी बीच कडा टक्कर हुने देखिन्छ।

देव गुरुङ भर्सेस दिलबहादुर घर्ती

माओवादी पार्टी छाडेर वैद्य समूहतिर गए पनि पुन: मुलपार्टीका फर्किएका देव गुरुङ यस पटक लमजुङबाट चुनावी प्रतिस्पर्धामा देखिएका छन्। वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका गुरुङलाई लोकतान्त्रिकका दिलबहादुर घर्तीले चुनौती दिने भएका छन्।

अघिल्लो संविधानसभामा निर्वाचनबाहिर रहेका गुरुङलाई आफ्नो राजनीतिक छवि कायम गर्न जित्नुपर्ने अवस्था देखिन्छ भने घर्ती उनलाई पन्छाउने दाउमा रहेका छन्।





error: Content is protected !!