यार्सा र संकलक दुवै घटे

यार्सा र संकलक दुवै घटे
- प्रदेश–६ का मुगु, डोल्पा, रुकुम र जुम्लाका उच्च हिमाली भेगमा अहिले यार्सा संकलकको भीड छ । स्थानीयको राम्रो मौसमी रोजगारी मानिएको यार्सा टिप्न हजारौं सर्वसाधारण जुटेका छन् । स्थानीय चुनावका कारण केही ढिलो गरी यार्सा संकलन खुलेको हो । जुम्लाका लेकमा यार्सा संकलन सकिइसकेको छ भने मुगु र डोल्पामा भर्खर खुलेको छ । वर्षा र हिमपातले रुकुममा यार्सा संकलन कठिन बनिरहेको छ । जुम्लाबाट एलपी देवकोटा, डोल्पाबाट विष्णुलाल बुढा, जाजरकोटबाट भीमबहादुर सिंह र रुकुमबाट हरि गौतमको रिपोर्ट :
जेष्ठ २४, २०७४- स्थानीय बासिन्दा पाटनहरूमा यार्सागुम्बा टिप्न गएपछि मध्य र तल्लो डोल्पाका अधिकांश गाउँ सुनसान छन् । यहाँका साइकुवारी, ओपा, चाहारा, बागडाँडा, ठाँगे, जगदुल्ला, कागमारा, भान्का, भोक्पा, सागर, छुताङ, फूलबारी, कुनासालगायत पाटनमा यार्सा टिप्ने चटारो छ । लेकमा संकलकको भीडभाड छ ।
डोल्पामा यार्सा टिप्न जाजरकोट, रुकुम, जुम्ला, बाँके, बर्दिया, सल्यानलगायत जिल्लाबाट पनि संकलक आउने गरेका छन् । ४३ हजारभन्दा बढी व्यक्ति यार्सा टिप्न खटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खडकाले बताए । प्रहरीले जिल्ला भित्रिने नाका करवगाड, कालिका र काइगाउँमा आगन्तुक संकलकले विवरण टिपेर राख्ने गरेको उनले जानकारी दिए ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा प्रवेशपत्र लिनेको संख्या भने अझै यकिन हुन नसकेको संरक्षण अधिकृत रामदेव चौधरीले बताए । उनका अनुसार सुलिगाड, त्रिपुराकोट, खालिवन र रिग्मबाट पाटन प्रवेश गर्नेहरूको संख्या बढदै गएको छ । तोइजम, पुग्म, धो, भिजेर, डोल्फु, किम्रीलगायत ठाउँबाट पनि प्रवेशपत्र दिएर निकुञ्जभित्र पठाइएको चौधरीले जानकारी दिए । सुलिगाड क्षेत्रबाट १ हजार ९ सय ९५ जना, त्रिपुराकोटबाट ६ सय १८ जना, खालिवनबाट ९९ जना र रिग्मबाट २ हजार ६ सय ४४ जनाले प्रवेशपत्र लिएका छन् । निकुञ्ज क्षेत्रमा प्रवेशुल्कबापत बुधबारसम्म ३५ लाख ११ हजार ६ सय राजस्व संकलन भएको संरक्षण अधिकृत चौधरीले जानकारी दिए । यस वर्ष वर्षा बढी भएकाले यार्सा उत्पादन राम्रो नरहेको स्थानीय हरिप्रसाद डाँगीले बताए ।
जाजरकोटबाट हजारौं
त्रिवेणी नलगाड नगरपालिका–४, थाप्लाका जयबहादुर खडका र नवीन खडका यार्सा खोज्न डोल्पाका पाटन पुगेका छन् । भेरी नगरपालिका–२ का दीपक खत्री, जयबहादुर रानालगायत पनि उतै छन् । स्थानीय चुनावले रोकिएका जाजरकोटका उत्तरी गाउँका हजारौं सर्वसाधारण अघिल्लो साता नै डोल्पा पुगेका हुन् । तीमध्ये स्कुले उमेरका किशोरकिशोरी पनि छन् ।
गत वर्ष यार्सा नपाएर घाटा बेहोरेकाहरू यस वर्ष त्यसलाई पूर्ति गर्ने आसमा डोल्पातिर लागेको खत्रीले बताए । ‘डोल्पाका लेक पुगेर फर्कन व्यक्तिपिच्छे २० हजारसम्म खर्च लाग्छ,’ उनले भने, ‘यार्सा नपाए पनि साहूबाट निकालेको ऋणको ब्याजसहित बुझाउनुपरिहाल्छ ।’
जिल्लाका १० प्रतिशतजति विद्यार्थी पनि यार्सा खोज्न अभिभावकसँगै डोल्पा उक्लिएका छन् । विगत वर्षजस्तो विद्यालय बन्द नै भएका भने छैनन् । ९ र १० कक्षाका विद्यार्थीको उपस्थिति न्यून रहेको वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए ।
यस वर्ष जाजरकोटबाट डोल्पा यार्सा खोज्न जानेहरू घटेको त्रिवेणी नलगाड नगरपालिका ११, चौखाका गणेश बानियाँले जनाए । ‘रुकुमको तुलनामा जाजरकोटबाट डोल्पा जाने कम छन्,’ उनले भने, ‘जाजरकोटबाट करिब ८ हजार स्थानीय यार्सा खोज्न डोल्पा लागेको अनुमान छ, विगतमा २५ हजार नाघ्थ्यो ।’
स्थानीय एक महिनाको खानपिन र बन्दोबस्तीका सामग्री बोकेर हिमाली क्षेत्रतिर लागेका छन्, कोही यार्सा टिप्न, कोही किन्न त कोही अन्य व्यापार–व्यवसायका लागि । हिमालमा खोजेको यार्सा खानपिन तथा खाजानास्तासँग समेत साट्ने र बचेको यार्सा प्रतिपिसको १ हजारसम्म बिक्री हुने गरेको बानियाँले बताए । ‘सिजन राम्रो भए २ सातामा यार्सा खोजेरै १ लाख बढी आम्दानी गर्न सकिन्छ,’ उनले भने ।
वर्षा र हिमपातले समस्या
रुकुममा वर्षा र हिमपातले यार्सा संकलनमा जटिलता थपेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको पाटनमा पाइने यार्सा टिप्न कठिनाइ भएको हो । सिजन व्यवस्थापन समितिका अध्यक्ष छायाबहादुर पुनले यार्सा संकलनमा वर्षा र हिउँले समस्या बनाएको बताए । ‘विगतका वर्ष यसरी पानी र हिउँले असर गर्दैनथ्यो,’ उनले भने, ‘यस वर्ष अलि बढी नै पानी र हिउँ परिरहेको छ ।’ उनका अनुसार यस वर्ष यार्सा पनि कम पाइएको छ । समितिले जेठ १४ बाट संकलन खुला गरेको थियो । जेठ १० गते नै खुला गर्ने निर्णय गरिए पनि संकलकहरू बुकीमा पुग्न समय लागेकाले ४ दिन पछि धकेलिएको हो । ‘अहिलेसम्मको अवस्था हेर्दा यो वर्ष यार्सा कम पाइने अनुमान लगाउन सकिन्छ,’ पुनले भने, ‘संकलक पनि विगतभन्दा निकै घटेका छन् ।’
समितिले यार्सा संकलकबाट उठाइने शुल्क पनि लिन छाडेको छ । सिजन सुरु हुनुपूर्व प्रतिसंकलक १ हजार ५ सय रुपैयाँ लिने निर्णय गरिएकोमा पछि हजारमा झारिएको थियो । १६ गतेदेखि भने त्यही रकम पनि लिन छाडिएको समितिले जनायो ।
जलवायु परिवर्तनका कारण हरेक वर्ष यार्सा र संकलक दुवै घटदो क्रममा रहेको रन्मामैकोटका अगुवा लक्ष्मीप्रसाद पुनले बताए । उनका अनुसार पछिल्ला दिन जेठ, असारमा उम्रनुपर्ने यार्सा फागुनमै उम्रने गरेको छ । समयअगावै उम्रेको यार्सा कम गुणस्तरको हुने पुनको बुझाइ छ । ‘यस वर्ष सिजनमा उम्रेको कीराको मूल्य पनि राम्रै परेको छ,’ उनले भने, ‘तर सिजनअगावै उम्रेको कीरा बिक्री गर्नै समस्या होलाजस्तो छ ।’
आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्साको एउटा सिजनबाट स्थानीयले वर्षभरको खर्च व्यवस्थापन गर्ने गर्छन् । त्यसैले यो उनीहरूका लागि ठूलै पर्वसरह हो । महिनादिन बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार ५० हजारदेखि ५ लाखसम्म आम्दानी गर्छन् । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका अधिकांश ठाउँका सर्वसाधारण यार्सा टिप्न पुथा उत्तरगंगा र सिस्नेको भूभागसहित डोल्पासम्म पुग्छन् । जिल्ला वन कार्यालयको पुर्जी लिएर संकलनमा जुट्ने उनीहरू आफूले भेटाएको यार्सा बुकीमै बिक्री गर्छन् । १ किलो यार्सा खरिद गर्ने व्यापारीले २५ हजार रुपैयाँ जिल्ला वनमा राजस्व तिर्नुपर्छ ।
जुम्लापछि मुगु र डोल्पा
जुम्लाका पाटनमा यार्सागुम्बा संकलनको काम सकिएपछि संकलक मुगु र डोल्पाका पाटन गएका छन् । मुगु र डोल्पामा निश्चित समयका लागि यार्सा संकलन खुला गरिन्छ । जुम्लाका पाटनमा यार्सा संकलनका लागि अहिलेसम्म कुनै निश्चित अवधि तोकिएको छैन ।
मुगु र डोल्पाका पाटन जाने बाटो एउटा मात्रै भएकाले निश्चित मिति तोकी स्थानीय उपभोक्ता समितिले प्रवेश अनुमति दिने गरेको छ । जुम्लामा भने जो पहिला गयो उसैले संकलन गरेर ल्याउने गरेको स्थानीय अर्जुन थापाले बताए । ‘स्थानीय चुनावअघि नै यार्सा टिप्न टोली जुम्लाका पाटन पुगिसकेका थिए,’ उनले भने, ‘जुम्ला सकिएपछि अव मुगु र डोल्पाका पाटनको पालो आएको छ ।’
गुठीचौर गाउँपालिकाका गज्याङकोट, देपालगाउँ, चन्दननाथ नगरपालिकाको कार्तिकस्वामीको वारा पाटन, तातोपानी गाउँपालिकाको ताम्ती र पातारासीका पाटनमा वार्षिक एक क्विन्टल यार्सा संकलन तथा निकासी पुर्जी दिने गरेको जिल्ला वन कार्यालयले जनाएको छ । कार्यालयले यार्सा निकासी तथा संकलन पुर्जीका लागि प्रतिकिलो १० हजार रुपैयाँ राजस्व संकलन गर्नेे गर्छ । जुम्लाका पाटनमा यार्सा टिप्ने कुनै नियम र निश्चित समय नभएकाले कति मात्रामा पाइन्छ भन्ने अनुमान गर्न नसकिएको सहायक वन अधिकृत भरत बुढथापाले बताए । ‘अन्य जिल्लामा संकलनका लागि वन कार्यालयबाट पुर्जी तथा स्थानीय सामुदायिक वन समितिको रसिद काट्ने गरिन्छ,’ उनले भने, ‘यहाँका पाटनको व्यवस्थापन गरेपछि मात्र यकिन तथ्यांक आउँछ ।’ जुम्लामा संकलकलाई पुर्जी अनिवार्य गरिएको छैन । व्यापारीले मात्र निकासी तथा संकलन पुर्जी लिने गरेका छन् ।
यार्सा संरक्षणका लागि जिल्ला वन कार्यालय र स्थानीय उपभोक्ता समिति सक्रिय हुनुपर्ने सिंजाका शेरबहादुर रावतले बताए । ‘जुम्लाको पाटनमा यार्सा टिपेपछि मुगु र डोल्पा जाने गरेका छौं,’ उनले भने, ‘यहाँ यार्सा संकलनको निश्चित समय नभएकाले वैशाखको पहिलो सातादेखि नै टिप्न सुरु गरिन्छ ।’
कान्तीपुर







