गाउँघरमा लोप हुँदै ढिकी जाँतो

विमला शर्मा
जाजरकोट ,आधुनिक विकाससँगै गाउँघरमा रहेका तोरी पेल्ने कोल, धान कुट्ने ढिकी र ओखल, पिठो पिस्ने जाँतो लोप हुने अवस्थामा पुगेका छन्। ग्रामीण क्षेत्रमा आधुनिक मिल र सुधारिएका घट्टको निर्माणसँगै कोल ढिकी जाँतो लोप हुने अवस्थामा पुगेका हुन्।

रातभरि संगिनी गीत गाउँदै दिदीबहिनी ढिकीमा धान कुटेको सम्झन्छिन् कार्कीगाउँ–३ पालेपाटा जाजरकोटकी ८४ वर्षीया जयपुरा खत्री। गाउँघरमा तोरी पेल्ने कोल, दाल पिस्ने जाँतो, धान र मकै कुट्ने ढिकी लोप हुँदै गएपछि यहाँको मौलिकता हराउँदै गएको खत्रीले बताइन्।

गाउँघरमा भएको भौतिक विकाससँगै र कोदो, गहुँ, मकै ढिकीजाँतोमा कुटानी पिसानी गर्ने स्थानीयहरू आधुनिक मिल र घट्टमा जान थालेका छन्। सदरमुकामबासी र होटलले शहरबाट आयात गरिएको पोका तेल, थैलीका पिठो, चामल बजारमा आपूर्ति गर्न थालेपछि ढिकी जाँतो, तोरी पेल्ने कोल लोप हुने अवस्थामा पुगेको हो। जाजरकोट सदरमुकाम र सदरमुकामसँग जोडिएका अधिकांश गाविसका गाउँमा आधुनिक मिल सञ्चालनमा आएका छन। पिपे, रिम्ना, ढिमे, पुन्मा, कार्कीगाउँ झाप्रा, डाँडागाउँ, खगेनकोट, लहँलगायतका दर्जनौं गाविसमा आधुनिक मिल र घट्टको विकाससँगै ढिकी जाँतो लोप हुने अवस्थामा रहेको स्थानीय बताउ“छन्।

गाउँमा ढिकी जाँतोको प्रयोग गर्नेको संख्या निकै कम भएपछि खाद्यवस्तु कुटानी पिसानीका लागि मिल तथा घट्टमा भीड हुने गरेको कार्कीगाउँ–३ जाजरकोटका चन्द्रप्रकाश खत्रीले बताए। ‘पहिले कुनै चाडपर्व, बिहे आएको समयमा ग्रामीण क्षेत्रका समुदायका छोरीबुहारीले जुनसुकै समयमा पनि ढिकी–जाँतो गर्नुपर्ने बाध्यता रहेको थियो तर, अहिले आधुनिक विकाससँगै त्यस्तो बाध्यता हटेको छ’ –खत्रीले भने।

गाउँघरमा तोरी पेल्ने काठे कोल हराएपछि घरमा भएको २÷४ पाथी तोरी पेल्न टाढाको मिल जानुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ। गाउँमा भएका काठे कोल लोप हुन थालेपछि अर्को गाउँको कोल धाउनुपर्ने तथा बजारको पोका तेल खानुपर्ने बाध्यता भएको खत्रीले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!