अब आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छ ः मन्त्री भण्डारी

कर्णाली, २३ वैशाख  ः  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै  उहाँले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्ने छ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो ।
“सुखी नेपाली र समृद्ध नेपालको चाहना पूरा गर्नका लागि सरकारले विशेष महत्वका आयोजनाहरुलाई चाँडोभन्दा चाँडो कार्यान्वयनको चरणमा पुर्याउने तयारी गरिरहेको छ,” उहाँले भन्नुभयो ।
खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा दैलेख नेपालको आर्थिक समृद्धि केन्द्र बन्ने दबी गर्नुभयो । “देश–विदेशमा अन्वेषणको विषयले चर्चा पाएको छ,” उहाँले भन्नुभयो, “आम नेपालीमा खुसी छाएको छ । यसमा हामी पनि उत्साहित भएका छौँ ।”
सो अवसरउद्योगमन्त्री भण्डारी, खानी तथा भू–गर्भ विभागका महानिर्देशक घिमिरे, प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुले आयोजना स्थलको अध्ययन र अवलोकन गर्नुभएको थियो । नेपालगञ्जबाट आयोजनास्थल दैलेखको जलजलेमा पुगेका एक सय ५० बढी ट्रकका सामानहरु झारेर जडानको कार्य तत्कालै थालिएकाले काम चाँडो भएको खानी तथा भू–गर्भ विभागले जनाएको छ ।
विभागका अनुसार आगामी ६ महिनामा अन्तिम अन्वेषण सम्पन्न हुनेछ । अध्ययनपछि कति परिमाणमा पेट्रोल र ग्यास भण्डारण छ भन्ने कुरा पत्ता लाग्नेछ । आर्थिक हिसाबले उत्पादन योग्य भएको खण्डमा प्रशोधनसहितका अन्य प्रक्रियाहरु सुरु हुनेछन् । नेपाल र चीन सरकारबीच विसं २०७५ मा भएको जिटुजी सम्झौताअनुसार चीन सरकारको करिब रु दुई अर्ब ५० करोड अनुदान लागतमा अध्ययनको काम भइरहेको बताइएको छ ।




error: Content is protected !!