चौरजहारीमा भूकम्पप्रतिरोधी नमुना घर निर्माण सुरु

रुकुम पश्चिम ः भूकम्पले प्रभावित चौरजहारी नगरपालिका–६ फारुलामा भूकम्प प्रतिरोधी नमुना घर निर्माण सुरु भएको छ । भूकम्पले पूर्ण रूपमा भत्किएका चार घरपरिवारलाई भूकम्प प्रतिरोधी नमुना घर निर्माण गरेर दिन लागिएको हो ।

पालिकाका पूर्वप्रमुख विशाल शर्माको नेतृत्वमा चार घरको पुनर्निर्माण सुरु भएको छ । पहिलो चरणमा स्थानीय स्रोतसाधन परिचालन गरी चार घर नमुनाका रूपमा अघि बढाइने उनले बताए । ‘यो पुनर्निर्माण अभियानलाई नगरपालिकाभरि सञ्चालन गर्ने तयारी छ,’ उनले भने, ‘सरकारको मुख ताक्नुभन्दा स्थानीय स्रोतसाधन प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाउने अभियानको सुरु गरेका हौं ।’ उनले यो अभियानमा माओवादी नगर कमिटी, वाईसीएल, स्थानीय व्यक्तिलाई जोडेको बताए । ‘एउटा त्रिपाल वितरण गर्न तीन जना उभिनुभन्दा दीर्घकालीन हिसाबले बस्न मिल्ने घर बनाउनुपर्छ भनेर यो अभियान सुरु गरिएको हो,’ उनले भने, ‘यसमा अरू पार्टीले प्रत्येक वडामा यो अभियान सुरु गरे भूकम्पपीडित चिसोमा कठ्यांग्रिनु पर्दैन ।’

उनले एक स्थानीय काठ, ढुंगा, बालुवाका साथै सिमेन्ट, जस्तापाता र छड प्रयोग गरी भूकम्प प्रतिरोधी घर बनाउने बताए । ‘हामीले अहिले हरेक दिन ५० व्यक्ति सहभागी भएर काम थालेका छौं,’ उनले भने । पहिलो चरणमा कालो कामी, कमल विक, चन्द्री बोहरा र चन्द्रबहादुर बुढाथोकीको घर निर्माण सुरु भएको छ । यो अभियानलाई नगरपालिकाले पनि अघि बढाउने कार्यकारी अधिकृत शेरप्रसाद ढकालले बताए । ‘स्थानीयस्तरमा पनि पुनर्निर्माण अभियान चलाउने तयारी हुँदै छ,’ उनले भने, ‘किनभने, करिब चार हजार घर बस्नै नमिल्ने गरी क्षति पुगेकाले स्थानीय सहभागितालाई पुनर्निर्माणमा जोड्ने योजना बन्दै छ ।’

कात्तिक १७ मा आएको भूकम्पले चौरजहारी नगरपालिकाका ६, ७, १०, १२, १३, १४ मा सबैभन्दा बढी क्षति भएको छ । भूकम्पबाट यो नगरपालिकामा २३ घाइते र एक जनाको मृत्यु भएको थियो । नगरपालिकाले दिएको विवरणअनुसार १ हजार ८ सय ९५ घर अति जोखिममा र ४ हजार ५ सय घर जोखिमयुक्त रहेका छन् । ७ हजार घरधुरीमध्ये करिब तीन हजार घरमात्र कम जोखिममा छन् ।

नगरपालिकाले भूकम्प प्रभावितलाई उद्धार र उपचारपछि पहिलो चरणमा त्रिपाल र ब्ल्यांकेट वितरण गरिसकेको जनाएको छ । ‘त्रिपाल र कम्बल पुर्‍याउने अभियान सकिएको छ,’ कार्यकारी अधिकृत ढकालले भने, ‘स्थानीय साधन र स्रोत परिचालन गरी न्यानो अस्थायी बास बनाउने योजना बनेको छ । पराल, मकैको ढोड, खर प्रयोग गरेर बसोबास बनाउन सहयोग गर्छौं ।’ उनले संयुक्त परिवारका लागि सानो त्रिपाल अपुग हुन सक्ने भएकाले थप दिनेबारे छलफल चलिरहेको बताए । अरू पालिकाको तुलनामा कम भौतिक क्षति भएकाले राहत अपेक्षाअनुसार संकलन नभएको पालिकाले जनाएको छ ।

नगरपालिकाले हालसम्म ५ हजार १ सय ४८ त्रिपाल, ३ हजार ५ सय ४० ब्ल्यांकेट, ७ सय ९२ बोरा चामल प्राप्त भएकामा ५ हजार ७८ त्रिपाल, ३ हजार २ सय ७० ब्ल्यांकेट र १ सय ३६ बोरा चामल वितरण भइसकेको जनाएको छ । चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी आफैं भूकम्पपीडित हुन् । चौरजहारी–४ मनकोट टाकुराका उनका दुवै घर बस्नै नमिल्ने गरी भत्किएपछि उनको त्रिपालमुनिको बास भएको छ । स्रोत ः कान्तिपुर





error: Content is protected !!