बिजुली पुगेपछि जवलधारावासी खुसी

राजबहादुर शाही
मुगु — सोरु गाउँपालिका–१ जवलधारा गाउँमा बिजुली बलेपछि गाउँलेहरू खुसी छन् । पानीको श्रोत नभएको उक्त बस्तीमा जलविद्युतबाट गाउँ झिलिमिली पारिएको छ ।

वैकल्पिक उर्जाको करिब ४ करोड आर्थिक लागतमा गुल्माघाट जलविद्युत आयोजनाबाट ३८ किलोवाट विद्युत उत्पादन गरी जवलधार गाउँका ९७ घरमा बिजुली पुर्‍याइएको हो ।

पहिले जंगलबाट सल्लाको झरो ल्याएर बाल्नुपर्ने अवस्था भएको गाउँमा बत्ती बलेपछि दुस्ख टरेको स्थानीयहरू बताउँछन् । ुजंगलबाट झरो ल्याउनुपर्ने दुःख अब टरेको छ । गाउँमा बल्ल विकासको महसुस भएको छ,ु जवलधारा गाउँकी ३५ वर्षीया शारदा मल्लले भनिन् ।

सदियौंदेखि बसोबास गरिएको उक्त बस्तीमा पहिलो पटक बिजुली बल्न थालेपछि स्थानीय खुसी भएका हुन् ।कर्णाली प्रदेशका पूर्व कृषिमन्त्री चन्द्रबहादुर शाही लगायत स्थानीय अगुवाहरूको सक्रियतामा गाउँमा बत्ती बलेको गुल्माघाट जलविद्युत आयोजना निर्माण समितिका अध्यक्ष कमानसिंह मल्लले बताए ।

गाउँमा बिजुली पुगेपछि जवलधारा गाउँका बालबालिका र युवाहरूलाई अब पठनपाठनमा पनि सहज हुने स्थानीयहरू बताउँछन् । गुल्माघाट जलविद्युत आयोजना निर्माण समितिका अनुसार गुल्मा जिउलादेखि ५ किलोमिटर टाढा हुम्ला कर्णाली नदीको पानी नहरबाट ल्याएर जलविद्युत उत्पादन गरिएको हो ।

गुल्माघाट जलविद्युत आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाटको विद्युत जवलधार गाउँमा मात्रै नभएर गहताडी गाउँका २२ घरधुरीमा पनि पुगेको छ ।

उक्त जलविद्युत आयोजनाबाट नचारा गाउँका ५६ घरधुरी, जोगीबाडा गाउँका २७ घरधुरी, नार्थपु गाउँका ६४, धुपी गाउँका १० र जडेपानी गाउँका ४२ घरमा पनि विद्युत पुर्‍याउने लक्ष्य राखेर पोल विस्तार साथै तार जडान गरिएको छ ।

यससँगै गुल्माघाट जलविद्युत आयोजनालाई कसरी दिगो र भरपर्दो बनाउने भन्ने अब चिन्ताको विषय रहेको जवलधार गाउँका पुरनबहादुर शाहीले बताए ।





error: Content is protected !!