न्यायका नाममा धामीको इजलास

झन्डै २ हजार जनसंख्या रहेको तलीगोठी गाउँका बासिन्दा उजुरबाजुर गर्न, न्याय माग्न, मुद्दाको तारिख थाम्न र फैसला सुन्न कैलाशगोठीका धामीकहाँ पुग्छन्
तलीगोठी, बाजुरा — बझाङ खप्तडछान्ना गाउँपालिका–७ का ७८ वर्षीय लालु रोकाया ४२ वर्षदेखि अaनौठो मुद्दा खेपिरहेका छन् । उनले खेपेको मुद्दाको पृष्ठभूमि बुझ्दा जोकोही अचम्म मात्रै पर्दैन, अन्धविश्वास कति गहिरो हुन्छ भन्ने पनि थाहा हुन्छ ।

४२ वर्षअघि उनी बिरामी परेपछि परिवारले नजिकै धामीझाँक्रीकहाँ लगे । धामीले भने, ‘तलीगोठी कैलाशमा तिम्रो नाउँमा उजुरी परेको छ, सुधार गर ।’ धामीका अनुसार अंश मुद्दा परेकाले लालु बिरामी परेका हुन् । लालुका काका देवी रोकायाले दुई कित्ता जग्गा आफ्नो बाबुबाजेले कमाउँदै आएकाले उक्त जमिन आफूले पाउनुपर्ने दाबीसहित मुद्दा दिएका रहेछन् । जसको फैसला धामीले नै गर्नुपर्ने मान्यता छ ।

झन्डै २ हजार जनसंख्या रहेको तलीगोठी गाउँ कोल्टीबाट ५ घण्टाको पैदल दूरीमा पर्छ । स्थानीय बासिन्दाले बड्डो भेराल, घटालो काजी, मस्टा, धलपुरा, कालिका, जालाफा देवी, बुढीनन्दालगायत देवीदेवताका थानमा भाकल र पूजापाठ गर्छन् । तर, न्याय माग्न, मुद्दाको तारिख थाम्न र फैसला सुन्न भने कैलाशगोठीमै पुग्छन् । स्थानीयले चलनचल्तीको भाषामा कैलाशकोटी, कैलाशगुठी पनि भन्ने यो मन्दिरका मुख्य धामी हुन्, तेज रोकाया । यो कुनै अड्डा अदालत होइन, न त मुद्दा मामिला छिनोफानो गर्ने कुनै न्यायिक निकाय । तैपनि सर्वसाधारण उजुरबाजुर गर्न र धामीबाटै फैसला सुन्न यतै धाउँछन् ।

धामीकहाँ परेको मुद्दा रीतिअनुसार किनारा नलगाए अनिष्ट हुने अन्धविश्वास छ । तर, चार दशक बितिसक्दा पनि ‘न्याय’ नपाएका लालुका आँखा अझै खुलेका छैनन् । भन्छन्, ‘छोरानातिलाई केही नहोस् भनेर मर्नुअघि नै मुद्दा फैसला होस् भन्ने आस छ तर उजुरी दिने मानिस हाजिर नभएकाले ढिला भएको छ ।’ लालुमाथि तलीगोठीस्थित कैलाशगोठीका मुख्य धामीकहाँ अनेकन मुद्दा परेको छ । अंश मुद्दादेखि गाली बेइज्जती, कुटपिटलगायत झन्डै आधा दर्जन मुद्दाको तारिख उनी वर्षौंदेखि खेपिरहेका छन् । उता, धामी तेज रोकायाले उनको मुद्दा फैसला हुन कात्तिकसम्म समय लाग्ने बताएका छन् ।

एक साताअघि बुढीगंगा गाउँपालिका–२ का ७० वर्षीय मानेन्द्र लुहार ताम्रादेखि २ हजार गाडी भाडा तिरेर कोल्टी पुगे । त्यहाँबाट ५ घण्टा हिँडेर उनी तलीगोठी पुगे । ४५ वर्षदेखि उनी जग्गा अंशबन्डासम्बन्धी मुद्दाको तारिख खेपिरहेका छन् । बाबुबाजेको पालाको जमिन अंशबन्डा विवादले गर्दा आफूले लामो समयदेखि मुद्दा खेपिरहेको उनले गुनासो गरे । ‘छिटो फैसला भए हुन्थ्यो,’ उनले भने, ‘हामीलाई अड्डारअदालतभन्दा देउताकै भर छ तर धेरै मुद्दा परेपछि धामीलाई पनि मुद्दा टुंग्याउन समस्या पर्‍यो, त्यसैले उहाँले दिएको म्यादमा तारिख थाम्न आइरहेको छु ।’

यो भेगमा धामी परम्परा दशकौंदेखि जारी छ । धामीको मृत्यु भएकाले उनकै छोराले धामीको विरासत सम्हाल्ने चलन छ । जस्तो कि तलीगोठीका मूल धामी रहेका ७४ वर्षीय मोती रोकायाको दुई वर्षअघि मृत्यु भयो । २३ वर्षसम्म अनवरत धामी रहेका मोतीको मृत्यु भएपछि ५२ वर्षीय तेजले पद सम्हालेका हुन् ।

उनले धामीकहाँ पर्ने मुद्दा छिनोफानो नगरे बहुलाउने बताए । मानसिक सन्तुलन बिग्रन्छ । थिनकोटले कोड्याउँदो छ । सन्तानको नाश हुन्छ भन्ने छ । उनले भने, ‘तीन वर्षअघि बाको मृत्यु भएपछि मैले यो न्यायालयको गद्दी समालेको हो । एक पटक आउने मानिस यहाँ पटक–पटक आउने गरेका छन् ।’

तलीगोठी भुलेनाका ७५ वर्षीय धन बुढा आफूले थाहा पाउने भएदेखि नै केही समस्या परे गाउँलेका लस्कर धामीकहाँ पुग्ने गरेको बताउँछन् । तलीगोठीमा सरकारभन्दा धामीकै नीतिनियम छ । तेज भन्छन्, ‘मेरा बाबुले सिकाएको न्याय सिद्धान्तका आधारमा मैले मुद्दाको फैसला गर्ने गरेको छु ।’ मुद्दामामिलाका अलावा तलीगोठीमा विभिन्न विषयको भविष्यवाणी गराउन पनि मानिसहरू आउँछन् । ज्यानमारा, जग्गासम्बन्धी, कुटपिट, चोरी डकैती, जबर्जस्ती करणीलगायत मुद्दा पनि धामीकहाँ आइपुग्छन् ।

कतिपय सन्तान नभएकाहरू पनि पुग्छन् । उनले अड्डारअदालतमा समयमै फैसला नहुने, सरकारी न्यायिक निकायमा ढिलासुस्ती र झन्झट हुने भन्दै मानिसहरू आफूकहाँ आइरहेको बताए । अहिले झन्डै ५० मुद्दा हेरिरहेका उनले आफूकहाँ साविक सेती, महाकाली र कर्णाली अञ्चलका मानिसहरू मुद्दा लिएर र पूजाका लागि आइरहेको बताए । भुलेनाकी ७० वर्षीया लक्ष्मीदेवी रोकायाले कुनै झैझगडा मिलाउन प्रहरी गाउँमा नआएको बताइन् । ‘हामीलाई त दुःखसुख र अन्यायमा कैलाश पुकारे हुन्छ, बाबुबाजे पनि न्यायका लागि कैलाशकै भर परे,’ उनले भनिन्, ‘हाम्रा लागि सरकार भनेकै कैलाश देउता हुन् ।’

हरेक वर्ष वैशाख, जेठ, माघ र असोजमा कैलाश मन्दिरका ढोका खुल्छन् । त्यतिबेला देशका विभिन्न जिल्लाबाट मानिसहरू आफ्नो भाग्य र कर्मबारे हेराउन आइपुग्छन् । कतिपयले भाकल पूरा भएको भन्दै बलिसमेत दिन्छन् । प्रत्येक पटक ढोका खुल्दा ५र७ हजार तीर्थालुहरू आइपुग्छन् ।

कोल्टीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज सिंह कतिपय स्थानीय मुद्दामामिला लिएर प्रहरीकहाँ आए पनि पछि चित्त नबुझेको भन्दै मन्दिर धाउने बताउँछन् । ‘सरकारी निकायहरू सदरमुकाममा मात्रै छन्, भौगोलिक दूरी टाढा भएकाले पनि प्रहरीको भन्दा देवताको विश्वास यो क्षेत्रमा बढी छ,’ उनले भने, ‘हामीकहाँ उजुरी नआएपछि आफैं विभिन्न घटनाका पीडकलाई कारबाहीको दायरामा पनि ल्याउन सकेका छैनौं ।’

बुढीनन्दा नगरपालिका प्रमुख जनककुमार बोहराले स्थानीय तहमा न्यायिक समिति भए पनि तलीगोठीका बासिन्दा पालिका कार्यालय नआएको बताउँछन् । ‘आफूलाई समस्या परे जो पनि मन्दिरमै जान्छन्, कैलाशगोठीलाई विश्वास गर्छन्,’ उनले भने ।




सम्बन्धित समाचार


error: Content is protected !!