वीरेन्द्रनगरको पठान टोल जहाँ लेउ लागेको पानी कपडाले छानेर पिउन बाध्य छन् सर्वसाधारण
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० की गंगा सुनार उमेरले ७३ वर्ष भइन् । सुनारको परिवार २०२८ सालमा दैलेखबाट वीरेन्द्रनगरको दक्षिण पूर्वमा रहेको (घुस्रासँग जोडिएको) पठान टोलमा बसाइँ सरेर आएको थियो । त्यतिबेला वीरेन्द्रनगरमा अहिलेको जस्तो बस्ती थिएन ।
सुरुमा बस्ती बाक्लो नभएका कारण हावापानी स्वच्छ र सफा थियो । खानेपानीका स्रोत थुप्रै थिए । खानेपानी त्यति दूषित पनि हुँदैन थियो । ‘सुरुमा हामी यहाँ आउँदा खानेपानीको समस्या थिएन, खोलाखाल्सी जताको पानी खाए पनि केही हुँदैन थियो’, सुनारले भनिन्, ‘जब यहाँ बस्ती बढ्न थाल्यो त्यसपछि खानेपानीका मुहान सुक्दै गए, भएका मुहानमा पनि धमिलो लेउ र मसिना किराहरू देखिन थाले ।’ लेउ र किरा परेको धमिलो र दूषित पानी प्रयोग गर्दा विभिन्न खाले पानीजन्य रोगको सिकार हुनुपरेको गंगाको गुनासो छ ।
२०४८ को संसदीय निर्वाचन, २०५२ को मध्यावधि, २०५६ को संसदीय, २०६४ को पहिलो संविधानसभा, २०७० को दोस्रो संविधानसभा, २०७४ र २०७९ मा संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचनमा भोट हालेकी स्थानीय गंगा सुनारले नेताहरुरूबाट पाएको आश्वासन जीवनको उत्तरार्धमा पुग्दा पनि पूरा भएको हेर्न पाएकी छैनन् ।
यो टोलका नागरिकलाई राजनीतिक दलका नेताहरूले खानेपानी, लालपुर्जा, बिजुली, सिँचाइलगायतका आश्वासन देखाएर भोट बैंक बनाएको उनको गुनासो छ । राजधानीकै सम्मुखमा रहेको यो बस्तीको आर्थिक, सामाजिक विकासको अवस्था अझै पनि परिवर्तन हुन सकेको छैन । अझ भनौँ, यहाँका नागरिकहरू खाद्य अधिकारबाट वञ्चितसमेत छन् ।
पठान टोलसँगै घुस्रा गाउँ जोडिएको छ । यी दुई टोलको दूरी झण्डै पाँच सय मिटर छ । निकास खोलाले सीमा छुट्याएका वारिको घुस्रा टोलमा बिजुलीको राम्रो प्रबन्ध छ, कालोपत्रे सडक बनेका छन् । शिक्षा तथा स्वास्थ्यको राम्रो प्रबन्ध छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले व्यवस्थित खानेपानी उपलब्ध गराएको भए पनि पठान टोलमा भने शुद्ध पिउने पानीको चरम अभाव छ ।
यहाँका स्थानीय इनारबाट किरा र लेउ लागेको दूषित पानी कपडाले छानेर पिउन बाध्य छन् । पानी शुद्धीकरणका लागि घरायासी विधि भनेको पातलो कपडाले छान्नु हो । यो बस्तीमा गरिब, विपन्न दलित परिवारको बाहुल्यता छ । जग्गासमेत ऐलानी छ । बिजुली पुगेको भए पनि कम भोल्टेजको लाइन विस्तार भएको छ । उक्त बस्तीमा एक सय २० घरधुरीमा झन्डै सात सय बढी जनसंख्या छ ।
स्थानीयले खोल्सामा भूमिगत जमिनमुनिबाट निस्किएका चारवटा इनारको पानी प्रशोधनबिनै सिधै प्रयोग गर्दै आएका छन् । पानीमा विभिन्न किसिमका किटाणुको मिश्रणका कारण झाडापखला, आउँ, टाइफाइड तथा छालालगायतका रोगबाट पीडित हुनु परेको स्थानीय अमर सुनार बताउँछन् । विशेषगरी यस्ता रोगको जोखिममा बालबालिका र वृद्धवृद्धा पर्ने गरेको उनको भनाइ छ । कतिले पानीकै कारण ज्यानसमेत गुमाएका छन् ।
‘हाम्रो टोलमा गतिलो नेता नै भएन, हाम्रो समस्या वडा कार्यालयदेखि नगरपालिकामा समेत राखेका छौँ । तर, कुनै सुनुवाइ भएन,’ स्थानीय रमिता नेपालीले भनिन्, ‘दूषित पानी पिउनाले हाम्रा बालबालिकालाई झाडापखला, आउँ, हैजा, लुतोजस्ता रोग लाग्ने गरेको छ ।’
२०२४ सालमा दैलेख, जाजरकोट जिल्लाका विभिन्न स्थानबाट बसाइँ सरेर आएका १२ घर अहिले बढेर एक सय २० घर पुगेको स्थानीय अगुवा रने सुनार बताउँछन् । सुनारका अनुसार यो समुदायमा दलित ८५, जनजाति १०, अन्य २३ घरधुरीको बसोबास छ भने कुल जनसंख्या ७३३ रहेको छ । स्थानीय सरकारसँग बारम्बार खानेपानीको व्यवस्था गरिदिन माग गर्दा पनि कुनै सुनुवाइ नभएको अगुवा सुनारको भनाइ छ । पानी मात्रै होइन यहाँका नागरिकहरू लालपुर्जाविहीनसमेत छन् ।
पठान टोलका नागरिकलाई शुद्ध खानेपानी खुवाउने सरकारी प्रयास भने नभएको होइन । २०६७ सालमा १२ घरले खानेपानीका धारा पाएका थिए । तर, ती धारमा पानी भने कहिल्यै आएन । आँगनमै रहेका राज्यका दुई निकाय प्रदेश सरकार र स्थानीय तहलाई यो टोलको सभ्यताले गिज्याइरहेको छ । यो बस्ती र वीरेन्द्रनगर नगरपालिकाको दूरी साढे ६ किलोमिटर रहेको छ ।
के भन्छन् वडाध्यक्ष ?
चालु आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले दुई लाख लागतमा एउटा इनार मर्मत गर्न बजेट छुट्याएको थियो ।
स्थानीयहरूले निर्माण समिति बनाएर पुरानो इनारलाई मर्मत गरेर खानेपानीको पोखरी निर्माण गरेका छन् । तर, बजेट पर्याप्त नहुँदा निर्माण सम्पन्न हुन सकेको छैन ।
पहिला रिङ्ग प्रयोग भएकाले बर्खायाममा बाहिरको पानी इनारभित्र पस्न नदिन ढाक्ने गरिन्थ्यो । तर, अहिले भने मर्मत पछि खुला छोडिएको छ । जसले आकाशे तथा बाह्य दूषित पानी सोझै इनारमा जाने जोखिम बढाएको छ । आफूहरूलाई शुद्ध खानेपानीबाट वीरेन्द्रनगर नगरपालिकाले नै बञ्चित गराएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
‘हाम्रो खानेपानीको समस्या समाधानका लागि कुनै सरकार, नेताको आँखा पर्न सकेन,’ स्थानीय शेरजंग शाहीले भने ।वीरेन्द्रनगर–१० का वडाध्यक्ष डिलबहादुर रखाल भने स्थानीयको यो आरोपमा सत्यता नरहेको बताउँछन् । स्थानीयलाई पाइपलाइनबाट पानी खुवान नसकेको स्वीकार गर्दै वडाध्यक्ष रखालले उपलब्ध पानीलाई शुद्धीकरण गरेर खानलाई दिएको फिल्टरको सही सदुपयोग नगरेको दाबी गरे ।
‘हामीले उहाँहरूलाई बारम्बार पानीलाई उमालेर खानुहोस् भनेर अनुरोध गरेका छौँ, वडाध्यक्ष रखालले भने, ‘उहाँहरू मान्नु हुन्न, पानी शुद्ध गराउन विभिन्न घरेलु विधि सुझाएका छौँ । पोटास तथा फिल्टर पनि दिएका छौँ । फिल्टरमा चामल हालेर राख्नु भएको छ ।’ स्थानीयले माग गरेअनुरुप खानेपानीका लागि डिप बोरिङ्ग निर्माण गर्न सकिने तर, प्राविधिक रूपमा सञ्चालनमा कठिनाइ हुने वडाध्यक्ष रखाल बताउँछन् ।
आफू निर्वाचित भएर आएदेखि वस्तीको आर्थिक तथा सामाजिक विकासका लागि नगरपालिका तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक बजेटको व्यवस्था गरे पनि स्थानीयहरू आफूसँग कहिल्यै सन्तुष्ट हुन नसकेको उनको गुनासो छ ।