कानुनलाई चुनौतीः महिनावारी नहुँदै बिहे, कलिलै उमेरमा आमा

५ मंसिर २०७३ मा बिहे गर्दा हुम्ला सिमकोटकी सुजाता कक्षा ८ मा पढ्दै थिइन् । उमेर भर्खर १४ वर्ष पुगेको थियो । महिनावारीसमेत भएको थिएन । बिहेको तीन सातापछि २४ मंसिरमा मात्र उनी पहिलोपटक महिनावारी भइन् । ‘८ कक्षा पढ्दैमा बिहे भो, बिहेपछि मात्र पहिलो छाउ (महिनावारी) भया हो,’ सुजाता भन्छिन् ।
कलिलैमा बिहे गरेकी उनी १९ वर्ष पुग्दा-नपुग्दै दुई सन्तानकी आमा भइसकेकी छन् । अब उनलाई थप सन्तानको रहर छैन । जसका लागि उनले परिवार नियोजनको साधन ‘डिपो’ (गर्भ निरोधक सुई) लगाउँदै आएकी छन् । डिपो लगाउन थालेको उनले एक वर्षभन्दा बढी भइसकेको छ ।
सुजताजस्तै खार्पुनाथकी केशरीको पनि कलिलै उमेरमा बिहे भयो । १६ वर्षको उमेरमा बेहुली बनेकी उनले एक वर्षभित्रै पहिलो सन्तान जन्माइन् । सानै उमेरमा बिहे गरेकी उनको स्वास्थ्यमा समस्या देखियो । पहिलो सन्तान जन्माइसकेपछि केशरीलाई चिकित्सकले पाठेघरमा समस्या भएका कारण थप बच्चा नपाउन सुझाए । आफू अस्वस्थ हुँदाहुँदै पनि उनले थप तीन सन्तान जन्माइन् ।
सिमकोटकी २१ वर्षीया सपना केही हप्ताअगाडि ‘डिपो’ (गर्भ निरोधक सुई) लगाउन जिल्ला अस्पताल हुम्ला पुगेकी थिइन् । परिवार नियोजनका लागि डिपो लगाउन अस्पताल पुगेकी उनी दुई सन्तानकी आमा हुन् । १४ वर्षको उमेरमा बिहे गरेर १९ वर्षमा दुई सन्तान जन्माएकी सपना पछिल्लो दुई वर्षदेखि अस्थायी परिवार नियोजनको साधनका रूपमा डिपो लगाउँदै आइरहेकी छन् ।
कानुनले २० वर्षभन्दा मुनिको बिहेलाई गैरकानुनी मान्ने गरेको छ । तर, हुम्लाका सुजाता, केसरी र सपना कलिलै उमेरमा गर्भवती भएका प्रतिनिधि पात्र मात्रै हुन् । ८ असारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको देखाएको छ । त्यसमध्ये सबैभन्दा धेरै कर्णाली प्रदेशमा छ । कर्णालीमा १५-१९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरू गर्भवती हुने गरेको सर्वेक्षणमा उल्लेख छ ।
बालविवाहको तथ्यांक पनि डरलाग्दो छ । ३ प्रतिशत किशोरीहरू र १ प्रतिशत हाराहारीका किशोरले १५ वर्षको उमेर नपुग्दै विवाह गर्ने गरेको पाइएको छ । र, १५ वर्ष नपुग्दै वा १५ वर्ष उमेर हाराहारीमा २ प्रतिशत किशोर-किशोरीले यौन सम्पर्क राख्ने गरेका सर्वेक्षणले देखाएको छ ।
जबकि मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा २ मा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ । सोही दफाको उपदफा ३ मा जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कैद हुने उल्लेख छ । जसमा १६ वर्ष वा १६ वर्षभन्दा बढी तर १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
कानुनलाई चुनौती
सर्वेक्षणलाई सुक्ष्म रूपमा हेर्ने हो भने कानुनलाई नै चुनौती देखिएको बताउँछिन्, अधिवक्ता मन्दिरा अधिकारी । ‘समाज जुन गतिमा अगाडि बढिरहेको छ । त्योभन्दा गतिशिलतामा कानुन अगाडि बढेको जस्तो देखिन्छ, उनी भन्छिन्, समाजको आवश्यकता अनुसार कानुन बन्नुपर्छ । समाज र कानुनको गति नमिल्दा कानुनी चुनौती देखिएको छ ।’
बालविवाह रोक्न बनाइएको कानुनविपरीत कलिलै उमेरमा बिहे हुने र किशोरावस्थामै आमा बन्ने स्थितिले कानुन कार्यान्वयन हुन नसकेको देखिएको अर्का अधिवक्ता ओमप्रकाश अर्याल बताउँछन् । ‘सर्वेक्षणको आंकडाले अपराध भएको देखिएको छ । यस्तो हुन नदिन राज्यले दायित्व बहन गर्नु पर्यो, उनी भन्छन्, शिक्षालाई बाध्यकारी गर्नुपर्ने अवस्था देखिएको छ ।’
मुलुकी अपराध संहिता २०७४ को दफा १७३ मा २० वर्ष नपुगी विवाह गर्न वा गराउन बन्देज लगाइएको छ । उमेर नपुगी भएको विवाह स्वतः बदर हुने र यस्तो कसुर गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर, १४ प्रतिशत विवाहमा यो कानुन लागू भएको देखिँदैन ।
बाल विवाह हुने र सानै उमेर गर्भवती हुँदा त्यसले किशोरीको स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पार्छ । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा। जागेश्वर गौतम १४ प्रतिशत किशोरी गर्भवती हुनुले अहिले पनि सानै उमेरमा बिहे गर्ने र कलिलैमा सन्तान जन्माउने तथ्यलाई उजागर गरेको बताउँछन् । बिहे गर्ने उमेर २० वर्षपछि भने पनि कानुनविपरीत बिहे हुने गरेको छ, उनी भन्छन्, ‘कति समुदायमा परम्पराका नाममा सानैमा बिहे गरिदिने चलन छ । बिहे गरेपछि बच्चा हुने भइहाल्यो । कतिपय त बिहेपछि महिनावारी भएका छन् । कलिलै उमेरमा बच्चा जन्माउँदा आमा र शिशु दुवै स्वस्थ हुँदैनन् ।
सानै उमेरमा गर्भवती हुने र बच्चा पाउँदा आमाको स्वास्थ्यमा मात्र नभई धेरै कुरामा असर पर्ने डा। गौतम बताउँछन् । ‘यो अहिलेको सिनारियो एकदमै डरलाग्दो छ । यहाँ महिला मात्रै गर्भवती भयो भनेर बुझ्नु हुँदैन, उनी भन्छन् ।
सरकारले २० वर्ष नपुगी गरेको बिहेलाई मान्यता नदिने भए पनि गैरकानुनी रूपमा समाजमा बिहे हुने गरेको सर्वेक्षणले देखाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारी बताउँछन् । ‘अझै पनि उमेर नपुगी बिहे हुने ठूलो संख्या रहेको यसले देखाएको छ, उनी भन्छन्, यो डरलाग्दो स्थिति हटाउन बालविवाहविरुद्ध प्राथमिकताका साथ लाग्नुपर्ने देखिन्छ ।’
सामाजिक पाटो
बालविवाहलाई विभिन्न सामाजिक पाटोसँग जोडेर मसिनो गरी केलाएर हेर्नुपर्ने देखिएको बताउँछन्, डा. अधिकारी ।कम उमेरमै बिहे हुनु र गर्भवती हुनुको कारण खोजिनुपर्ने उनको धारणा छ । स्कुले उमेरमै बिहे गर्ने र पढाइ छाड्ने, गर्भवती भइसकेपछि पढ्न नजाने अनि, आयआर्जनमा लाग्नुपर्ने बाध्यताले यो सामाजिक विषय रहेको उनी बताउँछन् । बुबाअमासँग रहँदा जुन शारीरिक र मानसिक वृद्धि हुन्छ, बालविवाहपछि त्यो हुन सक्दैन । उनीहरूले उल्टै घर व्यवहार धान्नुपर्छ । बच्चा स्याहार्नुपर्छ,’ उनी भन्छन् । बालविवाहले परिवार र समाजलाई नै प्रभाव पार्ने डा। अधिकारीको बुझाइ छ ।
आर्थिक अवस्था कमजोर भएकामा धेरै
डा. गौतमका अनुसार, सानैमा बच्चा जन्माउँदा कामकाजी उमेरमा आम्दानीभन्दा घरधन्दामै समय बित्ने गर्छ । पढाइ प्रभावित हुने, गर्भवती हुँदा काममा जान नसक्ने र सानैमा बच्चा जन्माउँदा स्वास्थ्यमा पनि समस्या आउने भएकाले किशोरी आर्थिक रूपमा पनि अप्ठ्यारोमा पर्छन् । ‘गरिब सधैँ गरिबै भइरहने एउटा कारण यो पनि हो,’ उनी भन्छन् । सर्वेक्षणले नेपालमा किशोरावस्थाको गर्भधारण सामान्यतया परिवारको आर्थिक स्तर बढ्दै जाँदा घट्दै गएको देखाएको छ ।
स्वास्थ्यमा असर
किशोरावस्थामा गर्भवती हुनु भनेको स्वास्थ्यको हिसाबले सबैभन्दा खतरा मानिने गरेको डा. अधिकारी बताउँछन् । शारीरिक रूपमा पूर्ण रूपमा तयार नहुँदै आमा बन्दा बच्चा र आमा दुवैलाई जोखिम हुन्छ । कम उमेरको आमाबाट जन्मिने शिशुहरूको वुद्धि विकास कम हुने गरेको उल्लेख गर्दै उनी भन्छन्, जन्मिने र जन्माउने दुवै जनाको स्वास्थ्यमा असर भइरहन्छ । र, पछि आउने पुस्तामा पनि समस्या निम्तिन सक्छ ।’
डा. गौतम पनि सानो उमेरमा बच्चा जन्माउँदा मातृ मृत्युदर बढ्ने सम्भावना बढी रहेको बताउँछन् । ‘गर्भवती भएका बेला हुने रोग पनि धेरै हुन्छ । र, सुत्केरी हुँदा आमाको मृत्यु हुने सम्भावना पनि धेरै हुन्छ, उनी भन्छन्, सानो उमेरमा आमा बन्दा शरीरिक रूपले विकास भइसकेको हुँदैन । बच्चा बस्ने पाठेघर सानो हुन्छ । र, हड्डीको विकास पनि भइसकेको हुँदैन ।’
त्यस्तै, उमेर सानै भएका कारण गर्भावस्थाका बेला लिइने सेवाबारे पनि उनीहरूले कमै जानकारी पाउने गरेको विज्ञहरू बताउँछन् । डा. गौतमका अनुसार, कम उमेर विवाह गर्ने र गर्भवती हुनेहरू दुर्गम क्षेत्र, अशिक्षित र पछाडि परेका समुदायका धेरै हुने भएकाले उनीहरूलाई गर्भ परीक्षणका लागि कहिले जाने, कहाँ जाने, के-के परीक्षण गर्ने, आइरन, क्याल्सियम खानुपर्छ भन्ने थाहा नहुन सक्छ । किनभने ऊ बच्चै छ । कानुनले १८ वर्षभन्दा कम उमेरकासँग शारीरिक सम्पर्क भयो भने त्यसलाई अपराध मानिन्छ,’ उनी भन्छन् ।
बालविवाह र कलिलैमा गर्भवती हुने समस्या अन्त्य गर्न सरकारले धेरै काम गर्न बाँकी रहेको डा। अधिकारी बताउँछन् ।उनी भन्छन्, ‘हामी सबैले सोच्नुपर्ने बेला आएको छ । कानुनी, प्राविधिक र व्यवहारिक हिसाबले हामीले २० वर्ष भनिहरेका छौँ । तर, समाजमा रोक्न सकेका छैनौँ । समाजको त्यो पाटोलाई हेर्नुपर्छ ।’
स्वास्थ्यमा दीर्घकालीन असर
डा. गौतमका अनुसार, महिला आफैँ परिपक्क नभएको अवस्थामा बच्चा जन्माउँदा उसको शरीरका लागि खर्च हुनुपर्ने पौष्टिक तत्व बच्चाका लागि खर्च हुन्छ । र, आमाले पाउँदैन । जसका कारण बच्चा पनि स्वस्थ हुने सम्भावना निकै कम हुन्छ । यसले पछि गएर महिलाको स्वास्थ्यमा धेरै समस्या निम्तिन सक्छ । त्यस्तै, कम उमेरमा यौनसम्पर्क राखेका महिलाको पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुने पनि डा. गौतम बताउँछन् ।
कलिलैमा आमा भएका महिलामा रक्तअल्पता बढी हुने, पाठेघर खस्ने समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । सानोमा जसले बच्चा जन्माउँछ । त्यस्तो महिलाले धेरै बच्चा पाउने सम्भावना उच्च रहन्छ । किनभने त्यस्ता महिलाको प्रजनन अवधि नै लामो हुने हुन्छ’, उनी भन्छन्, ‘२० वर्षदेखि ४९ वर्षको समय अलि कम हुन सक्छ । तर, १५ वर्षबाटै बच्चा पाउन सुरु गरेको छ भने स्वतः उसले धेरै बच्चा जन्माउन सक्छ ।’
शिक्षाको कमी
सानै उमेरमा बिहे गरेको व्यक्तिले पढाइ पूरा गर्न सक्दैनन् । जसका कारण उनीहरू परिवार नियोजनका साधनको प्रयोगबारे पनि कम जानकार हुन्छन् । त्यसले पनि धेरै सन्तान जन्माउने हुनसक्छ । यदि आमा शिक्षित छैन भने उसका बच्चा पनि शिक्षित हुने सम्भावना कम हुन्छ,’ डा. गौतम भन्छन् । उनका अनुसार, घरमा बुबाको शिक्षा कति छ भन्नेले फरक पर्दैन तर, आमा कत्तिको शिक्षित छिन् भन्ने कुराले फरक पर्छ । बालबालिकाको लालनपालनमा आमाको भूमिका ठूलो रहन्छ ।
सर्वेक्षणले शिक्षाको स्तर बढ्दै जाँदा किशोरावस्थाको गर्भधारण पनि घट्दै गएको पनि देखिएको छ । कुनै पनि शिक्षा हासिल नगरेका महिलामा ३३ प्रतिशत छ भने माध्यमिक शिक्षा ९९–१२० हासिल गरेका महिलाहरूमा ८ प्रतिशत देखिएको छ ।
दिगो विकास लक्ष्यमा चुनौती
सरकारले मातृ मृत्युदर घटाउन दिगो विकास लक्ष्य लिएर काम गरिरहेको छ । तर, सर्वेक्षणलाई आधार मान्ने हो भने यसलाई असर गर्ने देखिन्छ । बालविवाहको ठूलो संख्या र सानै उमेर गर्भवतीले हुनेको तथ्यांकले मातृ मृत्युदर कम गर्न गाह्रो पर्ने देखिएको डा. गौतम बताउँछन् ।
टिनएजमा मातृ मृत्यु र शिशु मृत्युदर बढी हुने विभिन्न अध्ययनले देखाएका छन् । दिगो विकास लक्ष्यलाई यो ठूलो च्यालेन्ज हो,’ उनी भन्छन्, ‘यसले त दिगो विकास लक्ष्यलाई जिस्काइरहेको छ ।’ यसरी गर्भवती हुने किशोरीको प्रजनन मात्र नभएर मानसिक, शारीरिक स्वास्थ्यमा असर पर्ने जनस्वास्थ्यविद् डा। शरद वन्त बताउँछन् । उनी भन्छन्, ‘यो जटिल विषय हो । यसले अल्पकालीन र दीर्घकालीन अवस्थालाई देखाएको छ । यसलाई रोक्न अत्यन्तै आवश्यक छ ।’



