बजेटबारे सुझाव सङ्कलन

जुम्ला ः गुठीचौर गाउँपालिकाले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणपूर्व सुझाव सङ्कलन गरेको छ। सर्वदलीय तथा सर्वपक्षीय बैठक बोलाई पालिकाले बजेटसम्बन्धी सुझाव लिएको हो। सुझाव सङ्कलनमा १९० बढी सर्वसाधारणको सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष दानबहादुर बुढाका अनुसार राजनीतिक दलका प्रतिनिधि, टोल विकास समितिका पदाधिकारी, स्थानीय नागरिकलगायत सरोकारवालाले विकास निर्माणसम्बन्धी सुझाव दिएका थिए। स्थानीय रतनवीर नेपालीले गाउँपालिकाबाट अघिल्ला आर्थिक वर्षमा गरिएको कार्यक्रमको समीक्षा गर्नुपर्ने सुझाव दिनुभयो।

राज्यलक्ष्मी गिरीले गाउँपालिकाले नीति तथा कार्यक्रम निर्माण गर्दा कृषि र सहकारीलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले महिला स्वास्थ्य स्वयंसेविकालाई सञ्चार र निःशुल्क बिमा सुविधा दिनुपर्ने सुझाव दिनुभयो। सरकारी शिक्षक तथा कर्मचारीले सामुदायिक विद्यालयमा नै आफ्ना छोराछोरी पढाउनुपर्ने नीति पालिकाले बनाउनुपर्नेमा स्थानीयले जोड दिएका थिए। जगकृष्ण जैसीले बजेट निर्माणपूर्व स्थानीयसँग सुझाव लिने राम्रो कार्यको थालनी भएको बताउनुभयो।

गुठिचौर गाउँपालिका–१ का जितेन्द्र लामाले गुठीचौर–१ र २ वडा दुर्गम र जटिल भौगोलिक क्षेत्र भएकाले भूगोलको आधारमा बजेट विनियोजन हुनुपर्ने माग गर्नुभयो।





error: Content is protected !!