नारायणहिटी दरबारको नाम ‘नारायणहिटी’ नै किन रहन गयो ?

२४० वर्ष लामो राजतन्त्रको इतिहास सँगसँगै आउँछ, नारायणहिटी दरबारको इतिहास । तर, राजतन्त्र जेठो कि नारायणहिटी दरबार रु राजाको दरबार हुनुअघि राणाको दरबार रहेको नारायणहिटीका लागि यो प्रश्नको उत्तर सम्भवतः बहुआयामिक हुन आउँछ, इतिहास जस्तै ।

किनभने विसं १९४२ मा मात्रै राजाहरूको बसोबास हुन थालेको दरबारको इतिहास यदाकदा धेरैलाई थाहा भए पनि नारायणहिटी दरबारको नामको इतिहास भने धेरैलाई थाहा नहुन सक्छ ।

जसले हामीलाई शाहकाल, राणाकाल, मल्लकाल मात्रै नभएर लिच्छविकालसम्मै अवतरण गराउन बाध्य नबनाउँला भन्न सकिन्न ।

हाल संग्रहालय बनेको नारायणहिटी दरबारको नाम ‘नारायणहिटी’ नै किन रहन गयो ?

आज हामी दरबारको होइन, दरबारको नामको इतिहास खोतल्ने क्रममा छौँ ।

नारायणहिटीको नामाकरणको इतिहासको उत्तर हो, संग्रहालयको विपरीत दिशामा रहेका दुई प्राचीन संरचना । पहिलो नारायणको मन्दिर र दोस्रो हिटी ।

यद्यपि आज नारायणहिटी भन्दै गर्दा न त नारायणको मन्दिरलाई याद गरिन्छ न त सँगै रहेको हिटीलाई नै । तर यिनै दुई संरचनाको संयोजनबाट बनेको नारायणहिटी दरबार भने स्वयम् मन्दिर र हिटीभन्दा चर्चित हुन पुगेको छ ।

नारायण मन्दिर र हिटी भएको उक्त दुई संरचनाका आधारमा नै यस दरबारको नाम नारायणहिटी रहन गएकोमा इतिहासविद्हरू एकमत छन् ।

अधिकांशले नारायणहिटी भनेको दरबार मात्रै बुझिदिनाले नारायण मन्दिरले हालसम्म पनि नियमित भक्तजन कमाउन नसकेको नारायण मन्दिरका पुजारी रोहिणीप्रसाद पौडेलको भनाइ छ । जसका कारण हाल मन्दिर सञ्चालन गर्न निकै कठिनाइ भइरहेको उनी बताउँछन् ।

हुन त राजपरिवारले पूजा गर्ने यस नारायण मन्दिरमा आम भक्तजन जान थालेको धेरै समय भएको छैन । यद्यपि राजतन्त्र भइञ्जेल आर्थिक विपन्नता नदेखेको नारायण मन्दिरले त्यसपछि भने मूल्य चुकाउनुपरेको पौडेल बताउँछन् ।

‘राजतन्त्रपछि धेरैको ध्यान नारायणहिटी दरबार संग्रहालयमा मात्र गयो, तर नारायण मन्दिर र हिटीमा भने कसैको ध्यान गएको छैन’, उनी भन्छन्, ‘नारायणहिटी संग्रहालयका पदाधिकारीले पटक(पटक आश्वासन दिए पनि मन्दिरलाई आर्थिक सुविधा नदिएकाले नित्य पूजा सञ्चालन गर्न पनि कठिनाइ भइरहेको छ ।’

नारायण मन्दिरका पुजारी रोहिणीप्रसाद पौडेल
गुठी संस्थानले उपलब्ध गराउँदै आएको मासिक ६ हजारले नै समग्र पूजाआजा र पर्वपूजा टार्न बाध्य भएको पौडेलको भनाइ छ ।त्यसो त शिखर शैलीमा बनेको नारायण मन्दिर एक त्यस्तो मन्दिर हो जहाँ विष्णुको दुर्लभ चर्तुव्यूह मूर्ति रहेको छ । अर्थात् विभिन्न चार दिशामा चार स्वरुप ९वासुदेव, संकर्षण, प्रद्युम्न र अनिरुद्र० एउटै शिलामा कुँदिएको चर्तुव्यूह मूर्ति मन्दिरमा रहेको छ । भनिन्छ, मन्दिरभन्दा पनि पुरानो हो उक्त मूर्ति ।

नारायण मन्दिर कहिले र कसले बनायो भन्ने बारे ठोस प्रमाण नभए पनि गोपालराज वंशावलीमा विष्णुगुप्तले नारायण मन्दिर बनाए भन्ने कुरा उल्लेख भएकाले सो मन्दिर सातौं शताब्दीमा बनेको आँकलन गर्न सकिने त्रिभुवन विश्वविद्यालयकी नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी उपप्राध्यापक डा। सन्ध्या खनालको भनाइ छ । नारायण मन्दिरले तत्कालीन समयको वैष्णव आस्था पनि झल्काउने उनी बताउँछिन् ।

कृष्णजन्माष्टमी र रामनवमीमा यस मन्दिरमा मेला लाग्ने गर्दछ ।

नारायणहिटी
नारायणहिटी र हिटीसँग जोडिएको मानदेवको किवंदन्ती

नारायण मन्दिरको ठीक पारिपट्टी रहेको छ हिटी (धारा) जहाँबाट आजपर्यन्त पनि नारायणको मूर्तिलाई जलाभिषेक गर्नका लागि पानी ल्याइने गरिन्छ । नारायण मूर्तिको मात्रै होइन सुख्खा याममा हिटीले स्थानीयहरूको आँत पनि भिजाउने गरेको पुजारी अर्जुनकुमार क्षेत्री बताउँछन् ।

नारायणहिटीको यस हिटीले यस क्षेत्रको प्राचीनतालाई लिच्छविकालसम्मै खिचेको इतिहासविद् प्रा डा। सुदर्शनराज तिवारी बताउँछन् । उनी भन्छन्, ‘हिटी सभ्यता लिच्छविकालमै समुन्नत भएको हो ।’ हिटीबारे अध्ययन गर्दै आएकी डा। सन्ध्या पनि यसमा सोही मत राख्छिन् । भन्छिन्, ‘नारायणको मूर्ति भन्दा पनि हिटी ९धारा० पुरानो हो ।’

नारायणहिटीमा रहेको मल्लकालीन अभिलेख ।
यद्यपि उक्त हिटीमा कुनै पनि लिच्छविकालीन अभिलेख भने पाइँदैन । हिटीमा रहेको तीन अभिलेखमध्ये एउटा अभिलेख मल्लकालीन समयको हो । नारायणहिटीमा रहेको तीनवटा धारामध्ये बीचको सुनको जलप लगाइएको धारा मल्लकालीन भएको र अन्य छेउछाउका धारा भने लिच्छविकालीन रहेको डा। सन्ध्या बताउँछिन् ।

त्यसो त भाषा वंशावलीमा पनि धर्मागत देवले आफ्ना दरबार नजिकै चतुर्वाहु नारायण स्थापना गरी युग्म जोडी धारा बनाई राखेको वर्णन गरेको सन्ध्या बताउँछिन् ।

उनको भनाइमा काठमाडौं, पाटन र भक्तपुर गरी उपत्यकामा मात्रै हालसम्म (पुरिएकासहित) ६ सयभन्दा बढी हिटी छन् । तर यी कुनै पनि हिटीमा मकर स्वरुप पछाडि फर्किएको पाइँदैन । तर नारायणहिटीको हिटी मात्रै एक त्यस्तो हिटी हो जसमा मकरको स्वरुप पछाडिपट्टि घुम्रेको पाइन्छ ।

घुम्रेको नारायणहिटीको मकर स्वरुप
आखिर नारायणहिटीको मकर स्वरुप किन घुम्रिन गयो ?

यसमा मानदेवसँग जोडिएको कहालीलाग्दो किंवदन्ती प्रचलित छ जसमा हालसम्म इतिहासविद्हरूको एकमत रहेको पाइन्छ ।

किंवदन्तीअनुसार मानदेवका बुवा राजा धर्मदेवका पालामा यति ठूलो खडेरी पर्‍यो कि लामो समयसम्म आकाशबाट पानी वर्षिएन । भएभरका धारा, नदी, मुहान, कुवा सबै सुख्खा भए । यसरी आफ्ना पुर्खाले बनाएका धाराहरू सुकिसकेपछि धर्मदेवलाई सन्ताप पर्‍यो । लोककल्याणका निम्ति पानी ल्याउनु अत्यावश्यक भएकाले अनिष्ट छल्न उनी ज्योतिषीकोमा परामर्श लिन गए । ज्योतिषीले ३२ लक्षणले युक्त व्यक्तिको बली राजकुमारले चढाएपछि मात्रै धाराबाट पानी आउने बताए । ३२ लक्षणले युक्त व्यक्ति राजाबाहेक अरू हुन त्यतिबेला दुर्लभ मानिन्थ्यो ।

उत्तराधिकारीको समस्याले गर्दा धर्मदेवले आफैँ बली चढ्ने निर्णय गरे । त्यसपछि उनले छोरालाई मध्यरातमा धारामा सेतो कपडाले मुख छोपेर बसेको मान्छेलाई केही नहेरी तोकिएको तिथि मितिमा काट्न निर्देशन दिए । आफ्ना बाबुको निर्देशनअनुसार मानदेवले धारामा गएर मान्छे काट्दा आफ्नै बाबु परेको भन्ने किंवदन्ती छ ।

किंवदन्तीअनुसार यसरी बली दिएपछि धाराबाट पानी आउन थाल्यो । त्यही पानीले तरबार पखाल्न जाँदा ‘पितृहत्या गर्नेको मुख पनि हेर्दिनँ’ भनेर धाराले समेत उल्टो मुख लगाएको भन्ने उल्लेख पाइन्छ । जसकारण नारायणहिटीको दुईवटा ढुंगेधाराको मकर स्वरुप पछाडिपट्टि फर्किएको जनश्रुति प्रचलित रहँदै आएको छ ।

किंवदन्तीलाई इतिहासको आधिकारिक स्रोत नमानिए पनि यसलाई गोपालराज वंशावलीसँग जोड्न सकिने डा। सन्ध्या बताउँछिन् । गोपालराज वंशावलीमा समेत अज्ञातेन पिता वधकृत अर्थात् मानदेवले अज्ञानतापूर्वक पिता धर्मदेवको हत्या गरेको भन्ने उल्लेख छ । यता गोपालराज वंशावलीमा यसो भनेर लेखिनु र अर्कोतिर किंवदन्तीमा बावुको हत्या गरिएको प्रसङ्ग आउनाले सो किंवदन्तीलाई इतिहासविद्हरूले हालसम्म भने नकार्न सकेका छैनन् ।

त्यति मात्रै होइन, चाँगुनारायणलगायतका विविध अभिलेखमा हेर्ने हो भने पनि धर्मदेवको अकस्मात् मृत्यु भएको र रानी राज्यवतीको बिलौना बारे पटक /पटक उल्लेख गरिएको हुनाले पनि सो किंवदन्तीलाई अस्वीकार गर्न नसकिएको प्रा। डा। तिवारी बताउँछन् ।

किंवदन्तीलाई आधार मानेर विचार गर्ने हो भने उक्त धारा लिच्छविकालमै टुटी फर्काएर बनाइएको हुन सक्ने खनालको भनाइ छ । काठमाडौं महानगरपालिकाले निकालेको एक पुस्तिका अनुसार नारायणहिटी १५ औं शताब्दीमा बनेको उल्लेख छ ।

नारायणहिटी संग्रहालय
भारदार धोकलसिंह बस्नेतको कीर्तिमन्दिर थियो नारायणहिटी दरबार

हाल रहेको नारायणहिटी संग्रहालय धोकलसिंह बस्नेतको ‘कीर्तिमन्दिर’ रहेको धनव्रज वज्राचार्य र टेकबहादुर श्रेष्ठद्वारा लिखित ‘शाहकालका अभिलेख’मा उल्लेख छ ।

९शक संवत् १७१५० वि।सं १८५० मा धोकलसिंहले राजा रणबहादुर शाहबाट बकस पाएको जग्गामा ‘कीर्तिमन्दिर’ नामक भव्य अनि सुन्दर दरबार बनाएको उल्लेख उक्त अभिलेखमा पाइन्छ ।

इतिहासविद् ज्ञानमणि नेपालका अनुसार धोकलसिंहले युद्धका क्रममा वीरगति प्राप्त गरेपछि सो नारायणहिटीको दरबार भीमसेन थापाले खोसेर भाइ काजी बखतबरसिंह थापालाई दिएका थिए । भीमसेन थापाको मृत्युपश्चात् सो दरबार चौतारिया फत्तेजंग शाहले पाए ।

विसं १९०३ को कोतपर्वमा चौतारिया फत्तेजंग शाह मारिएपछि तत्कालीन श्री ३ जंगबहादुर राणाले शासनसत्ताको कार्यकारी अधिकार आफूले लिए र थापाथली दरबारमा बस्न थाले । त्यसपछि आफ्ना भाइहरूलाई छुट्टाछुट्टै दरबार दिने क्रममा भाइ रणोद्दीप सिंहको भागमा नारायणहिटीको दरबार परेको थियो । पछि उनी सोही दरबारमा मारिए ।

जसको तरबार उसको दरबार भन्ने मूलमन्त्र रहेको उक्त समयमा शासन र सत्ताको मोहमा रणोद्दीपलाई आफ्नै भतिजहरूले मारे । श्री ३ रणोद्दीप सिंहका सन्तान थिएनन् । भनिन्छ, तत्कालीन हनुमान ढोका दरबारमा रहँदै आएका युवराज पृथ्वीवीर विक्रम शाहलाई बचाउन रणोद्दीप सिंहले श्री ३ छँदा नै नारायणहिटीमा सँगै राख्न थालेका थिए । त्यसयता नारायणहिटी राजदरबारको रूपमा स्थापित हुन पुग्यो ।

रणोद्दीपको हत्यापछि श्री ३ वीर शमशेरले कीर्ति मन्दिर भत्काएर अर्को दरबार बनाए । पछि राजा महेन्द्रको पालामा वि।सं। २०२६ सालमा श्री ३ वीर शमशेरले बनाएको उक्त दरबार पनि भत्काएर नयाँ भवन बनाए र नारायणहिटी दरबारले हालको स्वरुप पायो । लोकतान्त्रिक गणतन्त्रमा नेपाल प्रवेश गरेसँगै हाल नारायणहिटी राजदरबार खुल्ला संग्रहालय बनेको छ ।





error: Content is protected !!