प्रधानाध्यापक छान्‍न परीक्षा

रुकुम पश्चिम – चौरजहारी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयमा प्रधानाध्यापक (प्रअ) छान्‍न परीक्षा लिएको छ । नगरपालिकामा रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा प्रअ छनोट भइसकेका छन् । बाँकी विद्यालयका लागि प्रअ छनोट कार्य चलिरहेको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार परीक्षामा ८ जनालाई वैकल्पिक सूचीमा राखिएको छ । उनीहरुलाई अन्य विद्यालयमा जानसक्ने गरी निर्णय भएको उनले बताए । नगरपालिकाले साउन २ गते प्रअ छनोटका लागि सूचना आह्वान गरेको थियो ।

विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रअ छनोट गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । ‘शिक्षकको अनुभव, तालिम, शैक्षिक योग्यता, नेतृत्व क्षमतालाई समेत हेरिएको थियो,’ उनले भने, ‘विद्यालय व्यवस्थापन समितिको सिफारिस हुनुपर्ने मापदण्डलाई पनि तोकिएको थियो ।’

नगरपालिकाले छनोट भएका प्रअलाई २६ गते नियुक्ति दिँदैछ । सबै प्रअलाई ५ वर्षको लागि करार सम्झौता हुने केसीले जानकारी दिए । सम्झौताअनुसार न्यूनतम काम नगरेपछि त्यसलाई बर्खास्तीको बाटो पनि खुल्लै राखिएको छ । प्रअले साविकको प्रअ भत्ताको २ सय प्रतिशत थप भत्ता पाउनेछन् । प्रअ छनोट हुनेहरुमा स्थायी, अस्थायी, राहत तथा करारमा नियुक्त भएकाहरु समेत छन् ।

प्रअले नगरपालिकासित पहिलो चरणमा एक वर्षको करार सम्झौता गर्नेछन् । एक महिना, तीन महिना र १ वर्षमा गर्नुपर्ने काम उक्त सम्झौतामा उल्लेख हुने छ । हरेक एक महिना, तीन महिना र १२ महिनामा गर्नुपर्ने काम नगरेको खण्डमा प्रअबाट हट्नुपर्ने र उल्टै ५ हजार जरीवाना तिर्नुपर्ने छ । विभिन्‍न मापदण्डको आधारमा नगरपालिकाले प्रअको कामको मूल्याकन गर्ने छ । मूल्यांकनमा कम्तिमा ५० अंक ल्याउनुपर्ने छ ।

मूल्यांकनको आधारमा ८० प्रतिशत बढी नतिजा ल्याउने प्रअलाई ५० प्रतिशत भत्ता थप हुने छ । नगर शिक्षा नियमावली–२०७४ को दोस्रो संशोधन २०७७ अनुसार प्रअ नियुक्तिको प्रक्रिया अघि बढाइएको नगरप्रमुख विशाल शर्माले बताए । नगर शिक्षा ऐन अनुसार प्रअ छनोट गरिएको भन्दै उनले संघीय शिक्षा ऐन अनुसार मापदण्डका आधारमा प्रअको परीक्षा बनाइएको जानकारी दिए ।

नेपाली कांग्रेस चौरजहारी नगर समिति, केही शिक्षकका पोशागत संघ संगठनले भने चौरजहारीले नियमविपरीत प्रअ नियुक्तिको प्रक्रिया अघि बढाएकाले रोक्नुपर्ने माग गरेका छन् ।





error: Content is protected !!