खुर्सानीले बजार मुल्य नपाउँदा कृषक मारमा

सुशीला रेग्मी

रामपुर (पाल्पा), ५ भदौ ः बगनासकाली गाउँपालिका १ माडीफाँट बस्ने कृषक एकदेव पाण्डेय खुर्सानीले बजार नपाउँदा समस्यामा पर्नुभएको छ । खुर्सानी बेचेर रु दुई लाख भन्दा बढी आम्दानी हुने अनुमान गरिएपनि यस पटक बजार भाउ मुल्य नहुदा लागत मुल्य नै नउठ्ने गरी बिक्रि गर्नु परेको उहाँ गुनासो गर्नुहुन्छ ।

“खुर्सानीका बोट र उत्पादन राम्रै थियो, बजारमा बिक्रि गर्न खोज्दा अघिल्लो वर्षको तुलनामा आधा पनि मुल्य पाउन सकिएन, कतिपय खुर्सानी बजार नपाएर बोटमै पनि कुहेर गयो” पाण्डेयले भन्नुभयो ।

उहाँले करिव साढे दुई रोपनी जग्गामा खुर्सानी लगाउनुभएको छ । अघिल्लो वर्ष प्रतिकिलो रु ९० देखि एक सयमा खुर्सानी बिक्रि गर्नुभएका पाण्डेयले यस पटक मुस्किलले रु २० देखि २५ मा बेच्नु पर्दा कृषकलाई सित्तैमा बेच्नु सरह जस्तै भएको बताउनुहुन्छ ।

खुर्सानीले बजार नपाउँदा खेती गर्ने उत्साह नै हराउँदै गएको बगनासकाली वडा नं १ चिलाङ्दीका कपिल ढुंगाना बताउनुहुन्छ । उहाँले दुई वर्ष अघि देखि दुई रोपनीमा खुर्सानी खेती गर्दै आउनुभएको छ ।

बगनासकाली गाउँपालिकाले वडा नं १ चिर्तुङ्गधारा क्षेत्रमा खुर्सानीको पकेट क्षेत्र बिस्तार कार्यक्रम सुरु गरेको छ । यहाँका ९० जना कृषक यस व्यवसायमा आबद्ध छन् भने करिव ६० रोपनी क्षेत्रफलमा खुर्सानी लगाइएको छ ।

गतवर्ष गाउँपालिकाले खुर्सानी खेती बिस्तार कार्यक्रमका लागि प्राङ्गारिक मल, वीउ, मल्चिङ्ग प्रबिधि सहयोग गरेको कृषि शाखा प्रमुख राजेश बोहराले जानकारी दिनुभयो ।

माथागढी गाउँपालिकाको वडा नं ४ झडेवा क्षेत्रमा छ वटा समुहमा व्यवसायीक रुपमा नै खुर्सानी खेती थालिएको छ । गतवर्ष देखि गाउँपालिकाले यो क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा बिस्तार गर्ने गरी कार्यक्रम संचालन गरिएको छ ।

गाउँपालिकाले गत वर्षमा रु दुई लाख वजेटबाट कृषकलाई जैविक मल, खुर्सानीका वीउ वितरण गरिएको र यसवर्ष खुर्सानी पकेट क्षेत्र विस्तार कार्यक्रमका लागि रु एक लाख रकम विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।

यहाँ करिव ६० रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको छ भने यस खेतीमा एक सय कृषक आबद्ध रहेको कृषि शाखा प्रमुख सीता खाम्चा मगरले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकामा यस पटक पकेट क्षेत्र कार्यक्रम अन्र्तगत लगाइएको खुर्सानी करिव ३५ हजार किलो उत्पादन भइसकेको छ । बजार मुल्य नहुदा अघिल्लो वर्षको तुलनामा आधा भन्दा कम मुल्य नै घटाएर बिक्रि गर्न कृषक बाध्य बनेका छन् ।

रामपुर नगरपालिकाको वडा नं ७ मा व्यवसायीक तवरले कृषकले खुर्सानी खेती सुरु गरेका छन् । नगरका सबैजसो वडामा खुर्सानी खेती गरेर मनग्य आम्दानी लिन सकिने भएपनि बजारको समस्या हुदा कृषकले ठुलो क्षेत्रफलमा खुर्सानी खेती सुरु गर्न नसकेको कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउनुुहुन्छ ।

पाल्पा जिल्लामा ६१ हेक्टर क्षेत्रफलमा खुर्सानी खेती गरिदै आइएको छ । वार्षिक उत्पादन पाँच सय ३९ रहेको छ भने उत्पादकत्व ७.८१ रहेको छ ।

जिल्लाको बगनासकाली, माथागढी क्षेत्रमा व्यवसायीक रुपमा खुर्सानी खेतीको सुरुवात भएको कृषि ज्ञानकेन्द्र पाल्पाका बागवानी विकास अधिकृत सन्तोष पाठकले बताउनुभयो । थोरै जग्गामा खुर्सानी लगाएर आयस्रोत लिन सकिने भएपछि कृषकले अन्य खेतीसंगै यसको सुरुवात गरेको उहाँ बताउनुहुन्छ ।

कोरोनाको कहरका कारण होटल व्यवसाय तथा व्यापार, पसल, बजार बन्द हुदा खुर्सानी लगाएर राम्रो कमाई गर्ने मनसाय बोकेका कृषकहरु भने बिक्रि गर्ने माध्यम नहुदा समस्यामा परेको कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।

“खुर्सानीलाई सुकाएर मेसिनबाट प्रशोधन गरी पाउडर बनाएर प्याकिङ्ग गरी बजारमा लैजाने सकिने हुदा कृषकलाई तालिम र प्रबिधिको सहयोग आवश्यक रहेको छ र त्यसको लागि कृषकबाट माग आएको खण्डमा कार्यालयले कार्यक्रम संचालन गर्नेछ” प्रमुख अर्यालले भन्नुभयो ।

तरकारी खेतस् संग संगै धेरेजसो कृषकले खुर्सानी खेती गर्ने गरेको पाइएको छ । जिल्लामा दुई हजार एक सय २७ हेक्टर क्षेत्रफलमा तरकारी लगाइने गरिएको छ । वार्षिक उत्पादन ३४ हजार एक सय ६३ मेट्रिकटन रहेको छ भने उत्पादकत्व १६ मेट्रिकटन छ ।





error: Content is protected !!