श्राद्धभन्दा छोरीको भोक मेटाउनु ठूलो’

पोखरा — परिवारका सबैले धर्म परिवर्तन गरेपछि पर्वत भुकताङ्लेका राजन क्षेत्रीले आफ्ना जेठाबाको श्राद्ध गर्दै आएका थिए। यस वर्ष गत बुधबार श्राद्धको तिथि थियो। उनले कपाल मात्रै खौरिए।

न पूजा लगाए, न दान दक्षिणा दिन सके। छाक टार्न गाह्रो भएको बेला विधि पुर्‍याएर जेठाबाको श्राद्ध गर्न सकेनन्। पोखरा नागढुंगामा भाडामा बस्दै आएका उनी दैनिक ज्यालामा मजदुरी गर्छन्। लकडाउनले निर्माणको काम ठप्प छ। ठेकेदार सम्पर्कविहीन छन्।

न साथमा खर्च छ, न घर फर्कन सकेका छन्। श्राद्ध गर्न ५ सय रुपैयाँ नछुट्याएका होइनन्। श्रीमतीको काखमा १० महिनाकी छोरी रोइरहेको देखेर मन कटक्क खायो। नजिकैको पसलबाट दूध किनेर ल्याए। ‘अहिलेलाई यस्तै भयो, अर्को वर्ष विधि पुर्‍याएर गरौंला,’ उनले भने, ‘श्राद्धभन्दा छोरीको भोक मेटाउनु ठूलो कुरा भयो।’

लकडाउन चाँडै खुल्ला भन्ने आसले गाडी चल्दासम्म घर गएनन्। लकडाउनमा काखेछोरी च्यापेर श्रीमती मनिकासँगै हिँड्न सम्भव देखेनन्। पर्वतको मोदी गाउँपालिकामा रहेको घर पनि विरानो भइसकेको उनी बताउँछन्। ‘सानैमा आमा बितेपछि बुबाले अर्की ल्याए,’ टाउकोमा बुबाले पिटेर बनेका घाउका खत देखाउँदै उनले भने, ‘त्यसपछि मलाई देखिसहन्नन्। को भनेर जाने’

कोठा नजिकै चिनेको किराना पसलबाट आवश्यक सामान उधारो ल्याइरहेका थिए। किराना पसले घर गएपछि सामान ल्याउन बन्द भयो। एक साताअघि ग्यास सकियो। बजारमा दाउरा ल्याउने उपाय थिएन। कोठामा एउटा पुरानो खाट थियो। उनले त्यही खाटलाई काटकुट पारे। दाउरा बनाएर आगो बाले। ‘कहिलेकाहीँ परपाहुना आउँदा सुताउने खाट थियो,’ उनले भने, ‘पहिला आफैं बाँच्नुपर्‍यो। पछि कमाइएछ भने जोडौंला।’

उनको पीडा सुनेपछि अमेरिकामा रहेकी समाजसेवी सरिता गुरुङले मन थाम्न सकिनन्। ०७२ को भूकम्पपछि थुप्रै भूकम्पपीडितको घर बनाइदिएकी उनले राजनको परिवारलाई सहयोग गर्ने मन गरिन्। उनले शुक्रबार कान्तिपुरमार्फत सहयोग पठाइन्। राजनको कोठामा ग्यासको जोहो भयो। चामल, दाल, नुन, तेल, खुर्सानी, मसला, चिनी, चियापत्ती, चना, मस्यौरा लगायत खाद्य सामग्री जुट्यो।सहयोग पाएर राजन मुस्कुराए। मनिकाका आँखा रसाए। छोरीको कपाल मुसार्दै उनले भनिन्, ‘अब महिना दिन कसो नचल्ला र,?





error: Content is protected !!