भर्जिन’ कर्णाली चिनाउने अवसर

गोविन्द खत्री
सुर्खेत । पर्यटकीय हिसाबले ‘भर्जिन’ मानिन्छ कर्णाली प्रदेश । अझैसम्म पर्याप्त प्रचारप्रसारमा नआएका तथा पर्यटक नपुगेका ठाउँलाई ‘भर्जिन’ ठाउँका रुपमा बोलिचालीको भाषामा प्रयोग गर्ने गरिएको छ । कर्णाली प्रदेशमा थुप्रै पर्यटकीय क्षेत्र छन्, जसको प्रचार प्रसार भएको छैन भने अझैसम्म पनि पर्यटकलाई पु(याउन सकिएको छैन ।
संघीय राजधानी काठमाडौँबाट टाढा रहेको कर्णालीमा यातायात लगायतका सुविधा सहज नहुँदा पर्यटक पु(याउन सकिएको थिएन । प्रदेश सरकार गठन भएपछि भने कर्णालीमा पर्यटक भित्र्याउने योजना बन्न थालेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुरुप २०७५ साललाई ‘रारा पर्यटन वर्ष’ को रुपमा कर्णालीले मनाएको छ । यस्तै भर्जिन ल्याण्ड कर्णालीलाई विश्व सामु चिनाउने अवसरका रुपमा लिइएको छ ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई । पर्यटनबाटै कर्णाली प्रदेशको समृद्धि देखेको प्रदेश सरकारले पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारका लागि नीति, कार्यक्रम र बजेटमा विशेष महत्व दिएको छ । संघीय सरकारले घोषणा गरेको भ्रमण वर्षको तयारीका साथसाथै कर्णालीलाई विश्वसामु चिनाउने योजनाका साथ प्रदेश सरकार अगाडि बढेको छ ।
प्राकृतिक, सांस्कृतिक एवं धार्मिक सम्पदाका हिसाबले भरिपूर्ण कर्णाली प्रदेशले पर्यटकसामु चिनाउने अवसरका रुपमा भ्रमण वर्षलाई लिने योजना बनाएको हो । कर्णाली प्रदेशमा पर्यटक भित्र्याउनका लागि प्रदेशमा विभिन्न योजनाका साथ लागिएको छ । योजना स्वरुप पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासका लागि प्रदेश सरकारले १०१ पर्यटकीय क्षेत्र घोषणा गरी अगाडि बढेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिसका आधारमा प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको हो ।


मन्त्रालयले प्रदेशका ७९ र संघीय सरकारले घोषणा गरेका १७ गरी १०१ गन्तव्यको पूर्वाधार विकासका साथै प्रवद्र्धनात्मक क्रियाकलापमा जोड दिएको छ । यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउका लागि ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन् । छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्ये २० वटा स्थानलाई अन्तर्राष्ट्रिय र २० वटालाई राष्ट्रिय रुपमा चिनाउने सरकारको लक्ष्य छ ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले प्रदेशका महत्वपूर्ण पर्यटकीय स्थललाई अन्तर्राष्ट्रिय महत्वको पर्यटकीय गन्तव्यका रुपमा छनौट गरिएको बताए । नेपाल भ्रमण वर्ष २०२० का लागि छनोट भएका कर्णालीका ४० पर्यटकीय गन्तव्यहरूमा हुम्लाको लिमी उपत्यका र खार्पुनाथ सिमिकोट, मुगुको राराताल र छाँयानाथ, जुम्लाको चन्दननाथ, गुठिचौर पातारासी र सिँजा उपत्यका, कालिकोटको पचाल झरना, चुलीमालिका, कोटदरबार पिली र मान्म बजार छन् । त्यस्तै, दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल र पञ्चपुरी सर्किट, सल्यानको कुपिण्डे दह र छायाँनाथ तथा खैरावाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल र स्यार्पुताल मुसीकोट दरबार र डिग्रेमाई मन्दिर, जाजरकोटको भेरी मन्दिर, डोल्पाको माथिल्लो डोल्पा, से फोक्सुण्डो ताल र त्रिपुरासुन्दरी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा राखिएका छन् ।


नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार तथा कर्णालीको पर्यटन प्रवद्र्धनका लागि वन पर्यटन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रदेश समिति समेत गठन गरिएको छ । जसको प्रचार प्रसारका लागि कार्यालय काठमाडौंमा खोलिने तथा लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रुपमा तोकिएको कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए ।
आर्थिक वर्ष २०७६(७७ मा महत्वपूर्ण ३८ गन्तव्यको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको छ भने यस्तै चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रदेश पर्यटन बोर्डको गठन गर्ने कुरा समावेश गरिएको छ ।

पहुँचमार्ग भएका ठाउँमा बढ्दै पर्यटक
आन्तरिक पर्यटकको सामु चिनिँदै गएका कर्णाली गन्तव्यमा आउन जो कोही लालायित हुने गर्दछन् । तर पर्यटकका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ पर्यटकीय क्षेत्रसम्म सहजै पुग्ने माध्यम । अधिकांश गन्तव्यमा पुग्नका लागि सडक र हवाई मार्गबाट सहज छैन । सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल पर्यटन विकासका लागि सुर्खेतमा ठूला जहाज अवतरण हुनसक्ने एयरपोर्ट हुनुपर्ने बताउँछन् । पर्यटनबाटै कर्णालीको समृद्धि सम्भव भएको भन्दै त्यसका लागि काठमाडौँ–सुर्खेत सिधा हवाई उडान सहज हुनुपर्नेमा उनको जोड छ । पहुँच मार्ग भएका ठाउँमा आउने पर्यटकको संख्या भने बढ्दै गएको छ । सडक र हवाई माध्य दुबैबाट पुग्न सकिने भएपछि रारा तालमा पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । पछिल्लो समय नाग्मा, सिञ्जाको गोठिज्यूला र मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक र हवाई यातायात सञ्जालको राम्रो पहुँच हुँदा रारामा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो ।
कर्णाली प्रदेशले २०७५ लाई पर्यटन वर्ष घोषणा गरेपछि बाह्य तथा आन्तरिक गरी १५ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । रारा आउने पर्यटक सडक र हवाई मार्गबाट आउँछन् । सुर्खेतबाट मुगुको झ्यारी सल्लेरीसम्म गाडीमा र त्यहाँबाट आधा घण्टा घोडामा चढेर रारा ताल पुगिन्छ । प्रदेशको राजधानी सुर्खेतबाट निजी सवारीसाधनको प्रयोग गरेर करिब डेढ दिनमा रारामा पुग्न सकिन्छ ।
यस्तै पहुँच मार्गका कारण पर्यटकको संख्या बढेको अर्को ठाउँ हो सल्यानको कुपिण्डे दह । दह हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् । केही वर्षयता कुपिण्डेमा घुम्न आउने पर्यटकको संख्या ह्वात्तै बढेको छ । चारैतिर पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे तालले त्यहाँ पुग्ने जो कोहीलाई पनि मोहित बनाउने पर्यटकको भनाइ छ । वरिपरि मिलेका पहाड, हरियो जंगल र बीचमा नीलो आकाशझैं उत्तर दक्षिण फैलिएको ताल प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक उत्कृष्ट स्थल पनि हो । झट्ट हेर्दा नेपालको नक्सा आकारको देखिने यस तालको न त देखिने मुहान छ, न त पानी बाहिरिने निकास नै छ । कुपिण्डेबाट चाखुरे, सिस्ने लगायतका हिमश्रृंखला हेर्न सकिन्छ ।


यस्तै सुर्खेत वीरेन्द्रनगरमा अवस्थित देउती बज्यै र काँक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्रमा पनि पर्यटक बढेका छन् । अन्य पर्यटकीय क्षेत्र हुन्– मदन–आश्रित पार्क, गिद्धेडाँडा, जाजुरा दह, गुप्ती मादले गुफा र शिव गुफा । दोस्रो लुम्बिनीका नामले चिनिने काँक्रेविहार वीरेन्द्रनगरदेखि करिब दुई किलोमिटर टाढा रहेको छ । त्यस्तै वीरेन्द्रनगरको प्रवेशद्वार नजिकै देउती बज्यैको मन्दिर छ । अन्य क्षेत्र भने पश्चिम क्षेत्रमा पर्दछन् । सुर्खेतदेखि बस यात्रामा साढे तीन घन्टामा दैलेखको रानीमत्ता गुराँसे लेक हुँदै सदरमुकाम पुग्न सकिन्छ । दैलेख बजार पुगेपछि कोतगढी–पञ्चदेवल–बेलासपुर–महाबु र पञ्चकोसी धार्मिक पर्यटन विकास ९पञ्चकोसी ज्वाला क्षेत्र छनोट गर्न सकिन्छ ।

पर्यटनको माध्यमबाट समृृद्ध प्रदेश बनाउने सपना देखेको कर्णाली प्रदेशले भ्रमण वर्षलाई भर्जिन कर्णालीलाई चिनाउने अवसरका रुपमा लिन सक्नुपर्दछ । यसका लागि विगतमा काठमाडौँको नजरमा नपरेको कर्णालीलाई प्रदेश सरकारले विशेष योजना बनाई काम गर्न आवश्यक देखिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!