विपन्न साठी परिवारलाई बाख्रा वितरण

सुर्खेत, बराहताल गाउँपालिका वडा नं. ७ का विपन्न ६० परिवारलाई निःशुल्क बाख्रा वितरण गरिएको छ ।
वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्वारा सञ्चालित साझा आवाज कार्यक्रमले संयुक्त रुपमा बाख्रा वितरण गरेका हुन् ।

गरिवी निवारण गर्नका लागि वडाका विपन्न एवं दलित परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष कुलबहादुर बुचाले जानकारी दिए । अध्यक्ष बुचाका अनुसार प्रत्येक परिवारलाई दुई–दुई वटा माउ बाख्रागरी एक सय २० वटा बाख्रा वितरण गरिएको छ । जसका लागि वडा कार्यालयको पाँच लाख र साझा आवाजको चार लाखगरी नौ लाख रुपैँया बराबरका बाख्रा वितरण गरिएको बुचाले जानकारी दिए । बाख्रा पाउनेमा वडाभित्रका ४५ घर परिवार दलित र १५ परिवार जनजाति रहेका छन् । बाख्रा वितरण गर्दा अति विपन्न दलित, जनजाति एवं एकल महिलालाई प्राथमिकता दिइएको वडा अध्यक्ष बुचाले बताए । बाख्रा पालनका लागि प्रयाप्त आहारा तथा हावापानी रहेकोले साझा आवाजसंगको सहकार्यमा गरिवी निवारणको उत्तम विकल्पका रुपमा बाख्रा पालनलाई लिइएको उनको भनाइ छ । ‘हामीले गरिवी निवारणका लागि बाख्रा पालन नै उपयुक्त हुने ठानेका थियौँ’ अध्यक्ष बुचाले भने,‘साझा आवाज कार्यक्रमले पनि सहकार्यगरेपछि बाख्रा पालनका लागि उपयुक्त ठानेर वितरण गरेका हौँ ।’
वडालाई नै बाख्रा पालनको नमूना ‘हब’ बनाउने उद्देश्य अनुसार वडाले आगामी बर्षमा पनि बाख्रा पालनलाई प्राथमिकता दिने भएको छ । यस बर्ष बाख्रा लिएका कृषकहरुसंग वडाले २०७७ साल जेठ महिना भित्र एउटा पाठो वा पाठी वडालाई फिर्ता गर्नुपर्नेगरी सम्झौता गरेको छ । सबै किसानलाई बाख्रा वितरण गर्नका लागि यस बर्ष दुई वटा बाख्रा लिएका किसानहरुलाई एक बर्षभित्रमा त्यसले उत्पादन गरेको एउटा सन्तान वडालाई फिर्ता गर्नुपर्ने नियम बनाएको अध्यक्ष बुचाको भनाइ छ । बाख्रा वितरण गर्नुअघि कृषकहरुलाई बाख्रा पालनसम्बन्धी अभिमूखीकरण समेत गरिएको वडाका पशु प्राविधिक भूवन भारतीले जानकारी दिए । उनका अनुसार वितरण गरिएका बाख्रालाई भिटामिन तथा जुकाको औषधी समेत वितरण गरिएको छ । बाख्रा पालन समूह गठनगरी आगमी दिनमा पशु विमाको कार्यक्रम समेत ल्याउने योजना रहेको उनले बताए । वडाबाट बाख्रा पाएपछि खुशी हुँदै निर्मला नेपालीले यसले आफ्नो आर्थिक सुधार हुने आशा रहेको बताइन् । वडाले दिएको दुईवटा बाख्राबाट संख्या बृद्धि गर्दै आगामी दिनमा राम्रो आम्दानी लिने उनले बताइन् ।
४१ परिवारलाई यसअघि बाख्रा वितरण गरिएकोमा बाँकी रहेका १९ परिवारलाई बिहीबार एक कार्यक्रमकाबीच वितरण गरिएको छ । औपचारिक रुपमा बाख्रा वितरणपछि बोल्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले बराहताल गाउँपालिकामा पशु पालनका लागि राम्रो संभावना भएको बताउँदै पालिकाले पशुपालनका कार्यक्रमलाई प्राथमिकता दिएको बताए । अध्यक्ष बस्नेतले बाख्रा पाएका परिवारहरु मिलेर बाख्रा पालन समूह बनाइ पालिकामा दर्ता भएमा आगामी दिनमा थप सहयोग गर्न सकिने बताए । उनले यसको उपलब्धीलाई हेरेर आगामी बर्ष अन्य वडाहरुमा पनि यस्तै प्रकारको कार्यक्रम सञ्चालन गर्ने बताए । कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका केन्द्री उपाध्यक्ष जोगेन्द्र विश्वकर्माले सानो सहयोगभएपनि यसले आर्थिक उपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले दलित तथा विपन्न वर्गको जीवनस्तर उकास्नका लागि स्थानीय सरकारहरुले आय–आर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । सुर्खेतका अध्यक्ष रुद्र कार्कीले बाख्रा वितरणले गरिवी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साझा आवाज कार्यक्रमका जिल्ला संयोजक इन्द्र विश्वकर्माले बाख्रा पालनलाई दिगो र व्यवसायिक बनाउका लागि निरन्तर अनुगमन, मूल्यांकन तथा सहयोग गर्ने बताए ।





error: Content is protected !!