कठिन बन्दै अन्तरिक्ष यात्रा ः सय वर्षपछि कोही पुग्न सक्दैनन्

विश्वभर अहिले अन्तरिक्षको विषयमा विभिन्न किसिमका खोज तथा अनुसन्धान भइरहेका छन् । मानव सभ्यताका लागि १९ अक्टोबर सन् १९५७ निकै महत्त्वपूर्ण दिन थियो । यो दिन सोभियत संघले पहिलो कृत्रिम उपग्रह स्पुतनिक–१ को सफलतापूर्वक प्रक्षेपण गरेको थियो । त्यो दिनदेखि अहिलेसम्म २ हजारभन्दा बढी उपग्रह पृथ्वीको कक्षमा छाडिसकिएका छन् । अहिले मानिसको जीवनलाई सहज बनाउने दूरसञ्चार, रेडियो, टेलिभिजन, इन्टरनेटलगायत सबै सेवा स्याटेलाइटको कारणबाटै काम गर्न सक्छन् ।

अहिले प्रत्येक २ देखि ३ महीनामा कुनै न कुनै मुलुकले आफ्नो उपग्रह छाड्ने गरेका छन् । तर यसरी छाडिने यी उपग्रहबाट एक खतरा पनि उत्पन्न भइरहेको छ । यसबारे धेरैले ध्यान त दिइरहेका छन् । तर प्रभावकारी कदम भने कसैले पनि चालेका छैनन् । यो समस्या अन्तरिक्षमा बढ्दो क्रममा रहेको फोहोरको हो ।

यदि अहिलेको हिसाबमा अन्तरिक्षमा फोहोर बढ्दै गएको खण्डमा भविष्यमा न कुनै स्याटेलाइट रहन्छ, न त कुनै स्पेस स्टेशन बाँकी रहन्छ । यसको अर्थ त्यतिबेला हामी न इन्टरनेटको प्रयोग गर्न सक्छौं, न त कुनै दूरसञ्चार उपकरणको प्रयोग गर्न सक्छौं । पृथ्वीको तस्वीर निकै आकर्षक देखाइन्छ । वास्तवमा भने अन्तरिक्षबाट पृथ्वी त्यति सफा र आकर्षण देखिँदैन । पृथ्वीको कक्षमा घुमिरहेका स्याटेलाइट तथा अन्य फोहोरको कारण पृथ्वी फोहोरको बीचमा लुकेको जस्तो देखिन्छ ।

यस किसिमका फोहोर पृथ्वीको कक्षमा आउने धेरै किसिमका तरिका छन् । त्यसमध्ये एक तरिका यसको प्रक्षेपणको क्रममा आउने फोहोर हुन् । स्याटेलाइट प्रक्षेपण रकेटमार्फत गरिन्छ । तर निश्चित स्थानमा पुगेपछि स्याटेलाइट रकेटबाट छुटिन्छ र उक्त बाँकी भाग अन्तरिक्ष फोहोरको रूपमा त्यहीँ घुमिरहन्छ ।

अन्तरिक्ष फोहोरको दोस्रो कारण स्याटेलाइट नै हो । स्याटेलाइनको निश्चित समय तोकिएको हुन्छ । सो समयपछि स्याटेलाइटको मेशिनले काम गर्न छाड्छ । यस्तोमा उक्त स्याटेलाइट वैज्ञानिक नियन्त्रणभन्दा बाहिर जान्छन् र अन्तरिक्ष फोहोरका रूपमा रहन्छन् ।

तेस्रो कारण बक्स स्याटेलाइट हो । यसको प्रयोग अन्तरराष्ट्रिय स्पेस स्टेसनमा सामान पठाउन गर्ने गरिन्छ । तर त्यसपछि वैज्ञानिकको नियन्त्रणभन्दा बाहिर पुग्छ र अन्तरिक्ष फोहोरको रूपमा पृथ्वीको वरिपरि घुम्न थाल्छ ।

अर्को कारण दुई अन्तरिक्ष फोहोरबीचको ठक्करबाट निस्किने फोहोर । अन्तरिक्ष फोहोरको कुनै दिशा हुँदैन र घुम्दै जाँदा अर्को अन्तरिक्ष फोहोरसँग ठोक्किन पनि सक्छन्, जसबाट अनेकौं टुक्रामा यी फोहोर विभाजित हुन्छन् ।

एक अध्ययनका अनुसार अहिले पृथ्वीको कक्षमा ६ सयको हाराहारीमा काम गरिरहेका स्याटेलाइट छन् । यी स्याटेलाइट १५ सय नष्ट भइसकेका वा काम नलाग्ने अवस्थामा रहेका स्याटेलाइटबाट घेरिएका छन् । कुनै पनि नियन्त्रण नरहेका यी स्याटेलाइटले चलिरहेको स्याटेलाइटलाई ध्वस्त पनि गर्न सक्छ । प्रतिवेदनका अनुसार १ वर्षमा यस किसिमका अन्तरिक्ष फोहोरसँग ठोक्किएर एउटा चलिरहेको स्याटेलाइट ध्वस्त हुने गरेको छ । यहाँ दुई वस्तुबीचको औसत दूरी केवल १ सय ९० किलोमिटर छ ।

अहिले पृथ्वीको कक्षमा २ हजारभन्दा बढी स्याटेलाइट छन् र यिनीहरूलाई ५ लाखभन्दा बढी ठूला र साना अन्तरिक्ष फोहोरले घेरेर राखेका छन् । यिनीहरू चालू स्याटेलाइटमा ठोक्किएको खण्डमा मानिसको सञ्चार र सुरक्षाका साथै एक युद्धजस्तो परिस्थिति आउन सक्ने विश्लेषकले चेतावनी दिँदै आएका छन् । यस्तो भए कुनै पनि मुलुक आफ्नो शत्रुराष्ट्रमाथि आरोप थोपर्ने गर्छन् ।

सन् २०१४ मा स्पेस स्टेशनलाई अन्तरिक्ष फोहोरबाट बचाउन आफ्नो स्थानबाट ३ पटक हटाउनु परेको थियो । पछिल्लो समय अन्तरिक्ष फोहोरबाट पार पाउन विश्वका प्रमुख मुलुकहरू एकसाथ काम गरिरहेका छन् । त्यसका लागि केही महŒवपूर्ण योजनाको बारेमा पनि चर्चा चलिरहेको छ ।

अहिलेको गतिमा अन्तरिक्ष फोहोर बढेमा आगामी १ सय वर्षमा यस किसिमका फोहोरले पूर्णरूपमा पृथ्वीलाई ढाक्नेछ । त्यसपछि कुनै स्याटेलाइट वा कुनै पनि चन्द्रमा र मंगलका लागि जाने रकेट पनि पठाउन सकिँदैन ।





error: Content is protected !!