एक गाग्री पानी ल्याउन ३ घण्टा

त्रिवेणी नलगाड नगरपालिका ४, प्यारगाराकी सुशीला सार्कीलाई १ गाग्री पानी ल्याउन दैनिका ६ घण्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई ३ घण्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपाया लगायतको पनि एक मात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।
‘गाउँ नजिक पानीको कुनै स्रोत छैन । २ घण्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दु:ख पाउँदै आएका छौं,’ स्थानीय तिलबहादुर सार्कीले भने, ‘पिउने पानीका लागि कुनै नेता र संघसंस्थाले वास्ता गरेका छैनन् ।’ यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तँछाडमछाड हुने गरेको उनले बताए ।
नगरपालिकामा आफ्नो समस्या सुन्ने कोही नभएको उनले बताए । ‘माथिल्ला वर्ग, हुनेखाने र पहुँचवालाकै कुरा सुनुवाइ हुन्छ । हामी दलितको कुरा कसले सुन्छ र ?,’ सार्कीले भने । पशु चौपाया र जंगली जनावरले पनि यही नाउलामै पिउने गर्दा पानी दूषित हुने गरेको उनले बताए । वर्षातको समयमा आकाशे पानीको संकलन गरेर खाने गरेको पनि उनले बताए । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चन्छन्,’ उनले भने ।
३ हजार मिटरको उचाइमा रहेको प्यारगारा फुलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नव आगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए । गाउँ बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जंगलमा खुला शौच गर्न बाध्य भएको उनले बताए । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेको उनले बताए । जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौं खर्च गर्ने गरे पनि प्यारगारा, फुलचाउलीलगायत बस्ती भने सधैं काकाकुल छ ।








