मोटाइने डरले भात कम खान्छु

 मलाई मोटाइन्छ कि भन्ने डर लाग्छ । त्यसैले भात निकै कम खान्छु । होटेल, रेस्टुरेन्टका खानाभन्दा घरमा आफैँले पकाएको मीठो लाग्छ । म प्रायः साँझमा खाना खादिनँ । हल्का खानेकुरा खाएर सुत्छु । खानामा मलाई थोरै भात, दाल, गोलभेँडाको अचार, दही निकै मन पर्छ । रोटी पनि प्रायः खाने गरेकी हुन्छु । मलाई ग्रिन सलाद निकै पर्छ । प्रायः सलादमै जोड दिने गर्छु ।

कहिलेकाहिँ साथीभाइसँग रेस्टुरेन्टमा गएर खाने पनि गरेकी छु । प्रायःजसो त सुटिङकै खाना खाइन्छ । सुटिङ नपर्दा भने म घरमै आफँै पकाएर खान्छु । कहिलेकाहिँ दिदीहरूले पकाउनुहुन्छ ।

खानेकुरा पकाउन निकै मन लाग्छ । विशेषगरी खसीको मासु मीठो पकाउँछु । अचार बनाउन पनि मलाई आउँछ । मैले बनाएको अचार निकै स्वादिलो हुन्छ रे १ मलाई ब्ल्याक कफी पनि मन पर्छ । बिहान प्रायः आफैँ कफी बनाएर पिउँछु । जाडो याम भएकाले मनतातो पानी पिउने गरेकी छु । पानीकै कारण स्वास्थ्यमा समस्या आउने भएकाले म यसमा भने अलिक बढी नै सजग छु ।

गुन्द्रुक भटमास पनि मलाई निकै मनपर्छ । दूध, दही र घिउ पनि मेरो फेभरेट हुन् । अमिलो,पिरो खानेकुरामा मेरो विशेष लगाव छ । कहिलेकाहिँ पानीपुरी र चटपटे पनि खान्छु । पाउँ, इमिली पनि खाइरहेकी हुन्छु । मलाई मनै नपर्ने खाने कुरा भने केही छैन । भोक लागेको वेलामा अगाडि पाउँछु, खान्छु । मलाई मिठाइ पनि निकै मन पर्छ । रसबरी, बर्फी, जेरी खाइरहेकी हुन्छु । जंक फुड भने मलाई मन पर्दैन । हत्तपत्त खानु नपरेहुन्थ्यो भन्ने लाग्छ ।

बिहानै सुटिङमा जानु नपर्दा भने हल्का एक्सरसाइज गर्ने गरेकी छु । जसले गर्दा ‘मेन्टेन’मै छु । मदिरा, धूमपानको बानी छैन । तर, कहिलेकाहिँ सोसियल हुन वाइनचाहिँ पिउने गरेकी छु । आफूलाई कुनै परिकार खान मन लागेको छ भने आफैँ पकाउन तम्सिन्छु । सुटिङमा पनि कहिलेकाहीँ किचेनमा पस्ने गरेकी छु । आफ्नै हातले पकाएर अरूलाई खुवाउँदा आनन्द लाग्छ ।





error: Content is protected !!