स्मार्टफोन जोगाउन नगर्नुहोस् यी गल्ती

युवराज भट्टराई
कम्प्युटर टेक्निसियन
सबैका हातमा स्मार्टफोन देखिन्छ । लाग्छ, जमाना नै स्मार्टफोनको हो । इन्टरनेटको यो जमानामा स्मार्टफोन अत्यावश्यकजस्तै भइसक्यो । तर, स्मार्टफोन प्रयोग गर्दा जति आनन्द प्राप्त हुन्छ, त्यति नै योमाथि खतरा पनि छ । कतिपय गल्ती गर्दा तपाईंको स्मार्टफोनमा खतरा निम्तिन सक्छ ।
१। स्मार्टफोन बोक्नुहुन्छ, तर लक गर्ने बानी छैन भने पनि गलत हुन्छ । कुनै दिन फोन चोरी भयो या हराएर कसैले भेट्यो भने तपाईंको गोपनीयता सजिलै अरूले पाउनेछन् । यसबाट बच्न स्मार्टफोनमा दिइएका पासवर्ड, पिन या स्वाइप लकजस्ता विभिन्न लक अप्सनमध्ये एक प्रयोग गर्नुहोस् । पासवर्ड राख्दा चार अंक या अक्षरभन्दा बढीको राख्नुहोला । स्मार्टफोन बोक्नेले गर्नुपर्ने पहिलो काम नै यही हो ।
२। हातमा स्मार्टफोन बोक्ने अनि जता भेटियो उतैका फ्री या ओपन वाइफाई नेटवर्क खोज्दै इन्टरनेट चलाउने गरिरहनुभएको छ भने गल्ती गर्दै हुनुहुन्छ । कतिपय ह्याकर्स ओपन वाइफाई नेटवर्कमा घुसेर तपाईंको स्मार्टफोनबाट गोप्य डाटा चुहाइदिन सक्छन् । चल्ने क्याफे, एयरपोर्टजस्ता स्थानका यस्ता फ्री वाइफाईमा सजग हुनुपर्छ ।
३। अन्जान लिंकमा क्लिक गर्नुभयो भने तपाईं गलत गरिरहेको हुन सक्नुहुन्छ । हेर्दा कुनै न कुनै रूपमा छिटो आकर्षित गर्ने गरी ह्याकरले यस्ता लिंक सार्वजनिक गरेर बल्छी खेल्छन् । उनीहरूले यहीँबाट तपाईंको फोनको सिस्टम र डिभाइस ह्याक गरिदिन सक्छन् ।
४। तपाईंले बोकिरहेको स्मार्टफोनको कम्पनीलाई विभिन्न ह्याकर्सले पछ्याइरहेका हुन सक्छन् । यसकारण तपाईंको फोन पनि ह्याकर्सको निसानामा पर्न बेर लाग्दैन । उनीहरूले फोनमा समस्या पैदा गर्न आउटडेटेड एप्स र सफ्टवेयरको सहयोग लिने गर्छन् । त्यसैले आउटडेटेड एप्स र सफ्टवेयर आफ्नो स्मार्टफोनमा रहन दिएर गल्ती नगर्नुहोस् । तपाईंको स्मार्टफोनको कम्पनीले वेला–वेला सफ्टवेयर र एप्स अपडेट गरिरहेको हुन्छ । तपाईं पनि यसलाई फलो गर्नुहोस् ।
५। ट्रयाकिङ फङ्सन अफ गर्नु पनि गल्ती हुन्छ । ट्र्याकिङ फङ्सन अफ राख्नुभएको छ भने कुनै दिन फोन हराएमा तपाईंसँग कुनै विकल्प रहँँदैन । हराएको फोनको लोकेसन ट्र्याक गर्न फोनको ट्र्याकिङ फङ्सन अन भएकै हुनुपर्छ । यो फिचर अन राख्दा आवश्यकताअनुसार फोनमा भएका डाटा डिलिट गर्न सकिन्छ । फोन हरायो र फोनभित्रबाट गोपनीयता भंग हुने खतरा छ भने तपाईं डाटा सबै डिलिट गरिदिन सक्नुहुन्छ ।



