इन्टरनेटमा भारतकाे एकाधिकार ताेडियाे, नेपाल र चीनबीच आइपी सर्भिसमा सम्झौता

काठमाडौँ : नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलकेबुल मार्गबाट जोड्न आइपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ ।

internetसम्झौतापत्रमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले गत मङ्गलबार हङ्कङमा आयोजित एक कार्यक्रममा सो संझौतामा हस्ताक्षर गरेको हो ।

सम्झाैतासँगै नेपालमा स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धतामा भारतीय एकाधिकार तोडिएको छ । नेपालले चीन हुँदै विश्वबजारको दूरसञ्चार नेटवर्कमा आबद्ध हुने बाटो खुलेसँगै भारतीय एकाधिकार तोडिएको हो ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल लिमिटेड (सिटिजी)बीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थल केबुलमार्गमा जोड्न सम्झौता भएको हो । सम्झौताअनुसार चाइना टेलिकमले चीन हुँदै विश्वबजारको स्थल दूरसञ्चार नेटवर्कमा जोडिन नेपाल टेलिकमलाई आइपी सर्भिस उपलब्ध गराउनेछ ।

केही समयअघि मात्र नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । त्यसपछि हाल यो सम्झौता सम्पन्न भएको हो । चीनसँग स्थलमार्गमार्फत जोडिएकाले अब सो क्षेत्रबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुनेछ ।

संझौता पछि चिनियाँ मार्गबाट पनि इन्टरनेट आबद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र सो कार्य सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकामा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आबद्ध हुन सहज बनेको हो ।

सम्झौता सम्बन्धी कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत अमात्यले नेपाल टेलिकमले थप मार्गबाट लाभ लिन सक्ने विश्वास व्यक्त गरे । उनले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र सो मार्गमार्फत नेपाललाई ट्रान्जिट हबका रुपमा स्थापित गर्न सकिने अपेक्षा गरे ।

त्यस्तै सिटिजीका कार्यकारी उपाध्यक्ष यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो मार्ग विस्तार गरिरहेको र यसबाट नेपाल–चीन मार्गमा सेवा प्रदान गर्नाका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताए । उनले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको मार्ग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए ।





error: Content is protected !!