घरैपिच्छे आँगनमा लस्करै काठका घोचा :अरिंगाल खेती

गोरखा — आँगनमा लस्करै काठका घोचा गाडिएका छन् । घोचाका टुप्पोमा जस्तापाताको ओत लगाइएको छ । यिनै ओतमुनि छन्, अरिंगालका गोला । यो सहिद लखन गाउँपालिका–६ घैरुङस्थित रानागाउँकी कमला थापाको आँगन हो । उनले सात वर्षअघि नजिकैको वनबाट अरिंगालका गोला ल्याएर पालेकी थिइन् । सुरुका वर्ष दुई गोला पालेकी उनले त्यसपछि भने व्यावसायिक पालन गर्दै लार्भा बिक्री गर्न थालेकी हुन् । अहिले उनले ११ वटा गोला पालिरहेकी छन् ।
रानागाउँमा अरिंगाल पाल्ने कमला एक्ली होइनन् । सहिद लखनका ४, ५ र ६ वडाका ६० भन्दा बढी स्थानीयले यसैगरी पाल्दै अरिंगालका लार्भा बेचेर कमाइ गरिरहेछन् । अरिंगाल पाल्न थालेकै दुई दशकभन्दा बढी भइसकेको कतिपय स्थानीय बताउँछन् । २०५८ सालमा पहिलो पटक बरालथोक थानीडाँडाका उत्तम थापाले वनबाट दुई वटा गोला घर ल्याएर पाल्न थालेका थिए । पहिलो वर्ष कसैले लार्भा नकिने पनि त्यसपछिका वर्षमा किन्नेहरू घरमै आउने गरेको उनले बताए ।
०५९ मा जंगलबाट १४ वटा गोला ल्याएर पालें,’ उनले भने, ‘त्यतिबेला गाउँले मेरो काम देखेर अचम्म परे ।’ अरिंगाल व्यवसाय फस्टाउँदै गएपछि अर्को वर्ष उत्तमले दाइको साथ लिएर फेरि ३३ गोला ल्याए । ‘त्यो वर्ष प्रतिमाना ५ सय रुपैयाँका दरले लार्भा बेच्दा झन्डै तीन लाख कमाएँ,’ उत्तमले भन्छन् । यसवर्ष भने उनले एक दर्जन गोला मात्र पालेका छन् । तैपनि लार्भा बेचेर आएको रकमले ६ वटा बाख्रा किनेको उनले सुनाए ।
अचेल एक माना लार्भाको हजार रुपैयाँमा हानाथाप हुने उत्तम सुनाउँछन् । ‘अरिंगाल पाल्न थालेपछि पैसो छैन भन्नुपरेको छैन,’ उनले भने, ‘घर खर्च मज्जाले चलेको छ ।’ गोरखा, तनहुँको आबुखैरेनीलगायतका होटलले लार्भाका लागि ‘अग्रिम अर्डर’ दिने गरेको उनले सुनाए । ‘यो निकै तागतिलो जिनिस हो,’ उनले भने, ‘जहाँ पायो त्यहाँ नपाइने, जसले पायो त्यसले पाल्न नसक्ने भएर पनि होला, यसको माग बढ्दो छ । बिक्री नहोला कि भन्ने कुनै पिरलो छैन ।’ अचेल एउटा गोलाबाट १६ मानासम्म लार्भा निकाल्ने गरेकी कमला भन्छिन्, ‘अहिलेसम्म बजारको पिरलो छैन ।’
वडा ५ कै ताक्लुङस्थित बरालथोक, रानागाउँ, रिन्जेलीलगायत गाउँमा पनि अधिकांश घरमा अरिंगाल पाल्न थालिएको छ । ‘जेठको महिना यहाँका घरमा कोही भेटिन्नन्, कसैलाई भेट्नु परे जंगल छिर्नुपर्छ,’ उत्तमले थपे, ‘यो भनेको अरिंगालको शिकार गर्ने उपयुक्त बेला हो । प्रायः सबै जंगलतिरै अरिंगालका गोला खोजिरहेका भेटिन्छन् ।’ अरिंगाल कालो र रातो दुईखाले हुने तर काला अरिंगाल पाल्न गाह्रो हुने यहाँका स्थानीय बताउँछन् ।
रातमा अरिंगाल बसेपछि गोलाको मुखमा कपास कोचेर गोला झुन्डिएको रूखको हाँगासहित घर ल्याएर घोचामा बाँधिन्छ । अरिंगाल घरमा ल्याएर पाल्नु सजिलो काम भने होइन् । मध्यरातमा अरिंगालाका गोला जंगलबाट सार्दा निकै जोखिम हुने उनले सुनाइन्, ‘अरिंगाल रिसाए त बित्यासै पार्छ । यसले टोक्यो भने ज्यानै जान पनि सक्छ । रातभरमा जसरी पनि गोला सारिसक्नु पर्छ ।’
जेठबाट गोला बनाउन सुरु गर्ने अरिंगालका लार्भा असोजदेखि कात्तिकसम्म खान उपयुक्त हुने उनले बताइन् । सहिद लखन–४ का गेमबहादुर थापाले गाउँका युवाले साझेदारीमा अरिंगाल पालन सुरु गरेको सुनाए । ‘समूहमै जंगल जाने, गोला ल्याउने र पाल्ने अनि बेचेपछि पैसा पनि दामासाहीले भाग लगाउने गरिन्छ,’ उनले भने, ‘अरिंगाल पाल्नेको संख्या वर्षेनी बढिरहेको छ ।’ एक दशकअघिसम्म एउटै गोलाबाट ४२ मानासम्म लार्भा निकाल्ने गरेको उनले सम्झिए ।
अरिंगाल पाल्नेमा मगर, चेपाङ समुदायलगायतका बढि रहेको सहिद लखन गाउँपालिका–६ घैरुङकी माया थापा मगरले सुनाइन् । ‘हाम्रो समुदायमा दसैंमा पितृ पूजनका लागि अरिंगाल नभई हुँदैन,’ उनले भनिन्, ‘पितृ पूजाका दिन अन्डा, माछा, केरा, अदुवासँगै अरिंगाल अनिवार्य हुनैपर्छ ।’
पूजामा चाहिने भएकाले आफूले पनि अरिंगाल पाल्न थालेको उनले सुनाइन् । सहिद लखन–४ वडाध्यक्ष अरुण थापाले बाँदरले खेती बाली नष्ट गरेर दुःख दिइरहेकाबेला किसानले वैकल्पिक रूपमा अरिंगाल पालन सुरु गरेको बताए । उनले भने, ‘यसलाई बाँदरले दुःख दिँदैन, व्यावसायिक पालनबारे के गर्न सकिन्छ भन्नेबारे थप बुझ्दै छु ।’



