कमलादीमा भेटिएका ‘राता मान्छेहरू’ – मलाई नसोध कहाँ दुख्छ घाउ ?


काठमाडौं– मध्य पुसमा काठमाडौं निकै चिसिएको छ। गुल्जार गल्लीहरु सबेरै निदाउँछन्। बिहान अबेर उठछन्। चिसोले ठिहिर्‍याएको छ काठमाडौंका कानहरू। नाकबाट पानी बगिरहेको छ। र, कठ्याङ्ग्रिएका छन् औंलाहरू।

तर, कमलादीस्थित प्रज्ञा भवन भने माओवादी महाधिवेशनको रापतापले तातिएको छ। जहाँ देरैभरबाट आएका ‘ऊर्जावान’ कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले एकरएक ‘मसाल’को काम गरिरहेका छन्। यस्तै एक मसाल हुन्, उदयपुरको कटारी–२ का विनोद कटुवाल।

उनी माओवादीको उदयपुर जिल्ला अध्यक्ष पनि हुन्। उनको परिचय यत्तिमै सीमित छैन। उनको परिचयमा एउटा पीडा, एउटा घाउ पनि जोडिएको छ कहिल्यै नमेटिनेगरी– सहिद परिवारका सदस्य।

उनी सकेसम्म ती दिनहरु सम्झन चाहँदैनन्। जब उनलाई ती दिनहरु सम्झना आउँछ, मनमा विद्रोहको ज्वारभाटा उम्रिन्छ। आक्रोशका छालहरु उर्लिन थाल्छन्। पीडाको प्यारामिटर उकालो लाग्छ।

विनोदका अनुसार उनी १२ वर्षको हुँदा राज्य पक्षले उनका बुवा मोहन कटुवालको हत्या गर्‍यो– २०५५ सालमा। बुवाको हत्या गरेको चार वर्षपछि राज्य पक्षले नै विनोदकी आमा गंगाको हत्या गर्‍यो–२०५९ मा। विनोद र उनका दाजुबहिनीले बुवाआमाको लास समेत हेर्न पाएनन्।

उसो त विनोद आमाको हत्या हुनुभन्दा २ वर्षअघि नै माओवादीमा पूर्णकालीन भइसकेका थिए। जब, बुवाको हत्या भयो उनको बाल मष्तिष्कमा प्रतिरोधको बिउ रोपियो। उनी कक्षा ८ मा पढ्दापढ्दै १४ वर्षकै उमेरमा ‘मृत्यु या मुक्ति’का लागि ‘राता मान्छे’हरुसँग गोलबन्द भए।

समय बित्दै गयो। माओवादी हतियार बिसाएर शान्ति प्रक्रियामा आयो। पटक(पटक सरकारमा सहभागी भयो। केहीपल्ट सरकारको नेतृत्व गर्‍यो। तर, विनोदजस्ता कयौं मान्छेहरूको पीडा सम्बोधन गर्न सकेन। सशस्त्र युद्धकालमा अभिभावक गुमाएका, सन्तान गुमाएका र बेपत्ता पारिएकाका आफन्तहरूको पीडा उस्तै छ। घाउ उस्तै छ।

संक्रमणकालीन न्याय निरुपणमा माओवादी र राज्यले चासो नदिँदा विनोदहरु पीडा गुनगुनाइरहेका छन्। हरिभक्त कटुवालको शब्दमा नारायण गोपालले भनेजस्तै– मलाई नसोध कहाँ दुख्छ घाउ ?

माओवादी भएकै कारण उनको परिवार विस्थापित भयो। उनीहरू माओवादीको सहयोगमा सिन्धुपाल्चोकमा आएर विस्थापित जीवन बिताए। उनका दाजु पनि भूमिगत भएका थिए। तर, शान्ति प्रक्रियापछि भने उनी राजनीति त्यागेर घरव्यवहारमा रमाइरहेका छन्।

विनोदले पनि युद्धकालमै मकवानपुरकी शर्मिला पाख्रिनसँग जनवादी विवाह गरे। उनीहरुको दुई छोरा छन्। शर्मिलाले पनि युद्धकालमा बुवा गुमाइन्। विनोद राजनीतिमा सक्रिय रहेपनि शर्मिला भने घरायसी जीवनमै अल्झिरहेकी छन्।

आफूले लामो समय रगत, पसिना बगाएको पार्टी उनलाई अहिले कस्तो लाग्छ तरु भन्छन्, ‘पार्टी पुँजीवादमा फस्यो। सहिद परिवार, घाइते, अपांग र बेपत्ताका पीडा जस्ताका तस्तै छन्। गणतन्त्रका लागि आहुती दिनेहरु खोइ कता छन् आज ’ नेतृत्वले अब यी समस्या सम्बोधन गरोस् भन्ने विनोदको चाहना छ।

‘जनयुद्ध’की हसिना अमिना बनेर काठमाडौं आइन्
कपाल सेतै छ। मुजा परेका उनका गालाहरुले निर्धक्क बुढ्यौलीको परिचय दिइरहेका छन्। तर, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३, सुन्दपुरकी अमिना खातुनले कहिल्यै निर्धक्कको जीवन बाँच्न पाइनन्। थाहा छैन, गाउँको नामजस्तै उनको जीवन कहिले सुन्दर हुन्छ ?

तर, उनी हरेकपटक माओवादीका कार्यक्रममा सहभागी भइरहन्छिन्। नहोऊन् पनि कसरी१ उनी आफैं द्वन्द्वकालमा भूमिगत भएकी थिइन्। उमेरले ६ दशक नजिक पुगेकी अमिनाले कक्षा २ सम्म मात्र पढेकी छन्।

महिला र दलितमाथि भइरहेको शोषनका विरुद्ध उनी २०५४ सालमै भूमिगत भइन्। विद्रोहको मसाल सल्काइन्। अन्यायका विरुद्ध आगो ओकल्न हिँडिन्। उनी युद्धमा हिँडिन्, यता उनका पति तहिदर रहमान बेपत्ता भए। अहिलेसम्म उनी बेपत्ता छन्। युद्धकालमा हसिना भनेर चिनिएकी अमिनालाई अब आफ्ना बेपत्ता लोग्ने फर्केर आउँछन् भन्ने आश छैन। तर, बेपत्ताहरुको खोजीका लागि पार्टीले केही गरिदिए हुन्थ्यो भन्ने चाहिँ लागिरहन्छ।

माओवादीको जारी महाधिवेशनमा उनी मुस्लिम कोटाबाट प्रतिनिधि भएर आएकी रहिछन्। उनले महाधिवेशनमा अध्यक्ष प्रचण्डलाई भेट्ने मौका पाइन्। अमिना माओवादी र राज्यबीच शान्ति सम्झौता भएपछि पहिलोपटक काठमाडौं आएकी हुन्। त्यतिबेलाको भेटमा प्रचण्ड तन्नेरी लाग्थ्यो उनलाई। तर, अहिले प्रचण्ड बूढो लाग्छ– बूढो हुँदै गएको माओवादी आन्दोलनको रापतापजस्तै।

‘प्रचण्ड पनि बूढा भएछन्। आन्दोलन पनि बूढो भयो। हिजोजस्तो जोस, जाँगर रहेन’, प्रज्ञा भवन परिसरमा टाँगिएका नारैनाराको फ्लेक्सतर्फ हेर्दै अमिनाले लामो सास तानिन्।

‘जनयुद्ध’को निसाना बोकेका पासाङ
२०५७ साल वैशाख वैशाख ४ गते। नयाँ वर्षको रौनक बाँकी नै थियो। त्यो भन्दा बढी देशमा द्वन्द्वको आगो झन् बढिरहेको थियो। लिखुपिके गाउँपालिकाका पासाङ शेर्पा त्यही दिन माओवादी युद्धमा होमिए।

पहिले एमालेन अखिलमा लागेका उनलाई माओवादीका अजेण्डा मन परे। पछि उतै लागे। माओवादीमा सेनाको कमाण्डर भएर काम गरे।

दुःखद् संयोग१ उनी वैशाखमै घाइते भए। २०६२ वैशाख २० गते युद्धबिराम हुँदै थियो। त्यसको तीन दिन अगाडि मोरङको रमितेमा उनी सेनासँगको दोहोरो भिडन्तमा परे। गोली लागेर उनको तिघ्राको हड्डी छिया छिया भयो। युद्धको निसाना बोकिरहेका पासाङ अहिले पनि वीर अस्पतालमा उपचारका लागि पुगिराख्छन्। वीरमा उनको उपचार चलिरहेको छ।

घाइते अपांग संघको केन्द्रीय उपाध्यक्षसमेत रहेका पासाङ माओवादीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका छन्।

‘अहिलेसम्म औषधी खाइराख्नुपर्छ। हिँड्न गाह्रो हुन्छ। फुटेको ठाउँमा स्टिल राखेको छ। त्यही स्टिलले फेरि समस्या गराएको छ’, पासाङ भन्छन्, ‘अस्पतालले फेर्नुपर्छ भनेको छ। यो निकै खर्चिलो छ। पहिले संगठनले उपचार गर्‍यो। मेरो आफ्नै ७र८ लाख खर्च भइसकेको छ।’

माओवादीप्रति उनका धेरै गुनासा छन्। द्वन्द्वका घाइतेलाई उपचार गर्न नसकेको माओवादीप्रति आक्रोशित पनि छन्।

‘श्रेणीका आधारमा भत्ता दिन्छु भनेको राज्यले। तर, पावर हुनेले पाएका छन्। जो युद्धका वास्तविक घाइते हुन्, तिनले पाएका छैनन्’, उनले भने।

उनले माओवादी महाधिवेशनस्थल चहारे। भित्ताहरूमा प्रचण्ड–बाबुरामका फोटा टाँसिएका छन्। तर, युद्धमा बलिदान गरेका सहिदहरुका फोटो नदेख्दा पासाङको मन दुख्यो। हिजो राज्यसँग लडेका उनी आज पार्टीसँग लड्नु परिरहेको बताउँछन्।

‘यो परिवर्तन सामन्तीले किस्तीमा राखेर दिएको होइन। यी सहिद, घाइते र बेपत्ताको रगतमाथि होली खेलेर आएको हो’, उनी आक्रोशित बने, ‘सकिन्छ सम्मान गर। सक्दैनौ, अपमान पनि नगर।’





error: Content is protected !!