अफगानिस्तानको राजधानी काबुलमा विद्यालय नजिक बिस्फोट, कम्तीमा ३० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक माध्यामिक विद्यालय नजिक बिस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ ।

शनिबार विद्यार्थीहरु स्कूलबाट बाहिरिँदै गर्दा बिस्फोट भएको हो । ज्यान गुमाउने तथा घाइते हुने अधिकांश बालिका रहेको शिक्षा मन्त्रालयकी प्रवक्ताले बताएकी छन् ।

काबुलको दाशत––बार्ची क्षेत्रमा बिस्फोट भएको हो, यो क्षेत्रमा अधिकांश समय सुन्नी इस्लामिक बिद्रोहीले आक्रमण गर्ने गरेका थिए । शनिबार भएको आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तालिबान बिद्रोहीले आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

कार बम तथा मोटार बिस्फोट भएको अफगान अधिकारीले बताएका छन् ।

झण्डै एक वर्ष पहिले स्थानीय अस्पतालको प्रसूति युनिटमा भएको आक्रमणमा २४ जना महिला, बालबालिका तथा शिशुको ज्यान गएको थियो ।

शनिबार भएको आक्रमणको वास्तविक निशाना भने स्पष्ट भएको छैन ।

अमेरिकाले आउँदो सेप्टेम्बर ११ सम्म आफ्ना सबै सैनिक फिर्ता लैजाने निर्णय गरेपछि अफगानिस्तानमा हिंसाका घटना बढ्दै गएका छन् । सोही क्रममा शनिबारको घटना पनि भएको हो ।





error: Content is protected !!