रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण, कृषक उत्साहित

सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ वैशाख ः पाल्पाको रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइएको छ । पाल्पा जिल्लाकै सबैभन्दा ठुलो क्षमताको शित भण्डार निर्माण भएपछि कृषक उत्साहित भएका छन् । हालै निर्माण सम्पन्न भई प्रयोगमा आएको यस शित भण्डारमा कृषकले उत्पादन गरेका आलु अहिले भण्डारण गरिन थालिएको छ ।

रामपुर क्षेत्रमा उत्पादन हुने कृषिजन्य उपजलाई सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि कृषि शाखाको परिषरमा लुम्बिनी प्रदेश सरकारको सर्शत अनुदानमा रबिना र अभिसा जेभी कन्ट्रक्सन प्रालीले संयुक्त रुपमा रु तीन करोड २६ लाख ७६ हजार पाँच सय ६६ मा ठेक्का सम्झौता गरी काम गरिएको हो ।


अहिले कृषकको उपजलाई मध्यनजर गर्दै नगरपालिकाले शित भण्डारको मुख्य भवन मात्र निर्माण गरी संचालनमा ल्याएको छ । शित भण्डारमा फरक फरक क्षमताका पाँच कोठा रहेका छन् । दुईतले दश कोठा सहितको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा छ । साथै अपाङ्गमैत्री शौचालय भने निर्माण भइसकेको छ ।

तीन सय मेट्रिकटन क्षमताको भएपनि हाललाई भने एक सय ५० मेट्रिकटन क्षमताको कृषि उपज भण्डारण हुने अनुमान

यहाँ उत्पादन भएको आलु खेतीलाई मध्यनजर गर्दै मुख्य भवन निर्माण सम्पन्न गरी शित भण्डार अहिले चालु गरिएको नगरपालिकाका सुचना अधिकारी तथा कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताउनुभयो । उहाँका अनुसार तीन सय मेट्रिकटन क्षमताको भएपनि हाललाई भने एक सय ५० मेट्रिकटन क्षमताको कृषि उपज भण्डारण हुने अनुमान लिइएको छ ।
“अहिले कृषकको घर घरमा आलु मात्र रहेका छन्, अन्य उपज तत्काल भण्डारण गरिनुपर्ने अवस्था देखिएको छैन, आलुको वीउ भण्डारणका लागि अहिले कृषकले ल्याइराख्नुभएको छ , प्रतिकिलो बढीमा जुनसुकै उपज पनि रु छ भण्डारण शुल्क लिने व्यवस्था नगरपालिकाले गरेको छ” सुचना अधिकारी पाण्डेय भन्नुभयो ।

नगरपालिकाले शित भण्डार संचालनका लागि टेण्डरमार्फत रम्भा गाउँपालिका १ हुँगीका भगवती अधिकारी न्यौपानेलाई रु दुई लाख पाँच हजारमा एक वर्षको लागि सम्भmौता गरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७५÷०७६ मा लुम्बिनी प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरे अनुसार रामपुर नगरपालिकाले पनि प्रस्ताव पेश गरेको थियो । सोही अनुरुप छनौट भई नगरपालिका संग सम्झौता गरी नगरपालिकाले आफ्नै लगानीमा डिपिआर तयार पारेर निर्माणको काम गरेको हो ।

रामपुर नगरपालिका भित्र उत्पादन भएका कृषि उपजले समयमा बजार नपाउँदा कृषकले निकै सास्ती खेप्दै आइरहेका थिए । एकै पटक उत्पादन भएका कृषिजन्य सामग्रीले कहिलेकाँही बजारमा नबिकेर कृषकले खेतबारीमै कुहाउन बाध्य भए । कृषकको उत्पादनलाई बिग्रन नदिन शित भण्डार निर्माण गरिएको हो ।

यहाँ गोलभेँडा, काउली, बन्दा, लहरेबाली प्रशस्त उत्पादन हुन्छ । तर उत्पादित कृषि उपजलाई सुरक्षित साथ राख्ने ठाउँको व्यवस्थापन नहुदा कृषकले लागत अनुसारको मुल्य नपाएको अवस्था छ ।

यो क्षेत्रमा बढी मात्रामा आलु उत्पादन हुन्छ । सबैजसो कृषकले अनिवार्यजसो घर घरमा आलु लगाएकै हुन्छन् । सुरक्षित साथ राख्ने स्थान नहुदा सस्तो मुल्यमा नै आलु बजारमा बिक्रि गर्न पनि कृषक बाध्य थिए । अब भने शित भण्डार निर्माण सकिएपछि गाउँमा उत्पादित कृषि उपज सुरक्षित साथ राख्न पाउँने र बेमौसमीयाममा महंगो मुल्यमा बिक्रि गर्ने अवसर पाउँदा कृषक उत्साहित छन् ।

बुटवल, भैरहवा लगायतका बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहित गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिदै शित भण्डार निर्माण गरी नगरपालिकाले संचालनमा ल्याएको छ । नगरपालिकाले दशवटै वडामा एक वडा एक उत्पादन नीति अनुरुप एक वडा एक उत्पादन कृषि बाली सुरु गरेको छ ।

रामपुर क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउन र बाहिरबाट यहाँ भित्रने तरकारी, फलफूलजन्य कृषि उपज निरुत्साहित गर्न, कृषकलाई कृषि व्यवसायमा उत्प्रेरित गराउन शित भण्डार निर्माण गरी संचालनमा ल्याइएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

शित भण्डार अभावमा वर्षेनी आलु भण्डारणका लागि भैरहवाको शित भण्डारमा लैजान बाध्य यमकान्ती गौतम अहिले आफुले उत्पादन गरेको आलु रामपुरमै भण्डारण गर्न पाउँदा खुशी हुनुहुन्छ । उहाँले गतवर्ष उत्पादन भएको वीउ आलुमध्ये दुई सय बोरा भैरहवाको शित भण्डारमा राखेर गत मङ्सीरमा रु ४० हजार ढुवानी खर्च गरेर ल्याउनु पर्दा आफु मर्कामा परेको बताउनुभयो ।

“यस पटक तीन सय ५० बोरा वीउ आलु उत्पादन भएको छ, अहिले रामपुरमै भण्डारण गर्न पाउँदा भैरहवा लैजाने ल्याउने समस्या हटेको छ, अर्कोतर्फ गाडी ढुवानी खर्च पनि वचत भयो” उहाँले भन्नुभयो ।

उहाँले शित भण्डार निर्माणमा केही समय ढिलाई भएकाले केही आलु घरबाटै बिक्रि गरिसक्नुभएको छ भने वीउका लागि एक सय क्वीण्टल आलु रामपुरको शित भण्डारणमा राख्नुभएको छ । आलु उम्रिसकेको हुदा भने कृषक गुणस्तर घट्नेमा चिन्तित बनेका छन् ।

वीउ आलु उत्पादक कृषक लेखनाथ रेग्मीले ५० क्वीण्टल आलु भण्डारण गर्दै हुनुहुन्छ । रेग्मीले यसवर्ष एक सय ५० क्वीण्टल आलु उत्पादन गर्नुभएको छ ।

उहाँ भन्नुहुन्छ, “शित भण्डार समयमा नै नबन्दा आलु भण्डारण गर्न ढिलाई भयो, घरमा उम्रिसकेका आलु छन्, तैपनि ढिला भएपनि शित भण्डारमा राख्न पाइने भयो, आलु उम्रिसकेको हुदा गुणस्तर घट्ने भयो, एक सय क्वीण्टल शित भण्डार निर्माणमा ढिलाई भएपछि बाहिर बिक्रि गर्न बाध्य भइयो” ।

रामपुर नगरपालिकामा मात्रै यसवर्ष आलु ब्लक कार्यक्रम संचालन भएकाले पनि धेरै आलु उत्पादन भएको छ । नगरभित्र करिव पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको कृषि शाखाका प्राबिधिक प्रज्वल केसीले जानकारी दिनुभयो ।

शित भण्डारको आडैमा नगरपालिकाले उच्च क्षमताको तरकारी टनेल निर्माण गरी प्रयोगमा ल्याएको छ । पाल्पा जिल्लामा यस भन्दा अघि रम्भा गाउँपालिकामा २५ मेट्रिकटन क्षमताको शित भण्डार निर्माण भई संचालनमा आइसकेको छ ।





error: Content is protected !!