क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी, बहुमत गुम्यो

एजेन्सी    प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरूसँग छलफल थालेका छन्। मतगणना अन्तिम अवस्थामा रहँदा संसदको कूल ३३८ स्थानमध्ये जस्टिनको दलले १५६ स्थानमा विजयी हुने देखिएको छ भने मुख्य विपक्षी एन्ड्रु सियरको कन्जरभेटिभ्सले १२२ स्थान जित्नेछ।

मंगलबार बिहानैदेखि प्रधानमन्त्री जस्टिनले नयाँ सरकार गठनका लागि साना दलसँग सहमति जुटाउने प्रयास थालेका हुन्। प्रधानमन्त्री जस्टिनले सोमबार मतदान सकिएलगत्तै समर्थकलाई सम्बोधन गर्दै क्यानाडाली जनताले विभाजन र सरकारी अनुदानमाथिको निर्भरतालाई अस्वीकार गरेको बताए। उनले क्यानडाका जनताले प्रगतिशील एजेन्डा र जलवायू परिवर्तन सम्बन्धी सरकारका बलिया योजनालाई खुलेर समर्थन प्राप्त भएको बताए।

उनले क्युबेक, सास्काचेवान र अल्बर्टाका जनताका निराशालाई सरकारले अवश्य ध्यान दिने पनि बताए। हाल ४७ वर्ष पुग्नुभएका प्रधानमन्त्री जस्टिनमाथि ४० दिने चुनावी प्रचारका क्रममा मतदाताले चारवर्षे पहिलो कार्यकाल र आगामी दिनका योजनाका बारेमा अनेक प्रश्न गरेका थिए।

उनले क्यानडाको इतिहासमै यस पटकको चुनावी अभियान “असाध्यै घिनलाग्दो र निम्नस्तरको” भन्दै यसमा सुधार आवश्यक रहेको बताइएका थिए। चुनावी प्रचारका क्रममा प्रधानमन्त्री जस्टिन र विपक्षी नेता सियरबीच एकअर्काविरुद्ध तिखा व्यंग्य प्रहार भएका थिए।




सम्बन्धित समाचार


error: Content is protected !!