माटोको भाँडा बनाउने पेसा सङ्कटमा

mud-555x335दाङ, – यहाँका कुमाल समुदायको माटोको भाँडा बनाउने पेसा सङ्कटमा पर्न थालेको बताएका छन् ।

परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँ शान्ति उत्पादन समूहका अध्यक्ष प्रेमबहादुर कुमाल बताउनुहुन्छ ।

भाँडा निर्माण गर्न आवश्यक माटो, दाउरा, पराल, गुइँठालगायत कच्चा पदार्थको अभावका कारण माग अनुरुप भाँडाकुँडा बनाउन नसकिएको उहाँले बताउनुभयो । तुलसीपुर– १५ पर्सेनिमा बस्दै आएका ५२ कुमाल परिवारले माटोका भाँडा बनाउँदै आएका छन् ।

भाँडा बनाउनका लागि तुलसीपुर– १५ कालाखोलाको मटेराबाट माटो लिने गरेपनि सो स्थानमा प्रर्याप्त माटो पाउन छाडेको छ । “अब चाडपर्व सुरु भएका छन् बजारमा माटोका सामग्रीको माग छ, तर कच्चा पदार्थ नहुँदा पेसा सङ्कटमा छ,” उहाँले भन्नुभयो ।

दसँै तिहारका लागि कुमालले पाला, घोडा, कराइ, गमला, ठेकी, करुवा, हाडी बनाउने गरेका छन् । बजारमा माटोका भाँडाको माग अत्यधिक रहेको छ । तर कच्चा पदार्थ सहज रुपमा उपल्ब्ध नहँुदा समस्या भएको छ ।

एउटा करुवा रु ४०० र पाला रु २० मा बिक्री गर्दैआएको स्थानीय बदाउरी कुमालले बताउनुभयो । दसँैका लागि आवश्यक भाँडा बनाउन थालेपनि कच्चा पदार्थको अभाव भएको उहाँले बताउनुभयो । कुमाल गाउँ शान्ति उत्पादन समूहअन्तर्गत पेसालाई आधुनिकरण गर्नका लागि तालिम समेत दिइएको र सो तालिमले माटोका भाँडा उत्पादनमा सहज भएको अध्यक्ष कुमाल बताउनुहुन्छ ।

सो समूहलाई पेसा सुनिश्चिता तथा बजारीकरणका लागि गरिबी निवारण कोषअन्तर्गत जापानि सामाजिक विकास कोष कार्याक्रमले रु ६ लाख ३४ हजार लगानी गरेको हो । रासस





error: Content is protected !!