रारामा अब पर्यटक प्रहरी

नन्दा शाही
मुगु ः कर्णाली प्रदेशको रारा तालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि भन्दै पहिलो पटक पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ । कर्णाली प्रदेशको मुगु स्थित रारा तालमा पहिलो पटक पर्यटक प्रहरी स्थापनासँगै यहाँ यात्रा गर्न आउने सबैलाई सुरक्षाको प्रत्यभूति भएको सरोकारवालाको भनाई छ ।

रारा राष्ट्रिय निकुन्ज भित्र रहेको यो ताल नेपालकै ठुलो हो । २०३२ सालमा स्थापना भएको निकुन्ज १०६ वर्ग किलोमिटरमा फैलिएको छ । राष्ट्रिय निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्ला जिल्लामा पर्दछ । निकुञ्जको मुख्य आकर्षण मनोरम हिमाली काखमा हरिया वनजंगलले घेरिएको कञ्चन पानी सल्बलाउने रारा ताल नै हो । यस तालको क्षेत्रफल १०.६५ वर्ग कि.मी. छ । यस तालको लम्बाइ करिब ५ कि.मी., चौडाइ ३ कि.मी. र गहिराई १६७ मिटर छ । नेपालको सबभन्दा ठूलो तालको रूपमा रहेको रारा ताल सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्वलाई समेत दर्शाउँछ । तालको दक्षिणतर्फ चुचेमारा टाकुरा ४ हजार ०८७ मिटर रहेको छ । उत्तरतर्फ रुम काँध ६ हजार ७३१ मिटर रहेको छ । त्यस्तै मालिका काँध ३ हजार ४४४ मिटर जस्ता चुचुराहरू पर्दछन् । यिनीहरूले रारा राष्ट्रिय निकुञ्जको मनोरम प्राकृतिक दृश्य एवं सुन्दरतालाई अझ गाढा तुल्याएका छन् ।

नेपालका अन्य हिमाली राष्ट्रिय निकुञ्ज सरह नै हिमाली कालो भाल, थार, हाब्रे, घोरल, रतुवा, कस्तुरी मृग, बँदेल आदि गरी ५१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल लगायत २७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । निकुञ्ज अन्तर्गत रारा ताल र वरिपरिको कोणधारी वन क्षेत्र स्थानीय र बसाई सरी आउने विभिन्न चराचुरुङ्गीहरूको उपयुक्त बासस्थान बन्न पुगेको छ । यहाँ नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने असला माछा पाइन्छन् । मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ ।

रारा ताल घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको रारा घुमघाम तथा बसोवासलाई सुरक्षित बनाउने उद्देश्यले सोमबार रारा ताल क्षेत्रको प्रवेश नाका रारा विमानस्थल नजिक अस्थायी पर्यटक प्रहरी पोष्ट स्थापना गरिएको हो । पर्यटक प्रहरी पोष्ट स्थापनाको उद्घाटन गर्दै छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले रारालगायत मुगुमा रहेका धार्मिक तथा प्राकृतिक अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको संख्या दिन प्रतिदिन बढिरहेकाले पर्यटकहरुको घुमाइ सुरक्षित र आनन्ददायी बनाउन पर्यटक प्रहरी राख्न नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नगर कार्यपालिकाले निर्णयसहित माग गरे बमोजिम कर्णाली प्रदेश भरी मै मुगु जिल्लामा पहिलो पर्यटक प्रहरी पोष्ट स्थापना भएको बताउनुभयो ।

रारा विमानस्थल नजिक अहिले अस्थायी विट स्थापना भएपनि निकट भविष्य मै रारा नजिक सल्लेरिमा स्थायी विट स्थापना गरिने छ । सल्लेरीमा भवन तथा अन्य भौतिक संरचना बनाउन नगरपालिकाले सार्वजनिक जग्गा प्राप्तिका लागि प्रकृया अघि बढाएको छ । वन मन्त्रालयबाट जग्गा प्राप्ति स्वीकृत हुनासाथ भौतिक संरचना बनाइ स्थायी रुपमै सल्लेरीमा पर्यटक प्रहरी पोष्ट स्थापना गरिनेछ ।

पर्यटक प्रहरीले पर्यटकको मात्र सुरक्षा नगरेर प्रहरीले गर्नु पर्ने अन्य काम पनि गर्ने भएकाले पर्यटक प्रहरी पोष्ट स्थापनाले नेपाल प्रहरीलाई मुगु जिल्लामा काम गर्न सहज हुने र रारासहित मुगुमा रहेका अन्य पर्यटकिय क्षेत्रहरुमा घुम्न आउने पर्यटकहरुको पनि घुमाइ अब सुरक्षित हुने आफुले विश्वास लिएको सुरक्षा अधिकारीको भनाई रहेको छ । हाल देश भर २९ वटा पर्यटक प्रहरी युनिटहरु रहेपनि कर्णाली प्रदेश भरी कतै पनि पर्यटक प्रहरी पोष्ट थिएन । अब मुगुमा पर्यटक प्रहरीको ३० औं युनिट स्थापना भएसंगै कर्णालीमा पनि पर्यटक प्रहरी पुगेको छ । अस्थायी पर्यटक प्रहरी पोष्ट राराका सहायक प्रहरी निरिक्षक सन्जु कुमार विश्वकर्माका अनुसार पर्यटक प्रहरीको काम यहाँ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरु माथि दुव्र्यवहार हुन नदिने, सुरक्षित महशुस गराइ घुमाइ लम्व्याउने, अपराधिक कृयाकलापमा संलग्न हुने जो कोहिलाई नियन्त्रणमा लिने र पर्यटकहरुलाई गाइड गर्ने जस्ता हुनेछन् ।

राराताल नीलो कञ्चन, स्निग्ध ताल, जसलाई सल्लाघारीले घेरेर सुरक्षित राखेको छ । तालमा पौडिरहेका हुन्छन चंखेली र कान्जिरोवा हिमाल साथमा हुन्छन् सल्लाहरू पनि । दिनमै तीन÷चार पटक तालले रङ बदल्छ । त्यति मात्र होइन, तालको छालसँगैको सुन्दरताले पर्यटकको मन लोभ्याउँछ । तत्कालीन राजा महेन्द्र शाहले भनेझैँ अप्सरा नै हुन रारा ताल । घुमन्तेका लागि सपनाको गन्तव्य पनि हो– रारा ताल । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटरमा रहेको तालमा विश्वमा अन्यत्र नपाइने ‘स्नो ट्राउट’ माछा पाइन्छ । तालको वास्तविक दृश्यचाहिँ ४ हजार मिटरमाथिको मुर्माटप लेकबाट आनन्द आउँछ । नेपालको सबैभन्दा ठूलो रारा तालमा वर्षमा करिब ६० हजार नेपाली पुगेको तथ्यांक छ । विदेशी पर्यटकको संख्या भने उल्लेख्य देखिएको छैन ।
रारा नेपालको भर्जिन पदमार्गसहितको गन्तव्य हो । साहसिक यात्राको गन्तव्य पनि हो । रारा ताल बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी देखिन्छ । तालको वरिपरि मनोरम सल्लाघारी छ । साँझ तालको वरिवरि पैदल यात्रा गर्न सकिन्छ । प्रकृतिसँग विचरण गर्न मिल्छ । चराचुरुङ्गीको चिरबिरले मन प्रफुल्लित बनाउँछ । तालमा बोटिङ गर्न मिल्छ । तालको छेउमा टेन्टमा रात बिताएर आनन्द लिन सकिन्छ । राराबाट फर्किंदा मनोरम दृश्यबाहेक कर्णालीका स्थानीय उत्पादन, घरेलु उत्पादन टोपी, कपडा, स्याउका परिकारहरू कोसेलीको रूपमा ल्याउन सक्नुहुन्छ । कर्णालीको मौलिक उत्पादनहरू नेपालभर प्रसिद्ध छन् ।





error: Content is protected !!