कर्णालीका ४८ पालिका आधारभूत अस्पतालविहीन

हेमन्त केसी
सुर्खेत ः कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल रहेका छन् । स्वास्थ्य सेवा निर्देशनालयले दिएको जानकारी अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा रहेका छन् । प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका रहेका छन् । कुल ७९ स्थानीय तहका जम्मा ७१८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा १५ शैयाको जिल्ला अस्पताल र २३ वटा हेल्थ पोस्ट छन् ।

यहाँको कुनै पनि पालिकामा आधारभूत अस्पताल निर्माण हुन सकेका छैन । मुगुमा एक जिल्ला अस्पताल छ भने २४ वटा हेल्थ पोस्ट छन् । यहाँ चारवटा स्थानीय तह रहेका छन् । यहाँका पालिकामा पनि आधारभूत अस्पताल निर्माण हुन सकेको छैन । हुम्लामा २६ वटा हेल्थ पोस्ट रहेकामा जिल्ला अस्पताल एक रहेको छ । यहाँ सात वटा स्थानीय तह रहेका छन् । जुम्लामा हेल्थ पोस्टको संख्या २९ रहेको छ भने प्राथमिक स्वास्थ्य केन्द्र एक रहेको छ ।

यहाँ जिल्ला अस्पताल छैन भने संघ सरकारको मातहतमा रहेको कर्णाली स्वास्थ्य प्रतिस्ठान रहेको छ । जसले कर्णालीमा उपचारलाई सहज बनाएको छ । यहाँ आठ स्थानीय तह रहेका छन् । कालिकोटमा हेल्थ पोस्ट २७ र जिल्ला अस्पताल एक छ । नौ स्थानीय तहमा प्राथमिक अस्पताल संख्या पाँच रहेको छ । दैलेखमा प्राथमिक अस्पतालको संख्या चार रहेको छ भने हेल्थ पोस्टको संख्या ५५ रहेको छ । यहाँ ११ वटा स्थानीय तहमा चारवटा प्राथमिक अस्पताल रहेका छन् ।

जाजरकोटका सात स्थानीय तहमा तीनवटा प्राथमिक अस्पताल र ३० वटा हेल्थ पोस्ट रहेको स्वास्थ्य सेवा निर्देशनायलका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए । रुकुम पश्चिममा जनरल अस्पतालको संख्या एक रहेकोमा आधारभूत अस्पतालको संख्या चार रहेको छ । जिल्ला अस्पतालको संख्या एक रहेको छ । निजी अस्पतालको संख्या चार रहेको छ । यहाँ ६ वटा स्थानीय तह रहेका छन् । १० वटा स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको संख्या दुई रहेको हेल्थ पोस्टको संख्या ४४ रहेको छ । सुर्खेतमा एक कोभिड अस्पताल रहेको छ ।

त्यस्तै एक सेकेण्डरी अस्पताल, जनरल एक, प्राथमिक एक, ४७ वटा हेल्थ पोस्ट, निजी चारवटा अस्पताल रहेका छन् । तीनवटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । नौ स्थानीय तह सुर्खेतमा रहेका छन् । २१ वटा प्राथमिक अस्पताल रहेको कर्णालीमा ३३० वटा हेल्थ पोस्ट रहेको पाइएको छ । सातवटा जिल्ला अस्पताल रहेकोमा ११ वटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । ४८ पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुनसकेको छैन ।

जटिल भूगोल रहेको कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल नहुँदा यहाँका स्थानीयबासी समस्या भोग्दै आएका छन् । कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन प्रदेश सरकारले विभिन्न योजनाअघि सारेको छ । सरकारले नसर्ने रोग, कलिलै उमेरमा आमा हुने समस्या र घरमा सुत्केरी हुने दर घटाउने योजना अगाडि सारेको छ । पछिल्लो समय रक्तचाप, मधुमेह, क्यान्सरजस्ता नसर्ने रोगका साथै मानसिक रोगको समस्या बढ्दै गएको छ ।

गाउँबस्तीमा मानसिक रोग र नसर्ने रोग बढ्दै गएकाले आगामी दिनमा यी रोग निदानका लागि बजेट र कार्यक्रमसहितको योजना सञ्चालन गर्नुपर्नेमा एकमत भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । यस्तै २० वर्ष नपुग्दै आमा हुने प्रवृत्तिले स्वास्थ्य समस्या जटिल बन्दै जाँदा बालविवाह न्यूनीकरणलगायतका कार्यक्रमलाई पनि समन्वयका साथ प्रदेशभरका सबै स्थानीय तहसँग काम गर्ने योजना पनि बनाइएको छ ।

कर्णालीमा संस्थामा सुत्केरी हुने दर पनि घटेको छ । गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना गरिए पनि मापदण्ड अनुसारका नभएकाले घरमै सुत्केरी हुने दर केही बढेकाले अब बर्थिङ सेन्टरलाई मापदण्ड अनुसार बनाउने र दक्ष जनशक्ति पूर्ति गर्ने योजना पनि समीक्षा कार्यक्रममा गरिएको निर्देशनालयका निर्देशक डा। रविन खड्काले बताए । विगत वर्षको तुलनामा कर्णालीमा आठ प्रतिशतले घरमा सुत्केरी हुने दर बढेको छ । संस्थामा सुत्केरी हुने दर बढाउने कार्यक्रमलाई प्राथमिकता दिने निष्कर्ष निकालेको जानकारी उनले बताए ।

साथै कर्णालीका बालबालिका आफ्ना अभिभावक रोजगारका लागि भारततिर जाने हुँदा बालालिकाले पूर्णखोप पनि लगाउन छोड्ने समस्या पनि बढ्दै गएकाले पूर्ण खोप लगाउनका लागि पहल थालिने छ । स्वास्थ्य निर्देशक डा। खड्काले प्रदेश पूर्ण खोपयुक्त भइसक्दा पनि बालबालिका पूर्ण खोपबाट छुटेकाले उनीहरूलाई सबै खोप लगाउन पालिकाहरूलाई आवश्यक समन्वय गरी काम गर्नुपर्ने निर्णय भएको बताए ।

कर्णालीमा १२ वटा रणनीतिक अस्पताल प्रस्ताव
कर्णालीका सामाजिक विकास मन्त्रालयले रणनीतिक अस्पताल निर्माण गर्ने योजना अघि सारेको छ । सुर्खेतको पञ्चपुरी, दैलेखको दुल्लु र राकम कर्णाली, जाजरकोट नलगाड, रुकुमको आठविसकोट, सल्यानको बागचौर र वनगाड, डोल्पाको मुड्केचुला, कालिकोटको रास्कोट, जुम्लाको कनकासुन्दरी, मुगुको खत्याड र हुम्लाको अदानचुलीलाई रणनीतिक अस्पताल क्षेत्र तोकिने प्रस्तावित गरिएको छ ।

यी अस्पतालको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, क्षमता विकास तथा स्रोत व्यवस्थापन गरी रणनीतिक अस्पताल सञ्चालन गर्ने योजना रहेको मन्त्रालय बताएको छ । रणनीतिक अस्पतालहरूले दिगो विकासका स्वास्थ्यका उद्देश्यमा टेवा पुर्‍याउने अपेक्षा छ । ‘स्वास्थ्यलाई सहज सुलभ र पहुँचयुक्त बनाउन रणनीतिक अस्पतालको अवधारणा ल्याइएको मन्त्रालयको दाबी छ । भौगोलिक अवस्था, लाभान्वित जनसंख्या, निर्वाचन क्षेत्र, राजमार्ग लक्षित स्थान र बिरामीको चापका आधारमा रणनीतिक अस्पताल क्षेत्र छनोट गरिएको बताएको छ ।





error: Content is protected !!