स्वास्थ्यकर्मीले यसरी गरे भूकम्पमा काम

हेमन्त केसी, सुर्खेत : गत कात्तिक १७ गते राति ११ :४७ बजे आएको भूकम्पसँगै जाजरकोटका स्वास्थ्यकर्मी एकाएक ब्युँझिए। निद्रा खुल्नासाथ उनीहरूका लागि एउटा ठूलो परीक्षा शुरु भयो।
सुरक्षाकर्मीका टोली भूकम्पबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिँदै हातहातमा औजार लिएर जनधनको सुरक्षाका लागि निस्केजस्तै स्वास्थ्यकर्मी पनि स्वास्थ्यसामग्री लिएर बिरामीको ज्यान बचाउने ध्येयका साथ काममा जुटे।
भर्खरै मात्र भवन बनेर केही स्वास्थ्यकर्मीको व्यवस्थापन भएको जिल्ला अस्पताल र पालिकामा रहेका स्वास्थ्य संस्थामा भूकम्पबाट घाइते भएका बिरामी भरिभराउ हुँदा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भयो। रातिको समय भएकाले सबै खालका सामग्री जुटाउन समेत चुनौती भयो।
सीमित जनशक्तिका भरमा सञ्चालनमा रहेका जाजरकोटका स्वास्थ्य संस्थामा ल्याइएका घाइतेको पीडादायी अवस्थालाई हेर्दै ज्यान बचाउनु पहिलो प्राथमिता र बिरामीको वर्गीकरण गरेर अवस्था अनुसारको उपचार गर्नु अर्को चुनौती थियो। सामान्य बिरामीलाई पनि नेपालगञ्ज, सुर्खेत पठाउने गरेको आरोप लाग्दै आएको जाजरकोटको जिल्ला अस्पतालले भूकम्पको समय भने सक्रियतापूर्वक भूमिका निर्वाह गर् यो।
सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा रहेको नगर अस्पतालमा ठूलो समस्य परेको थियो। १५ शय्याको भवन निर्माण पूरा नभएको र अर्कोतिर भएका संरचना समेत भूकम्पले भत्किएपछि उपचारमा भारी समस्य भएको थियो। भूकम्प जानेबित्तिकै विद्युत सेवा समेत बन्द भएको थियो। फोन सेवा समेत प्रभावकारी नहुँदा थप हैरानी खेप्नु परेको जाजरकोट अस्पतालमा कार्यरत लालबहादुर बस्नेतले जानकारी दिए।
नलगाडमा ५१ जना घटनास्थलमै मृत्यु भएको थियो भने धेरै स्थानीयवासी घाइते भएका थिए। सबै ठाउँमा कच्ची सडक सँगै सञ्चार सेवा सबै ठाउँमा नहुँदा सही सूचन लिएर स्वास्थ्य संस्था सम्म बिरामीलाई ल्याउने काम गाह्रो थियो। दल्लीस्थित स्वास्थ्य संस्थाको भवन भत्किएका कारण खुला चौरमा भूकम्पबाट घाइते भएकालाई उपचार गरिएको थियो।
गम्भीर घाइते अवस्थामा रहेका बिरामीलाई तीन घण्टा टाढा रहेको सदरमुकाम स्थित जिल्ला अस्पताल र चौरजहारी अस्पतालमा पुर् याउन झन अर्को समस्य भएको स्वास्थ्यकर्मी हेमा पुनले बताइन्।
बिरामी ल्याउन र उपचार गर्न सबै भन्दा बढी समस्य नलगाड नगरपालिकामा भएको थियो। पुनका अनुसार चारैतीरबाट बिरामी ल्याइएका थिए। कहाँ के भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत पाउन सजिलो थिएन।
रातको समयमा नेपाल टेलिकमका टावरले काम नगर्ने भएकाले घटनाको विवरण लिन र दिन समेत ‘फलामको चिउरा चपाए’झैँ भएको थियो। भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटमा भारी क्षति भएको हुन सक्ने अनुमान गरिएपनि भोलिपल्ट अर्थात् कात्तिक १८ गते बिहान १० बजे मात्र फोन सेवा सञ्चालनमा आएपछि जानकारी लिन सकिएको थियो।
बारेकोटमा भौतिक संरचनामा क्षति भए पनि मानवीय क्षति नभएको खबर पाएपछि जिल्लाका सुरक्षा अधिकारी सूचनाको पहुँचमा पुगेका थिए। शुरुमा आँकलन गरेभन्दा ठूलो मात्रामा विवरण सार्वजानिक भएपछि उपचार तथा उद्धारको पाटो चुनौतीपूर्ण बनेको थियो। सदरमुकाममा सबै प्रकारका सुरक्षा टोली भएर उद्धारमा खटिएका थिए। तर नलगाडमा प्रहरी, स्वास्थ्यकर्मी , कर्मचारी र जनप्रतिनिधिले हैरानी खेप्नु परेको थियो।
नलगाडका अधिकांश स्वास्थ्य संरचनामा क्षति भएको अवस्थामा रहेको थियो। भूकम्प गएको आधा घण्टा भित्र सबै स्वास्थ्यकर्मीलाई नगर अस्पतालमा उपस्थित गराएर काम गरिएको नगर प्रमुख डम्बर रावतले बताए।
सशस्त्र युद्धका वेला घाइतेको उपचार तथा उद्धारको काम नजिकबाट नियालेका नगर प्रमुख रावतले भूकम्पको समय त्यो सिकाइ काम लागेको बताए। उपचार,उद्धार, आवास, खानाको समस्याले एकै पटक घेर्दा विकट ठाउँमा पालिकाले काम गर्न चुनौती हुने उनले अनुभव गरे। त्यसैले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई मजबुत बनाउन ध्यान दिनुपर्ने उनको भनाइ छ।



