सन् २००४ मा आजकै दिन ः ‘स्ट्याच्यु अफ लिबर्टी’ पुनः खुला

काठमाडौँ ः सन् २००४ मा आजकै दिन (अगस्ट ३) मा अमेरिकाको ‘स्ट्याच्यु अफ लिबर्टी’ पुनः खुला गरिएको थियो । अमेरिकामा २००१ को सेप्टेम्बर ११ को आतंककारी आक्रमणपछि सुरक्षाको कारण देखाउँदै न्युयोर्क हार्बरस्थित लिबर्टी टापुमा रहेको ‘स्ट्याच्यु अफ लिबर्टी’ बन्द गरिएको थियो ।

तीन सय पाँच फिट अग्लो मूर्ति स्वतन्त्रताको प्रतीकका रूपमा विश्वमै चर्चित छ । फ्रान्समा निर्माण गरिएको मूर्ति दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनका लागि अमेरिकालाई उपहार स्वरूप प्रदान गरिएको हो ।

फ्रान्सेली इतिहासकार एडुआर्डो डे लाबोले १८६५ मा मूर्ति बनाउने प्रस्ताव गरेका थिए । जस अनुसार मूर्ति निर्माणका लागि स्थापना गरिएको कोषमा फ्रान्सेली जनताले योगदान गरेका थिए । १८७५ मा मूर्तिकार फ्रेडरिक अगस्टे बार्थोल्डीको नेतृत्वमा मूर्ति निर्माण सुरु भएको थियो । १८८६ मा निर्माण गरिएको ‘स्ट्याच्यु अफ लिबर्टी’ को एक हातमा महिलाले मसाल बोकिरहेकी छन् । अर्को हातमा भने अमेरिका स्वतन्त्र भएको वर्ष १७७६ लेखिएको छ । मूर्तिमा रहेकी महिलाको अनुहार मूर्तिकारकी आमाको हो ।

मूर्तिमा महिलाले बोकेको मसालमा २४ क्यारेटको शुद्ध सुन प्रयोग गरिएको छ । बन्धनमा रहेको देशले स्वतन्त्रता पाएको अवस्था चित्रित गर्न मूर्तिकारले ‘स्ट्याच्यु अफ लिबर्टी’ को खुट्टामा टुक्रिएको सिक्री बनाएका हुन् ।





error: Content is protected !!