होलीमा मोबाइललाई यसरी जोगाउने कि ?

काठमाडौं– आज काठमाडौं उपत्यका लगायत पहाडी भूभाग तथा भोलि सोमबार तराईमा होली मनाइँदैछ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले ठूलो संख्यामा भेला भएर होली नखेल्न आग्रह गरिसकेको भए पनि मानिसहरुले आ–आफ्नो घरमै बसेर भए पनि होली खेल्ने योजनाहरु बनाइसकेका छन् ।

हर्ष र उल्लासले भरिएको यो पर्वमा मानिसहरु रंगी–बिरंगी रंगहरुसंग खेल्न मन पराउँछन् ।

होलीमा केही व्यक्तिहरु सुख्खा रंगसंग खेल्न मन पराउँछन् भने केही व्यक्तिहरु पानीमा रंग घोलेर एक–अकासंग होली खेल्न मन पराउँछन् ।

होली एउटा त्यस्ता पर्व हो, जहाँ मानिसहरु सबै कुरा बिर्सिएर होलीको रंगमा रंगिन्छन् ।

होली खेल्ने क्रममा हामी हाम्रो साथमा महंगो स्मार्टफोन अर्थात मोइबाल पनि छ भन्ने कुरा बिर्सन्छौं, जुन शायद पानीका कारणले बिग्रन पनि सक्दछ ।

यदि तपाईंले पनि विगतमा त्यस्तै समस्या भोग्नु भएको छ भने त्यसबाट बच्न यहाँ उल्लेखित कुराहरु ध्यान दिएर पढ्नु होला, जुन होलीको दिन तपाईंलाई निकै उपयोगी हुनेछ ।

होलीको दिन प्रायस् सबैको हात भिजेको हुन्छ । त्यसैले भिजेको हातले मोबाइल फोन प्रयोग नगर्नु होला । हातलाई सुकाएर मात्र तपाईंले आफ्नो फोन चलाउनु होला ।
होलीमा ठाउँ–ठाउँमा बालबालिकाहरु पानीले भरिएको बेलुन अर्थात लोला र पानीले नै भरिएको पिचकारी लिएर सडकमै उत्रिएका हुन्छन् । त्यस्तो बेला तपाईंले आफ्नो मोबाइललाई बचाउनका लागि बजारमा उपलब्ध हुने वाटरप्रूफ कभरको प्रयोग गर्न सक्नु हुनेछ ।
होली खेल्न थाल्नु भन्दाअघि तपाईंले आफ्नो मोबाइललाई वाटरप्रूफ ब्यागमा पनि राख्न सक्नु हुनेछ । बजारमा निकै कम मूल्यमा तपाईंले त्यस्ता ब्यागहरु पाउन सक्नु हुनेछ ।
होली खेल्ने क्रममा तपाईंको टाउको भिजेको छ भने पनि मोबाइलको प्रयोग नगर्नु होला । किनभने यदि कानको छेउमा पानी भयो भने उक्त पानी मोबाइलमा पस्ने सम्भावना हुन्छ । त्यस्तो भयो भने तपाईंको मोबाइल बिग्रन सम्भावना अत्यधिक हुन्छ ।
होलीको दिन यदि तपाईं मोबाइल लिएर घर बाहिर जाँदै हुनुहुन्छ भने आफूसंगै एयर फोन अथवा ब्लूटूथ लैजान नबिर्सनु होला । यी सामग्रीको प्रयोगले होलीको दिन सहजै कुराकानी गर्न सक्नु हुनेछ ।
यदि यति गर्दा–गर्दै पनि तपाईंको मोबाइला फोनमा पानी पस्यो भने न त मोबाइलमा आएको फोन उठाउनु होला, न त कसैलाई मोबाइलबाट कल नै गर्नु होला । यदि तपाईंले मोबाइलमा पानी पसेकै अवस्थामा फोन उठाउने अथवा कल गर्नु भयो भने सिग्नल समात्ने प्रयासमा स्पार्किङको समस्या पैदा हुन सक्नेछ ।
मोबाइल फोनमा यदि पानी पस्यो भने त्यसलाई तुरुन्त स्विच अफ गर्नु पर्छ र मोबाइलबाट ब्याट्रि निकाल्नु पर्छ । सुकेपछि त्यसलाई सफा सुतीको कपडाले राम्ररी पुछ्नु पर्छ ।
मोबाइल फोन राम्ररी नसुकञ्जेलसम्मका लागि मोबाइललाई अन गर्नु हुँदैन । यदि राम्ररी सुकेको छैन भने मोबाइलको भित्री भाग ओसिलो भैरहन्छ, जसले ब्याट्रिलाई समेत बिगार्न सक्छ ।
एउटा पुरानो तथा प्रभावकारी तरिका के पनि छ भने यदि तपाईंको मोबाइल भिज्यो भने त्यसलाई चामलको डब्बाको बीचमा राख्न सक्नु हुनेछ । करिव १२ घण्टासम्म मोबाइललाई त्यसरी डब्बामै राख्नु पर्छ । यसले फोनको भित्री भागको ओसिलोपनालाई हटाउँछ ।
प्रायस् मानिसहरु के भन्छन् भने भिजेको मोबाइललाई सुकाउनका लागि हेयर ड्रायरको प्रयोग गर्न सकिन्छ, तर यो सत्य होइन । त्यसो गर्दा मोबाइलमा भएको मदर बोर्डमा समस्या आउने सम्भावना हुन्छ । त्यसो त कतिपय मानिसहरुले भ्याकूम क्लिनरले पनि भिजेको मोबाइललाई सुकाउने गर्दछन् । यद्यपि, फोन सुकाउने उक्त तरिकाका पनि आफ्नै समस्याहरु हुन्छन् ।





error: Content is protected !!