आफ्नै पत्नीलाई जुवाको दाउमा राखे एक पुरुषले, जित्नेले गरे बलात्कार ?

जुवा खेल्ने व्यक्तिले केसम्म गर्न सक्छन् भन्ने एक उदाहरण बनेको छ, भारतमा घटित एक घटना ।

जुवामा नगद गुमाइसकेका एकजनाले पत्नीलाई नै दाउमा राखेर जुवा खेलेका छन् । र जित्ने भनिएका दुई जनाले घरमै गएर महिलालाई सामूहिक बलात्कार गरेको घटना प्रकाशमा आएको हो ।

इन्दौरको राउ निवासी ३८ वर्षीया महिलाले हालै प्रहरीको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो पीडा सार्वजनिक गरेकी हुन् ।१४ वर्षअघि पीथमपुर निवासी किशोर नाम गरेका युवकसँग आफ्नो विवाह भएको र चार सन्तानसमेत रहेको जानकारी दिदैं ती महिलाले पतिले कथित रुपमा जुवामा आफूलाई हारेपछि दुई जनाले सामूहिक बलात्कार गरेको जनाइन् ।

उनका अनुसार ती दुई पुरुष घरमै आएका थिए । त्यतिबेला उनको पति भने घरमा नरहेको बताइन्छ । छोराछोरी भएकै समयमा घरमा आएर उनीहरुले आफूलाई ‘तिम्रो पतिले तिमीलाई जुवामा हारिसकेका छन्, तिमी अब हाम्री भयौ,’ भन्दै बलात्कार गरेको उनले बताइन् ।

सो घटनापछि आफूले घर परिवर्तन गरेको र अलग्गै बस्न थालेको बताइन् । तर पति र ती दुई पुरुषले बारम्बार आफूलाई दुःख दिने र धम्क्याउने गर्दै आएको भन्दै महिलाले प्रहरीसमक्ष गुनासो गरेकी छन् ।

ती महिलाका उनका पतिले छोरीलाई समेत जुवाको दाउ राख्ने धम्की दिँदै आएका छन् । इन्दौरको प्रहरी उपमहानिरीक्षक कार्यालयमै आयोजित कार्यक्रममा महिलाले आफ्नो पीडा सुनाएपछि प्रहरीले सो घटनाको छानविन थालेको छ ।

इन्दौरको पूर्वी क्षेत्रका प्रहरी प्रमुखले सम्बन्धित प्रहरी थानालाई छानविनको जिम्मेवारी दिइएको जनाएका छन् ।





error: Content is protected !!