दुई हिउँचितुवामा रेडियो कलर जोडिँदै – करिब १ करोड १० लाख खर्चसहितको ‘अपरेसनल म्यानुअल’ शे–फोक्सुन्डो निकुञ्जले स्वीकृतिका लागि निकुञ्ज विभागमा पेस

विश्वमै दुर्लभ हिउँचितुवाको विचरण क्षेत्र र उसको आनीबानीबारे अध्ययन गर्न शे–फोक्सुन्डो निकुञ्जमा यस वर्ष थप दुईवटा हिउँचितुवामा जीपीएस स्याटेलाइट कलर जोड्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि निकुञ्जले बजेटसहितको ‘अपरेसनल म्यानुअल’ स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पेस गरेको छ ।

निकुञ्जले हालै विभागका पेस गरेको म्यानुअलमा यो वर्ष शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङ क्षेत्रका दुई हिउँचितुवामा स्याटेलाइट कलर जडान गरिने उल्लेख छ । ऐतिहासिक शे–गुम्बा आसपासको क्षेत्रका हिउँचितुवामा रेडियो कलर जडान गर्न निकुञ्जले प्रस्ताव गरेको छ । एघारौं शताब्दीमा बनेको शे–गुम्बा र फोक्सुन्डो ताललाई मिलाएर २०४० सालमा निकुञ्ज स्थापना भएको हो । हिउँचितुवाको घनत्वका हिसाबले यो निकुञ्जलाई राम्रो मानिन्छ ।

‘साल्दाङ क्षेत्रको निसालगाउँ नजिक (७५ वर्ग किमि क्षेत्र) हिउँचितुवामा कलर जडान गर्न सकिने देखिन्छ,’ निकुञ्जले विभागमा पेस गरेको प्रस्तावमा भनिएको छ, ‘प्रस्तावित क्षेत्र नेपाल–तिब्बतको सीमाबाट १०–१५ किमिको दूरीमा छ ।’ निकुञ्जले प्रस्ताव गरेको लोकेसननजिक नसालगाउँ, लुरीगाउँ, याङ्जेर गुम्बा, किगाउँ र तिलिङलगायतका बस्ती छन् । आहारको खोजीमा हिउँचितुवा मानव बस्तीनजिक आउजाउ गर्ने भएकाले उक्त क्षेत्रलाई प्रस्ताव गरिएको हो ।

डोल्पाका हिउँचितुवाबारे पहिलोपटक जर्मनीमा जन्मेका जर्ज बिल्स स्यालरले अध्ययन गरेका हुन् । सन् १९७३ तिर उनी पोखराबाट ढोरपाटन हुँदै हिउँचितुवा अध्ययनका लागि उपल्लो डोल्पा गएका थिए । स्यालरले फोक्सुन्डो ताल र शे–गुम्बा क्षेत्रमा हिउँचितुवाका पाइला ९पगमार्क० पछ्याएर अध्ययन गरेका थिए । त्यसको १३ वर्षपछि अमेरिकी वन्यजन्तुविज्ञ रोड्नी ज्याक्सनले पहिलोपटक रेडियो कलर जडानमार्फत हिउँचितुवाको अध्ययन गरे । त्यो विश्वमै पहिलोपटक थियो ।

स्याटेलाइट कलरका लागि डब्लूडब्लूएफ नेपालले आर्थिक र राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटीएनसी० ले प्राविधिक सहयोग गर्ने म्यानुअलमा उल्लेख छ । दुईवटा हिउँचितुवामा कलर जडानका लागि १ करोड ९ लाख ८६ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान छ । २०७६ कात्तिक–मंसिरमा पनि निकुञ्जको भिजेर क्षेत्रमा दुई हिउँचितुवामा स्याटेलाइट कलर जडान गरिएको थियो । त्यतिबेला पनि एक करोड रुपैयाँभन्दा बढी खर्च भएको थियो, त्यो रकम डब्लूडब्लूएफ नेपालले नै सहयोग गरेको थियो । एक करोड ९ लाखमध्ये त्यहाँ खटिने जनशक्तिको डीएसए खर्चमा ३६ लाख ६० हजार, फिल्डको लजिस्टिकमा ४४ लाख ९५ हजार र रिचर्स इक्विपमेन्टलगायतमा २८ लाख ३१ हजार ५ सय रुपैयाँ खर्च हुनेछ ।

सरकारले २०७५ भदौ २१ मा अनुसन्धान प्रयोजनका लागि मध्य र पश्चिम भागका १२ वटा हिउँचितुवामा कलर जडान गर्ने निर्णय गरेको थियो । त्यसमध्ये शे–फोक्सुन्डो निकुञ्जका ४ वटामा कलर जडान गरिने भनिएको थियो । त्यसैले यो वर्ष थप दुईवटामा जडान प्रक्रिया अघि बढाइएको हो । २०७६ कात्तिकमा कलर जडान गरिएको ‘जेबोरोङ’ ९३–४ वर्ष० र ‘सामलिङ’ ९६–८ वर्ष० नामका हिउँचितुवा भने मृत भेटिएका थिए । जोबोरोङ गत वैशाखमा कु गाउँमा र सामलिङ, कात्तिकमा भिजेरको भीरमा मृत भेटिएका हुन् । कलर जडानपछि जेबोरोङबाट १६९ दिन र सामलिङबाट १९२ दिनसम्म स्याटेलाइट कलर चिप्समार्फत सन्देश प्राप्त भएको थियो ।

शे–फोक्सुन्डोमा रेडियो कलर जोड्नुअघि सरकारले डब्लूडब्लूएफ नेपालकै आर्थिक सहयोगमा ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रका ५ वटा हिउँचितुवाको घाँटीमा रेडियो कलर जडान गरेको थियो । कलर जडानपछि कञ्चनजंघाका हिउँचितुवाको आउजाउ चीनको कोमोलाङमा नेचर रिजर्भ र भारतको कञ्चनजंघा नेसनल पार्कसम्म हुने गरेको थाहा भएको थियो । कलर जडानपछि हिउँचितुवाले हिँडेको क्षेत्रफललगायत गतिविधि पत्ता लगाउन प्राविधिकलाई सहज हुन्छ ।

शे–फोक्सुन्डो निकुञ्जमा २०७६ मा गरिएको रेडियो कलर जडानले उक्त क्षेत्रमा हिउँचितुवाको घनत्व कञ्चनजंघामा भन्दा बढी रहेको प्रस्ट्याएको एक प्राविधिकले बताए । ‘शे फोक्सुन्डो क्षेत्रमा प्रति १ सय वर्ग किमिमा हिउँचितुवाको घनत्व ४-६ रहेको देखिन्छ,’ निकुञ्जको प्रतिवेदनमा भनिएको छ, ‘जबकि सन् २०१७ मा कञ्चनजंघामा गरिएको अध्ययनले प्रति १ सय वर्ग किमिमा हिउँचितुवाको घनत्व १ मात्र थियो ।’

हिउँचितुवामा विद्यावारिधि गरिरहेका कमल थापाका अनुसार नाउर र झारल उसको मुख्य आहार हो । शे–फोक्सुन्डोमा नाउर बढी छन् । चितुवाले गाई, चौंरीका बाच्छाबाच्छी, च्याङ्ग्रा, फ्याउ मुसा र कस्तुरी मृगलाई पनि सिकार गर्छ । लजालु स्वभावको हिउँचितुवा नेपालसहित अफगानिस्तान, पाकिस्तान, चीन, किर्गिस्तान, कजाकस्तान, ताजकिस्तान, उज्वेकिस्तान, रुस, भुटान, भारत र मंगोलिया गरी १२ देशमा पाइन्छ । विश्वभर हिउँचितुवाको संख्या करिब ३ देखि ६ हजार अनुमान गरिएको छ । पुरानो तथ्यांकअनुसार नेपालमा करिब ५ सय हाराहारीमा हिउँचितुवा रहेको अनुमान छ ।





error: Content is protected !!