भीडभाडमा संक्रमणबाट कसरी जोगिने ?

डाक्टरको सल्लाह
लकडाउन खुकुलो भएसँगै चोकहरूमा मानिसको भीडभाड बढ्दो छ । जीवनशैली पुरानै लयमा फर्किन लाग्दा कोरोना संक्रमणको जोखिम पनि बढ्दो छ । आपसमा कम्तीमा एक मिटर टाढा बस्ने, मास्क लगाइरहने, दुईपांग्रे सवारीमा एकजना र साना निजी गाडीमा दुईजना मात्र यात्रा गर्नुपर्ने नियम छ । तर, सडकमा ती नियम पालना गरेको पाइँदैन । सार्वजनिक सवारीसाधन र आन्तरिक उडान पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।

याद राखौँ, लकडाउन खुकुलो बनाइएको हो, कोरोना संक्रमणको जोखिम घटेको होइन । उल्टो, तीव्र रूपमा फैलिइरहेको छ । त्यसैले अत्यावश्यक कामबाहेक भीडभाडमा सकेसम्म ननिस्किऔँ । बाहिर निस्किँदा सार्वजनिक स्थलमा भाइरस नसरोस् भनेर पर्याप्त सावधानी अपनाऔँ ।

सार्वजनिक सवारीमा सावधानी
सडकमा ट्राफिक जाम बढिरहेको छ । आफ्नै साधन हुने व्यक्तिले सकेसम्म कम ट्राफिक जाम हुने रुट रोजौँ । कार्यालय, उद्योग व्यवसाय, विद्यालय तथा कलेजहरू सञ्चालनमा आएपछि सार्वजनिक सवारीसाधनको प्रयोग अनिवार्य हुन्छ । तर, सार्वजनिक सवारीमा हुने भीडभाडमा संक्रमणको जोखिम उत्तिकै छ । सवारीसाधनमा चढ्नुअघि हात सफा गरौँ, ढोका वा ह्यान्डल सकेसम्म नछोऔँ, छोइएमा तत्काल स्यानिटाइजर प्रयोग गरौँ । सार्वजनिक सवारीसाधनका सञ्चालकले पनि एकतिहाइ मात्र यात्रु राखौँ । सवारीसाधनबाट उत्रिएपछि र सहचालकसँग पैसाको लेनदेनपछि पनि साबुनपानीले मिचीमिची हात धोऔँ । चालक वा सहचालकले एन–९५ र यात्रुले सर्जिकल वा कपडाको मास्क प्रयोग गरौँ ।

व्यावसायिक स्थलमा भौतिक दूरी अनिवार्य
सपिङ मललगायत व्यावसायिक स्थलमा भौतिक दूरी बेवास्तामा पर्न थालेको छ । यस्ता स्थानमा राखिएका सामान जथाभावी नछोऔँ । कोरोना भाइरस विभिन्न वस्तुमा लामो समय जीवित रहन्छ । त्यसैले सजग रहनुको विकल्प छैन । अन्य व्यक्तिको सम्पर्कमा रहने कर्मचारी र व्यवसायीले अनिवार्य पन्जा प्रयोग गरौँ । तर, सबैले पन्जा लगाउनुपर्छ भन्ने छैन । किनकि, पन्जा पनि भाइरस प्रसार हुने जोखिमबाट मुक्त छैन ।

खानेकुराको सुरक्षित उपयोग
भाइरस संक्रमणबाट बच्न खानेकुरा उपभोगमा विशेष सावधानी जरुरी छ । सार्वजनिक सवारी र स्थलमा खाना नखाऔँ । भीडभाडयुक्त र पर्याप्त सफाइ नगरिएका रेस्टुराँमा खाना नखानु नै बेस हुन्छ । घरमा खानेकुरा ल्याउनुपर्दा सुरक्षित प्याकिङ आवश्यक छ । खाना खाइसकेपछि सुरक्षित विसर्जन गर्नुपर्छ । भीडभाडमा पानी वा अन्य पेयपदार्थ प्रयोग नगरौँ । अन्य सामानजस्तो खाद्यपदार्थलाई डिसइन्फेक्ट गर्न नसकिने भएकाले विशेष ख्याल गर्नु आवश्यक छ ।

पर्याप्त भेन्टिलेसन
कोरोना संक्रमण न्यूनीकरणका लागि भेन्टिलेसन महत्वपूर्ण मानिएको छ । सार्वजनिक सवारीमा यात्रा गर्दा झ्याल खुला राख्ने, रेस्टुराँ, कार्यालय, व्यापारिक स्थलमा पनि हावा पास हुने व्यवस्था गर्नुपर्छ । हावा बाहिरिन नसक्ने स्थलमा कोरोना प्रसारको जोखिम बढी हुन्छ । खुला स्थलमा त्यसको जोखिम कम हुन्छ ।





error: Content is protected !!