आठबीसमा आफ्नै पाठ्यक्रम

रुकुम पश्चिम । आठबीसकोट नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि थप अर्को विषय पढ्नुपर्ने भएको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

नगरपालिकामा ७ बालशिक्षासहित ५९ सामुदायिक विद्यालय छन् । स्थानीय पाठ्यक्रम बनाउने अधिकार प्रयोग गर्दै नगरपालिकाले पाठ्यक्रम निर्माणलाई तीव्रता दिएको हो । गत जेठ पहिलो साता बसेको कार्यपालिका बैठकले स्थानीय पाठ्यक्रम बनाएर लागु गर्ने निर्णय गरेको थियो । यसको लागि ५० पूर्णाङ्कको पाठ्यक्रम बनाउने र चालु शैक्षिक सत्रदेखि लागू गर्ने भनिएको थियो । तर, त्यसको लागि तयारी नपुगेपछि १०० पूर्णांककै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रदेखि पठनपाठन हुन लागेको नगरपालिकाका शिक्षा संयोजक एवं नगरप्रमुख गोर्खबहादुर केसीले बताए ।

पटक–पटकको छलफल र सुझाव संकलनपछि पाठ्यक्रमलाई अन्तिम चरणमा पुर्‍याइएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक थलबीर ओलीले बताए । विषय विशेषज्ञसँगको छलफल र जनप्रतिनिधि, शिक्षाविद्, शिक्षाप्रेमी, स्थानीय अगुवालगायतको सुझावका आधारमा पाठ्यक्रम तयार भइरहेको उनको भनाइ छ । ‘पाठ्यक्रममा सैद्धान्तिक कम र व्यवहारिक कुरा बढी समावेश गरिएक छन्,’ उनले भने, ‘पाठ्यक्रममा खेती–किसानदेखि दिगो विकासका लक्ष्यहरू समावेश गरिएका छन् ।’

उनका अनुसार विभिन्न २२ विषयवस्तुमा केन्द्रित रही पाठ्यक्रम तयार भइरहेको छ । नियमित पठनपाठनका अलावा जान्नैपर्ने कुरा सिकाउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागु गर्न लागिएको उनले बताए । दिगो विकासका लक्ष्य, पूर्ण सरसफाइका ७ सूचक, कृषि तथा पशुपालन, वन, वातावरण तथा विपद् व्यवस्थापन, स्थानीय स्रोतसाधनमा आधारित व्यवसायबारे विद्यार्थीले अध्ययन गर्नुपर्ने संयोजक ओलीले बताए । ‘बालबालिकाको सिर्जनशीलता र नयाँ खोज, सदाचार, नैतिकता, नगरपालिकाको समृद्धि, विकास र पहिचानमा योगदान पुग्ने विषयवस्तु पनि पाठ्यक्रममा समावेश छन्,’ उनले भने, ‘समाज नकारात्मकतातिर गइरहेका बेला सकारात्मक मार्गतिर विद्यार्थीलाई प्रेरित गर्न नयाँ पाठ्यक्रमले सघाउनेछ ।’ नितान्त नौलो अभ्यासमार्फत सबैलाई नगरको विकासमा जोड्ने प्रयास भएको उनले बताए । स्थानीय पाठ्यक्रमले बालबालिकालाई सिर्जनशील बनाउन सहयोग पुर्‍याउने उनको भनाइ छ ।

पोषण तथा अर्गानिक खाना, स्वास्थ्य, शारीरिक तथा सरसफाइ, नैतिक शिक्षा, सामाजिक मूल्य–मान्यता, असल व्यवहार, सिर्जनात्मक तथा सकारात्मक सोचाइका विषयमा पनि पठनपाठन गर्ने
नगरपालिकाको योजना छ ।

नगरपालिकाले दिइएको विषयवस्तुमा केन्द्रित भई नेपाल करियर ट्रेनिङ फाउन्डेसनले पाठ्यक्रम निर्माणलाई अन्तिम चरणमा पुर्‍याएको छ । सानै उमेरदेखि बालबालिकालाई सबै विषयप्रति गम्भीर बनाउन स्थानीय पाठ्यक्रम बनाएर लागू गर्ने तयारीमा रहेको नगर प्रमुख केसीले बताए । ‘एउटा बालक आफू कति जिम्मेवार छ, एक अर्काप्रति कति सहयोगी छ जस्ता व्यहारिक कुरा अध्ययन गरेर नम्बर दिइने गरी पाठ्यक्रम बनाउने लागिएको हो,’ उनले भने, ‘कृषि, पशुपालन, श्रमप्रतिको लगाव पनि हेरेर मुल्यांकन गरिनेछ ।’

दिगो विकासका लक्ष्यबारे जानकारी गराइ नगरपालिकाको विकास र समृद्धिप्रति प्रतिबद्ध हुने भावनाको विकास गराउन खोजिएको उनले बताए । विद्यार्थीको घरबारी र खेल्ने ठाउँमा पुगेर उनीहरूको मूल्यांकन गरेर नम्बर दिइने उनले जानकारी दिए ।





error: Content is protected !!