डोल्पामा अज्ञात रोगले गाउँ नै थला पर्‍यो काठमाडौंबाट कोरोना भित्रिएको भन्दै स्थानीय त्रसित

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडा गाउँमा अज्ञात रोगका कारण मानिसहरु थला परेका छन् । प्रशिद्ध मुकुटेश्वर हिमालको फेदीमा रहेको उक्त गाउँमा ४० जनाभन्दा धेरै स्थानीय थला परेका छन् ।

‘४५ घरधुरी रहेको करेलीकाँडामा स्थानीय रोगले थला परेको एक साता धेरै भइसक्यो, घरैपिच्छे बिरामी देखिन थालेका छन्’, स्थानीय सुवास लामाले बताए । ‘एकपछि अर्को गरी गाँउभरि नै रोग फैलन लागिसक्यो, औषधि भने छैन’, लामाले भने ।

बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रोगले सताएको उनले बताए । गाउँबाट स्वास्थ चौकी धेरै टाढा भएकाले बिरामी हिँडेर पुग्ने अवस्था नहुँदा स्वास्थ्य चौकीबाट ल्याइएको औषधि प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।

बिरामीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिंगटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिने गरेको स्थानीयले बताए । लक्षण देखिएका र बिरामी भएकासँगै बसेर कुराकानी गरेकालाई समेत उक्त रोगले समात्ने गरेको स्थानीयले बताएका छन् ।

एकै घरका नौ जनासम्म बिरामी छन्, दैनिकजसो रोग फैलिँदै छ, औषधि नभएकाले सबैले औषधि खान पाएका छैनन्,’ स्थानीय विष्णु बुढाले भने । बिरामीहरु गाउँदेखि एक घण्टा समय लाग्ने त्रिपुराकोट बगरमा रहेका निजी क्लिनिक धाउन थालेका छन् ।

केही दिनयता करेलीकाँडा गाउँबाट उपचारका लागि आउने बिरामीको संख्या ह्वात्तै बढ्न थालेको मेडिकल सञ्चालक गोरबहादुर विकले जानकारी दिए । आइतबार मात्रै पाँच जना बिरामीहरू उपचारका लागि आएका उनले बताए । उपचारका लागि आउने बिरामीहरुमा टाउको दुख्ने, ज्वरो आउने, बान्ता हुने जस्ता लक्षण देखिएको विकले बताए ।

काठमाडौंबाट फर्केकाबाट फैलियो गाउँभरि 

काठमाडौंबाट फर्केका व्यक्तिमा यो रोगको संक्रमण रहेको र उनीहरुकै कारण गाउँभरि सरेको हुनसक्ने स्थानीय ताम्बा लामाले बताए । ‘काठमाडौंबाट आएका स्थानीयलाई यस्तो लक्षण देखिएको थियो, त्यसपछि उनीहरुको परिवारमा सर्‍यो, अनि एकपछि अर्को गर्दै गाउँमा फैलिएको होे,’ लामाले बताए ।

उनका अनुसार काठमाडौंबाट आउनुभन्दा अघि कसैमा यो रोग लागेको थिएन । ताम्बा भन्छन्, ‘गाउँभरि कोरोना फैलिएको त्रास छ, काठमाडौंबाट भित्रियो भन्ने हल्ला छ ।’ तर गर्मी मौसम सुरु भएकाले मौसमी फ्लु हुनसक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

प्रहरी र स्वास्थकर्मी प्रकोप क्षेत्रमा जाँदै

रोगले गाउँ नै थला परेको खबर पाएपछि प्रहरी चौकी र त्रिपुराकोट र स्वास्थकर्मीको टोली प्रकोप क्षेत्रमा गइरहेको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ । आज बिहान मात्रै स्थानीय जयबहादुर लामा र ताम्बा लामा निवेदन र स्वास्थकर्मीसहित औषधि पठाइदिन माग गर्दै नगरपालिका कार्यालय पुगेका थिए ।





error: Content is protected !!