महासागरको तापक्रम ७ वर्षयताकै उच्च

लन्डन — जलवायु परिवर्तनका कारण महासागरहरूको तापक्रम गत साता रेकर्डको स्तरमा पुगेको छ । युरोपेली संघ (ईयू) को जलवायु परिवर्तन सेवा कोपरनिकसका अनुसार शुक्रबार समुद्री तापमान २०.९६ सेल्सियससम्म पुगेको हो । पछिल्लो पटक सन् २०१६ मा यस्तो तापमान २०.९५ सेल्सियस पुगेको थियो ।
जलवायु नियमनमा महत्त्वपूर्ण भूमिका रहेको महासागरले ताप सोस्दै आएको छ भने पृथ्वीको आधा अक्सिजन पनि उत्पादन गर्छ । यस्तै, मौसमलाई सन्तुलनमा राख्न पनि यसको भूमिका हुन्छ । महासागर तात्नुको अर्थ कार्बनडाइअक्साइड सोस्ने क्षमतामा कमी आउनु हो ।
यसबाट पृथ्वीलाई तातो बनाउने ग्यासको धेरै मात्रा वायुमण्डलमा नै रहनेछ, जसले महासागरमा हुने हिमचट्टानहरू पग्लिने र समुद्री सतह वृद्धिको जोखिम हुनेछ । महासागर तात्दा माछा, ह्वेल जस्ता समुद्री प्रजातिलाई असर पार्ने र उनीहरू चिसो पानीको खोजीमा लाग्दा खाद्यशृंखलामा असर पर्नेछ । यसले माछाको भण्डारमा पनि असर पार्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् । उनीहरूका अनुसार तातोपानीका कारण भ्रमित भएर सार्कलगायत समुद्री जीव थप आक्रामक हुन सक्नेछन् ।
महासागरको तापक्रम वृद्धिले समुद्री जीवका साथै वनस्पतिको जीवनमा असर पर्ने बताइएको छ । निश्चित समुद्री जीवको विस्तार तथा बासमा पनि यसले असर पार्ने विशेषज्ञहरूले बताएका छन् । लिड्स विश्वविद्यालयका प्राध्यापक पियर्स फ्रोस्टर समुद्री सतहको तापमान वृद्धिले तत्काल केही जीव खतरामा पर्ने बताए । समुद्रमा फोहोर र माछाको दोहनका कारण पनि महासागरमा परिवर्तन आइरहेको विशेषज्ञहरूको भनाइ छ ।
वैज्ञानिकहरूका अनुसार औद्योगिक युग सुरु भएयता मानव सिर्जित ९० प्रतिशत ताप महासागरले सोसेको छ । तर, बाँकी ताप हरितगृह ग्यासको साथ जम्मा भएको छ । रिडिङ विश्वविद्यालयका जलवायु अनुसन्धान निर्देशक रोवन सटनले समुद्री तापमान वृद्धिमा केही अल्पकालीन कारण भए पनि दीर्घकालीन र मुख्य कारण मानवीय गतिविधि नै भएको बताए । ‘यसले वातावरणमा हरितगृह ग्यासको सञ्चय पनि बढेको छ,’ उनले भने ।
वैज्ञानिकहरूले समुद्री तापक्रम वृद्धिको समयलाई लिएर पनि चिन्ता व्यक्त गरेका छन् । ईयूको जलवायु परिवर्तन सेवा कोपरनिकसकी डा। सामन्था बर्गेसले मार्चमा तापक्रम वृद्धिको अवस्था आउनुपर्नेमा अहिले अगस्टमा त्यस्तो देखिएको बताइन् । ‘आगामी मार्चमा महासागर कति तातो होला भन्ने चिन्ता मलाई लागिरहेको छ,’ उनले भनिन् । वैज्ञानिकहरू महासागरको तापक्रम वृद्धिको कारणबारे अनुसन्धानरत छन् । तर,
उनीहरूको प्रारम्भिक भनाइअनुसार जलवायु परिवर्तन तथा हरितगृह ग्यास उत्सर्जनबाट निस्किएको ताप सोसेका कारण समुद्र झन् तातो बन्दै गएको छ ।
सन् २०१६ मा समुद्रको तापक्रम बढ्नुमा अल निनो पनि एउटा कारण थियो । मध्य प्रशान्त महासागरीय क्षेत्रको तातो पानी पूर्वतिर विस्तारित हुँदै उत्तर र दक्षिण अमेरिकातिर लाग्ने अवस्थालाई मौसम वैज्ञानिकहरूले अल निनो भन्दै आएका छन् । यो हरेक २ देखि ७ वर्षमा हुने प्राकृतिक घटनाक्रम हो । यस पटक भने अल निनो सुरु हुन बाँकी नै छ । त्यसैले आगामी केही महिनामा समुद्रको तापक्रम अझै बढ्न सक्ने अनुमान वैज्ञानिकहरूको छ ।
महासागर मात्र नभई गत महिना विश्वभरको तापक्रम पनि बढेको थियो । बढ्दो तापक्रमले दक्षिणी युरोप, एसिया र उत्तरी अमेरिकाका देशहरू प्रभावित भएका थिए । अत्यधिक गर्मी तथा लुका कारण करोडौं व्यक्ति मारमा परेका थिए भने केही देशका जंगलमा डढेलो लागेको थियो । युरोपियन स्पेस एजेन्सी (ईएसए) का अनुसार इटालीका सिसिली र सार्डिनिया जस्ता आइल्यान्डहरूको तापक्रम ४८ डिग्री सेल्सियससम्म पुगेको थियो । युरोपका धेरै देशका जंगलमा डढेलो लागेको थियो । युरोपमा मात्र नभई उत्तरी अमेरिकाका क्यानडा र अमेरिकाजस्ता देशमा पनि अत्यधिक गर्मीको मारमा करोडौं व्यक्ति परेका थिए । उत्तर अफ्रिकाका अल्जेरिया, मोरक्को जस्ता देशहरूमा पनि गर्मीले सर्वसाधारण प्रभावित भएका थिए ।










