आजकै दिन ः कुवेतमाथि इराकी आक्रमण

काठमाडौं — सन् १९९० मा आजकै दिन (अगस्ट २) मा इराकी सेनाले कुवेतमाथि आक्रमण गरेको थियो । इराकले केही घण्टामा नै कुवेतमाथि नियन्त्रण कायम गर्न सफल भएको थियो ।

कुवेतलाई नियन्त्रणमा लिएसँगै इराकी राष्ट्रपति सद्दाम हुसेनले कुवेतलाई इराकको १९ औं प्रदेश घोषणा गरेका थिए । कुवेती तेलमाथि नियन्त्रण कायम राख्ने र इराकी भूमि विस्तार गर्ने उद्देश्यले राष्ट्रपति हुसेनले आक्रमण सुरु गरेका थिए । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अगस्ट २ मै आक्रमणको निन्दा गर्दै कुवेतबाट तत्काल फिर्ता हुनुपर्ने बताएको थियो । त्यसका साथै, सुरक्षा परिषद्ले अगस्ट ६ देखि इरानसँगको विश्वव्यापी व्यापारमाथि प्रतिबन्ध लगाएको थियो ।

अमेरिकी फौजले साउदी अरबको प्रतिरक्षाका लागि अगस्ट ९ मा ‘अपरेसन डेजर्ट सिल्ड’ सुरु गरेको थियो । तर त्यसको प्रतिक्रियामा इराकले कुवेतमा सैनिक संख्या बढाएर तीन लाख पुर्‍याएको थियो । नोभेम्बर २९ मा राष्ट्रसंघीय सुरक्षा परिषद्ले एक महत्त्वपूर्ण प्रस्ताव पारित गरेको थियो ।

प्रस्तावमा १९९१ को जनवरी १५ सम्ममा कुवेतबाट इराक पूर्ण रूपमा नहटेको खण्डमा बल प्रयोग गर्न पाउने उल्लेख थियो । तर इराकी राष्ट्रपति हुसेनले सेना फिर्ता गर्न अस्वीकार गरेपछि मध्यपूर्वमा अमेरिकी नेतृत्वमा सात लाख सैनिक तैनाथ गरिएको थियो ।

फौजले जनवरी १६ मा सुरु गरेको ‘अपरेसन डेजर्ट सिल्ड’ अन्तर्गत इराकविरुद्ध भयानक आक्रमण गरिएको थियो । आक्रमणमा अमेरिकासहित बेलायत, फ्रान्स, इजिप्ट, साउदी अरब, कुवेतलगायत ३२ देशका सेना संलग्न थिए । १९९१ को फेब्रुअरीमा इराकमाथि थप आक्रमण गरेपछि कुवेत इराकबाट स्वतन्त्र भएको थियो । त्योसँगै अमेरिकी राष्ट्रपति जर्ज बुसले फेब्रुअरी २८ मा युद्धविराम घोषणा गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!